कसरी बित्दैछ पल शाहको तनहुँ कारागारमा दिनचर्या ?

नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका कलाकार पल (पूर्णविक्रम) शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । शाहलाई गत बिहीबार कारागार चलान गरिएको थियो । उनलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै प्रहरी हिरासतमा रहेका पललाई जिल्ला कारागार तनहुँमा राखिएको छ । पल जिल्ला कारागार तनहुँको बि ब्लकमा छन् । उनीसँगै बि ब्लकमा १४० जना कैदीबन्दी छन् । बि ब्लक ८० जना क्षमताको हो । तनहुँ कारागारमा १३ जना महिला कैदीबन्दी सहित कुल २५८ जना छन् ।

जेलमा पललाई दैनिक ६० रुपैयाँ नगद सिदा र सात सय ग्राम चामल रासन उपलब्ध गराईएको छ । जेलभित्र आफैँ एक्लै पकाएर खान वा सामूहिक मेसमा खान सकिन्छ। सामूहिक मेस भित्रै रहेका कैदीरबन्दीले चलाउँछन्। त्यसका लागि नाइके, भाइ नाइके तोकिएको हुन्छ। पलले मेसमै खाना खाइरहेको तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले टिभी अन्नपूर्णलाई बताए ।

पलले कारागारमा पुस्तक पढ्ने, आफन्तसँग भेटघाट गर्ने गरेर दिन बिताइरहेका छन् । जेल प्रशासनले शाहसँग परिवारका सदस्य र नातेदारलाई मात्र भेट्न दिइरहेको छ। उनी जेलमा पुगेपछि उनको परिवारका सदस्य मात्रै भेट्न आएका छन्। उनीहरूले जेलभित्र लैजान सकिने बन्दोबस्तीका सामाग्री दिएका थिए।अभिनेता शाहमाथि नाबालिका गायिकाले गत फागुन ११ गते तनहुँ प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्।

गायिकालाई सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेममको झुठो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै उजुरी परेको थियो ।अन्तिम पटक १४ वैशाख २०७८ मा शुक्लागण्डकी नगरपालिका ४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा राति १२ बजेतिर ती बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख छ । १५ फागुनमा तनहुँ प्रहरी समक्ष आएर पलले आत्मासर्मपण गरेका थिए ।

त्यस्तै गत बिहीबार न्यायाधीश ढुंगानाको इजलासले विभिन्न ६ आधारमा उनलाई प्रारम्भिक रुपमा निर्दोष भन्न नसकिने निष्कर्ष निकालेको थियो । पहिलो पल शाहविरुद्ध किटानी जाहेरी परेको, पीडितले प्रहरीसँग आफूमाथि बलात्कार गरेको भनी बयान गरेको, स्वास्थ्य परिक्षण प्रतिवेदन लगायतले बलात्कार भएको प्रारम्भिक रुपमा पुष्टि भएको अदालतको आदेश हो ।

साथसाथै आरोपित शाहलेसमेत आफू राति १२ बजे पीडितको कोठामा गएको स्वीकारेको, अनि घटनाबारे थाहा पाउने दुर्गेश थापा लगायतले पीडितले बलात्कारबारे आफूहरुसँग सरसल्लाह गरेर सहयोग मागेको भन्दै जिल्ला अदालतले आरोपितलाई थुनामा पठाउने आदेश गरेको हो ।

त्यस्तै तिनै किशोरीले गैँडाकोट प्रहरी कार्यालयमा पनि उनीबिरुद्ध जबर्जस्ती करणीको किटानी जाहेरीसहित मुद्दा दर्ता गरेकी थिइन्। अभिनेता शाहबिरुद्ध पूर्व नवलपरासी जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ ।

सम्बन्धित समाचार