अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका नेपाली काँग्रेसको आधार केन्द्र हो । यो पालिकामा गत स्थानीय तहको निर्वाचनमा अपवाद बाहेक अधिकांश पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।
पालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसबाट क्रमशः लेखनाथ पोख्रेल र तुल्सादेवी श्रेष्ठ सहित दुई तिहाइ भन्दा बढी स्थानमा नेपाली काँग्रेस एक्लै विजयी भएको थियो ।
तर यो पटक परिस्थिति बदलिएको छ । नेपाली काँग्रेसले आफ्नो पेवा ठान्ने र नेकपा एमालेले आफूले सुधार गरेको दाबी गर्ने छत्रदेवमा एक युवा चर्चामा छन्। गाउँमै कृषि व्यवसायबाट बर्षको आधा करोडको हाराहारीमा कारोबार गर्ने नमुना उद्यमी युवा पशुपति पाण्डेको उम्मेदवारीले छत्रदेव तरङ्गित भएको छ ।
प्रत्येक घरमा दैनिक कम्तीमा ५ सय देखी १ हजार सम्म आम्दानीको सुनिश्चित गर्नेदेखि नि:शुल्क अनि गुणस्तरीय शिक्षा स्वास्थ्यको नारा सहित उम्मेदवारी घोषणा गरेका पाण्डेको उम्मेदवारीले प्रमुख राजनीतिक दललाई चुनौती दिएको छ ।
एक जना मतदाताले नाम प्रकाशन नगर्ने सर्तमा भने ” आफ्नो पार्टी त्याग्न सक्दिन तर एक जना भाइले उम्मेदवारी घोषणा गर्नुभएको छ रे यो पटकको चुनावमा उहाँलाई हेर्ने परिवारमा सल्लाह भएको छ ।”
विवेकशील साझा पार्टी अर्घाखाँचीका संयोजक समेत रहेका पाण्डेका आक्रामक नाराहरूका कारण उनले यस पटक काँग्रेस र एमालेलाई चुनौती दिने भएका छन् ।
यता जीवनमा पहिलो पटक चुनावी मैदानमा उत्रिएका पाण्डे आफू निर्वाचित हुनेमा ढुक्क छन् । “हो मसित जनआधार छैन, टोल टोलमा सङ्गठन छैन” पाण्डेले भने “तर यो पटक छत्रदेव बासीको विवेक नै मेरो जितको आधार हो । गाउँ गाउँमा मेरो पक्षमा नारा जुलुस नहोलान् तर घरघरबाट साथ पाउनेमा ढुक्क छु ।”
“प्रत्येक घरमा नियमित आम्दानी कम्तीमा दैनिक ५००–१०००, मासिक १५ – २५००० कसरी पुर्याउन सकिन्छ भन्ने कुरा म स्वयं गाउँमै कृषि उद्यमी भएकोले राम्रो सङ्ग थाहा छ । म आफै कुनैपनी राज्यसत्तामा छैन र पनि गाउँको उत्पादन बुटवल, पोखरा र काठमाडौ पुर्याइरहेको छु भने अब यही दसै देखि विदेशमा पनि निर्यात गर्ने योजनामा छु । तसर्थ म ४८०० घरमै नियमित आम्दानीको सुनिश्चित गर्नेछु” पाण्डेले भने ।
प्रत्येक विद्यालयमा टाढाका विद्यार्थीलाई यातायात सुविधा सहित गुणस्तरीय शिक्षाको सुनिश्चितता आफ्नो प्रमुख प्राथमिकता रहने पाण्डेले बताए । “गुणस्तरमा अत्यन्तै कमजोर भएको विद्यालयमा पर्याप्त स्रोतसाधन नहुँदा पनि आफै प्राइभेट शिक्षकलाई तलब दिएर, आफू स्वयं विद्यार्थीलाई पढाएर गुणस्तर ल्याउन सफल भएकोले म ढुक्क छु सबै विद्यालयलाई प्राइभेट भन्दा राम्रो गुणस्तरीय शिक्षा दिएर टाढाका विद्यार्थीलाई यातायात सुविधाको समेत सुनिश्चितता दिनेछु” पाण्डेले भने ।