शुक्रबारको नमाजपछि भारतका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका मुसलमानले नारा लगाउनुका साथै ढुंगामुढा गरेका छन्। प्रदर्शन उग्र भएपछि प्रहरीले कैयौँ ठाउँमा राउण्ड हवाई फायर गरेको छ।
प्रदर्शनकारीमाथि लाठीचार्ज समेत भएको थियो। ढुंगामुढा र लाठीचार्जमा प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। प्रशासनले कैयौँ ठाउँमा ५ वा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ।
स्थिति नियन्त्रणमा लिन र्यापिड एक्सन फोर्स र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। मुस्लिम धर्मावलम्बीले नुपुर शर्मा र नवीन जिन्दललाई पक्राउ गर्न माग गरेका छन्।
राँचीमा स्थिति तनावपूर्ण भएपछि मुख्य सडकका करिब तीन किलोमिटरको क्षेत्रका सबै पसल बन्द गरिएको छ। यहाँ ढुंगा प्रहारबाट एसपी, डीएसपी लगायत कैयौँ सुरक्षाकर्मी घाइते भएका छन्। बिहानैदेखि शहरको दैनिक बजार पूर्ण बन्द थिए। नमाजपछि हजारौं मानिस एक्कासी नाराबाजी गर्दै मुख्य सडकमा उत्रिएका थिए।
सडक छेउमा पार्किङ गरेका धेरै मोटरसाइकल र सवारीसाधनमा तोडफोड भएको छ। त्यसपछि प्रहरीले लाठीचार्ज गरेको थियो। यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि कैयौं राउण्ड फायरिङ गरिएको छ।
यसैगरी विहारको आरामा मुस्लिमले प्रदर्शन गरेका छन्। शुक्रबारको नमाजपछि मानिसहरूले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन्। यो अवधिमा पसलहरू पनि बन्द थिए। नवादा‚ सिवान‚ बक्सरमा प्रदर्शन र नारा लगाउँदै प्रदर्शन भएका छन्। प्रहरी–प्रशासनलाई थाहा भएलगत्तै प्रशासनले त्यहाँ प्रहरी परिचालन गरेको छ। यसबाहेक अन्य प्रहरी चौकीका प्रहरी पनि त्यहाँ पठाइएको छ।
यसैगरी उत्तरप्रदेशको प्रयागराजमा पनि नमाजपछि ढुंगामुढा प्रहार गर्न शुरु भएको थियो। प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भएपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। यहाँको स्थिति तनावपूर्ण रहेको छ। सहारनपुर‚ मुरादाबाद र कानपुरमा पनि नारावाजी भएको थियो।
यसैगरी श्रीनगरमा पनि स्थिति अराजक बन्दै गएपछि सरकारले अफवाह नफैलियोस् भनेर मोबाइलमा इन्टरनेट सेवा बन्द गरेको छ।