काठमाडौं । टर्कीमा भएको शान्तिवार्तापछि रुसले उत्तरी युक्रेनको किएभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई ठूलो मात्रामा कटौती गर्ने बताएको छ।
रुसका उपरक्षामन्त्रीले आपसी विश्वास बढाउनका लागि त्यस्तो कदम चाल्न लागिएको बताएका छन्।यसलाई रुस र युक्रेनबीचको शान्तिवार्तामा २४ फेब्रुअरीदेखि आरम्भ भएको युक्रेनविरुद्धको रुसी अतिक्रमण यता देखिएको प्रगतिको पहिलो सङ्केतका रूपमा लिइएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताको प्रारम्भिक सङ्केत सकारात्मक देखिएको बताएका छन् तर त्यस्तो बैठकबाट प्राप्त हुने ठोस नतिजालाई मात्र किएभले विश्वास गर्नेमा जोड दिएका छन्।युक्रेनको सशस्त्र सैन्य बलका अनुसार ती दुई क्षेत्रबाट केही रुसी सैन्य एकाइहरू हटेका भएपनि मस्कोले पूर्णस्तरको सशस्त्र अतिक्रमण जारी नै राखेको छ।उनीहरूका अनुसार रुसी सेना पूर्वी युक्रेनको केही भागमा केन्द्रित हुनकालागि पुनः सङ्गठित हुँदै छन्।
राष्ट्रपति जेलेन्स्कीले भनेका छन् अवस्था सहज भएको छैन र युक्रेनको सेनाले उसको प्रतिरक्षात्मक कदमहरूलाई खुकुलो पार्ने छैन।टर्कीमा भइरहेको वार्तास्थल बाहिरबाट बीबीसीका टम बेटमन भन्छन् थुप्रै पश्चिमा पर्यवेक्षकहरूले रुसको प्रतिबद्धताप्रति शंका व्यक्त गरेका छन्।टर्कीमा रुस र युक्रेनबीच भैरहेको शान्तिवार्ताको यो चरणको आतिथेय टर्कीका राष्ट्रपति रिचेप तैयिप एर्डोआनले इस्तानबुलस्थित उनको कार्यालयमा गरेका थिए।
धेरै वार्ताबाट ठोस उपलब्धि हासिल हुनेमा आशावादी देखिएका थिएनन्।मङ्गलवार मात्रै युक्रेनको दक्षिणमा अवस्थित मिकोलाइभमा रहेको एउटा प्रशासनिक भवनमा भएको भीषण हमलामा कम्तीमा १२ जनाको ज्यान गएको थियो।तर कूटनीतिक दृष्टिले हेर्दा वार्तामा उल्लेखनीय प्रगति देखिएको आतिथेय टर्कहरूले दाबी गरेका छन्।