भयावह बन्दै कोरोना संक्रमण, सोमबार अहिलेसम्मकै बढी मृत्यु र संक्रमण पुष्टि

सक्रिय संक्रमितको संख्या ५४ हजार नाघ्यो

नेपालमा सोमबार अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् भने कोरोनाका कारण अहिलेसम्मकै बढी मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने थप ३७ जनाको मृत्यु भएको छ, जुन हालसम्म कै उच्च हो ।

१६ हजार ६५८ पीसीआर विधिबाट परिक्षण गर्दा ७ हजार ३८८ जना र ५१८ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३७ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ३ हजार ३६२ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै थप २ हजार २१ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ८६ हजार १५ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ५४ हजार ४१ सक्रिय संक्रमित रहेका छन् भने २१२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २५ लाख २१ हजार १६४ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार