काठमाडौं । उत्तर कोरियामा कोरोना संक्रमणदर फेरि बढेको छ । त्यहाँ देशव्यापी लकडाउन गरिएको छ ।विश्वमा कोरोना भाईरस संक्रमण भएको साढे २ वर्षपछि उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमण फैलिएको हो ।
उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी केसीएनएले राजधानी प्योङ्याङमा संक्रमण फैलिएको समाचार दिंदै देशव्यापी लकडाउन गरिएको जनाएको हो । अहिलेसम्म पनि कोरोनाको खोप नलगाएको उत्तर कोरियामा यसै महिना फैलिएको संक्रमणले त्यहाँ मानवीय संकट ल्याउने खतरा औंल्याइएको छ ।
तीब्र रुपमा फैलिने ओमिक्रोन भेरियन्टकै संक्रमण भएको बताए पनि समाचार एजेन्सीले कति संख्यामा संक्रमित छन् र उनीहरुको अवस्था कस्तो छ भन्ने खुलाएको छैन । विगत २ वर्ष ३ महिनासम्म सुरक्षित रहेको देश ठूलो आकस्मिक अवस्थामा पुगेको भन्दै संक्रमण नियन्त्रणका लागि प्योङ्याङमा सक्दो प्रयास गरिएको जनाइएको छ ।