पोल्याण्डका लागि रुसी राजदूत सर्गेई एन्ड्रिभलाई विजय दिवसको वार्षिकोत्सवमा रातो पेन्टमार्फत् प्रदर्शनकारीहरूले आक्रमण गरेका छन् ।एन्ड्रीभ वारसामा सोभियत सैनिकहरूको सैन्य स्मारकमा फूल चढाउन गएका थिए, त्यतिबेला प्रदर्शनकारीहरूले उनीमाथि रातो पेन्टमार्फत् हमला गरे । रुसको आधिकारिक समाचार एजेन्सी टासले यसबारे जानकारी दिएको हो ।
उनीमाथि भएको यो आक्रमणको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।भिडियोमा उनलाई प्रदर्शनकारीको भीडले घेरेको र एक प्रदर्शनकारीले उनलाई नजिकैबाट रातो पेन्ट फालेको देखिन्छ । तर एन्ड्रीव उत्तेजित नभई त्यत्तिकै उभिरहन्छन् । त्यसपछि आफ्नो अनुहार सफा गर्छन् तर प्रदर्शनकारीमाथि कुनै प्रतिक्रिया दिँदैनन् ।
समाचार एजेन्सी टासले भन्यो, ‘रुसी संघका राजदूत, उनकी पत्नी र उनीहरूसँगै आएका कूटनीतिज्ञहरूको समूहलाई रातो रंगमा आक्रमण गरिएको थियो र उनीहरूलाई सैन्य स्मारकमा प्रवेश गर्न पनि दिइएन ।’
‘कारबाट बाहिर निस्कने बित्तिकै एन्ड्रीभलाई आक्रामक प्रदर्शनकारीहरूले घेरेका थिए । यी प्रदर्शनकारीहरूले सैन्य स्मारकमा युक्रेनी झण्डासहित रुस विरोधी नारा लगाएका थिए ।’
त्यसपछि प्रहरीले कूटनीतिज्ञलाई आफ्नो कारसम्म सकुशल पुग्न मद्दत गराएका थिए ।