‘कबड्डी ४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन गरिएको छ । उनले निर्दोष व्यक्तिलाई फसाउन खोजेको भन्दै प्रदर्शन गरिएको छ । चाबाहिल चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरूले फिल्मको पोष्टरसमेत जलाए ।
प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेका छन् । उनीहरूले अन्यथा ‘कबड्डी ४’ बहिष्कार गर्ने चेतावनीसमेत दिएका थिए ।
दर्शक फुर्वा तामाङलाई थप्पड हानी अभद्र व्यवाहार गरेको भनी प्रहरीलाई बुझाइएको थियो। तामाङले माफी मागेर भूलबस छुन पुगेको पनि भनेका थिए। उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ ।
यस्तै प्रदर्शन चर्किएपछि चावहिलस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म ‘कबड्डी ४’को प्रदर्शन रोकेको छ । एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो । हल प्रशासनका अनुसार स्थिति सामान्य बनेपछि मात्रै फिल्म प्रदर्शन हुनेछ ।