डन्डिफोर हटाउन यस्तो छ प्राकृतिक उपाय

उफ्! डन्डिफोरले हैरान पार्यो, धेरै युवा–युवती ओँठ लेप्य्राउँदै पीडा पोख्छन् । टिनेजरहरू यो समस्याले धेरै हैरान भएका हुन्छन् । त्यसो त ३५–४० वर्ष लाग्दासमेत कतिपय महिला अनुहारमा डन्डिफोर निस्किने समस्याले ग्रसित भएका देखिन्छन् । आखिर के हो डन्डिफोर ? के कारणले आउँछ डन्डीफोर ? जोगिने कसरी ? जानिराखौं छालामा हुने एक विशेष प्रकारको तैलीय ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ । यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ पैदा गर्छ र छालालाई प्राकृतिक रूपमै कोमल राख्न सहयोग गर्छ । युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनले छालामा हुने तैलीय ग्रन्थिलाई उत्तेजित पारिदिन्छ । जसलाई बढी प्रभाव पार्छ, उसैलाई बढी डन्डिफोरले सताउँछ ।

प्रभावस्वरूप सुरुमा हल्का दाग–धब्बाजस्तो देखिन थाल्छ । साथसाथै, धेरै चिल्लोका कारण रौँका छिद्र पनि चौडा हुन थाल्छन् । बिस्तारै दाग गाढा हुन थाल्छ । यसले रौँको छिद्र बन्द गरिदिएपछि छिद्रकै मुखमा गाढा दाग कडा आवरणमा देखिन्छ । यसलाई ह्वाइट हेड’ भनिन्छ । ह्वाइट हेड हावाको सम्पर्कमा गएर अक्सिजनसँग संसर्ग हुँदा कालो हुन थाल्छ । यसले आसपासको छालाको तन्तुमा विकार उत्पन्न गरेर पीडा पैदा गर्छ । यही भागमा बिस्तारै डन्डिफोर बन्छ ।

डन्डिफोर आउने कारण:

१.हर्मोनमा परिवर्तन तथा खराबी ।

२.अनियमित महिनावारी ।

३.खराब खानपान ।

४.तनाव र अनिद्रा ।

५.उत्तेजना, क्रोध र भय ।

६.शरीरको फोहोर पसिनाका माध्यमबाट छाला हुँदै बाहिरिनु ।

७.लामो समयसम्म कब्जियत ।

यसको उपाचार:

अनुहार हरदम सफा राख्ने,

किनेभने धुलो जमेर छालाको छिद्रमा डन्डिफोर निम्तिन नपाओस् । सादा पानीले दिनमा ५–६ पटक अनुहार पखाल्नु राम्रो हुन्छ । डन्डिफोर देख्नुहुन्न, निचोरिहाल्ने धेरैको बानी हुन्छ । यो एकदम गलत काम हो । डन्डिफोर नछुनु नै ठीक हुन्छ । निम, घ्युकुमारीजस्ता जडीबुटीको फेसप्याकले अनुहार धुँदा डन्डिफोर चाँडो निको हुन्छ र थप आउन पनि रोक्छ । राति सुत्नुअघि गुलाबजल र चन्दनको पेस्ट बनाएर अनुहारमा लगाउने र केही बेरमा चिसो पानीले पखाल्नाले डन्डिफोरमा राहत मिल्छ । जहाँ पनि पाउन सकिन्छ मह । यसले अनुहारमा भएका डन्डिफोरलाई हटाउन महत्वपूर्ण भुमिका खेल्दछ । तर धेरैलाई यति धेरै थाहा नहुन पनि सक्छ । तपाईको अनुहारमा जुन ठाउँमा डन्डिफोर छ, त्यो ठाउँमा मह दल्नुहोस् । झन्डै १० मिनेट जति राखेर सफा पानीले पखाल्नुहोस् । यसरी पनि डन्डिफोरबाट छुटकारा पाउन सकिन्छ । केरा खाने मात्र होइन, अरु हिसाबले पनि गुणकारी मानिन्छ । केरालाई अनुहारमा मुछेर दल्न सक्नुहुनेछ । यसबाहेक मह दहीसँग मुछेर पनि अनुहारमा दल्न सक्नुहुनेछ । लगाएको केही समयपछि सफा पानीले पखाल्नुपर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार