पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्ताव पारित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ । शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् ।

साथै इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने देशका पहिलो प्रधानमन्त्रीसमेत बनेका छन् । संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो ।

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्नेछ ।

यसअघि ६९ वर्षीय खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले मतदानको दिन खारेज गरिदिएका थिए । आफूविरुद्धको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्रीले तत्काल संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

सर्वोच्च अदालतले बिहीबार एक फैसलामा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको ठहर गरेको थियो । सर्वोच्चको आदेशपछि विपक्षीले आक्रोशित बनेका थिए । केहीले प्रधानमन्त्रीलाई देशद्रोहको आरोप लगाएका थिए ।

खानको पार्टी पीटीआईका सदस्यहरूले उनी अन्तर्राष्ट्रिय षड्यन्त्रको शिकार भएको दाबी गरेका छन् । यसअघि खानले अमेरिकाले आफूविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए ।

सम्बन्धित समाचार