भारतको बिहारमा ६० फिट लामो पुल चोरी भएको छ। समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै सरकारी अधिकारी भएको दाबी गर्ने केही व्यक्तिले सासाराम जिल्लाको पुल चोरी गरेको बताएको छ।
यो पुलको तौल ५०० टन छ र यो सन् १९७२ मा नहरमा निर्माण भएको हो। समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा सासारामका एसपी आशिष भारतीले भने, ‘त्यो पुल सिँचाइ विभागको थियो र प्रयोगमा थिएन। सिँचाइ विभागबाट पुल लिन आएको उनीहरुको भनाइ थियो। त्यही भएर गाउँले जानकारी दिएनन्।’
प्रहरीले एफआइआर दर्ता गरेर अनुसन्धान सुरु गरेको एसपी भारतीले बताए। यस विषयमा जिल्लाका भंगार व्यवसायीलाई सचेत गराइएको छ। बिहार विधानसभामा विपक्षी दलका नेता तेजस्वी यादवले यस विषयमा नितिश सरकारमाथि आक्रोश पोखेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘४५ वर्ष पुरानो ५०० टन फलामको पुल १७ वर्षको बीजेपी–नितीश सरकारले दिउँसो लुट्यो। चोरहरूले ग्यास कटर, जेसीबी र सयौं मजदुर लिएर आएर पुल भत्काएका थिए। चोर जनादेश पाइरेसीबाट बनेको एनडीए सरकारबाट प्रेरित छ।’