श्रीलंकाम भएको हिंसात्मक झडपको क्रममा एक सांसदको मृत्यु भएको छ । सोमबार भएको हिंसात्मक झडपमा परि सत्तारुढ दलका सांसद पी अमरकीर्थी अथुकोरालाको मृत्यु भएको हो । मृतक सांसदलाई हिंसात्मक झडप भएको स्थानमा गोली लागेको थियो । घटनास्थलबाट भागेका उनले नजिकैको भवनमा शरण लिएका थिए । सोही स्थानमा उनी मृत भेटिएका हुन् ।
यस्तै झडपमा १३० भन्दा धेरै घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । साथै प्रदर्शनकारीहरुले एक सांसद र एक पूर्वमन्त्रीको घरमा सोमबार साँझ भीषण आगजनी गरेका थिए । पूर्वमन्त्री जोनस्टन फर्नान्डोको माउन्ट ल्याभिनियामा रहेको घर र सांसद सनथ निशान्तको घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।
सरकारले कर्फ्यू लगाइरहँदा पनि हजारौं मानिस सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । यस प्रदर्शनलाई श्रीलंकामा अहिलेसम्म भएका सरकार विरोधी प्रदर्शनमध्येकै सबैभन्दा ठूलो भएको बताइएको छ । यसैबीच सोमबार दिउँसो महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । यद्यपि प्रदर्शन रोकिएको छैन ।
श्रीलङ्का हाल विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटबाट गुज्रिरहेको छ जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ।
सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ ।