र्यापर जी बब (सुदीप भण्डारी)ले आफू स्वतन्त्र हुन चाहेको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू ठूलो भएको र अब बाबुआमाको दबाबमा बस्न नसक्ने बताएका हुन् ।
जी बब र उनका आमाबुवाले एक–अर्काविरुद्ध उजुरी दिए छन् । विवादको केन्द्रमा र्याप गायन आयोजक कम्पनी अल नेपाल थग फेमिली (एएनटीएफ) रहेको छ । एएनटीएफले आफ्नो छोरालाई बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा शुक्रबार जी बबका आमाबुबाले उजुरी दिएका छन् ।
यता बुवा–आमाको उजुरीपछि आफ्नो मानहानि भएको र पूर्ण रूपमा स्वतन्त्रता चाहिएको भन्दै जी बबले पनि उजुरी दिएका छन् । उनका आमाबुवाले शुक्रबार पत्रकार सम्मेलन गर्दै एएनटीएफले आफ्नो छोरालाई बन्धक पारेको, डर त्रासमा राखेको आरोप लगाएका छन् । उता आमाबुवाको आरोप खण्डन गर्दै एक टेलिभिजन अन्तरवार्तामा एएनटीएफले आफूलाई बन्धक नबनाएको र आफ्नो राजीखुसीमा त्यहाँ बसिरहेको स्पष्टीकरण जी बबले दिए ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जी बबले भने उनले भने, ‘मैले धेरै सहेँ । पढाइमा दोस्रो हुँदा पनि पहिलो किन भइनस् भनेर मलाई टोक्ने गर्नुहुन्थ्यो ।’
‘यो सबै खेल पैसा हो । म चर्चित नहुँदा पनि हामीबीच खासै बोलचाल हुँदैनथ्यो । ममी उठ्नुहुन्थ्यो ११ बजेतिर अफिस जानुहुन्थ्यो । हाम्रो छुट्टा छुट्टै किचन हो । म मुनीपट्टीको कोठामा बस्ने, आमा माथिपट्टीको कोठामा बस्ने । बेलुका ६–७ बजेतिर आमाको मुख देखिन्थ्यो । कहिल्यै पनि राम्रोसँग बोल्नुहुँदैनथ्यो,’ आमासँगको सम्बन्धबारे जानकारी दिँदै उनले भने ।
‘पहिलो चर्चित नहुनुभन्दा अघि म गोटी सोटी खाएर हिँड्थेँ केही भन्नु हुँदैनथ्यो । जुनबेलादेखि चर्चित भएँ, अब आमालाई पैसा चाहियो । रिह्याबमा गएर मलाई ‘तैँले जे जति कमाउँछस्, त्यो सबै आमाको अकाउन्टमा हालिदिन्छस्’ भनेर साइन गर्न लगायो,’ उनले भने ।
यता एएनटीएफका संस्थापक निम्साङले पनि पूरा विवाद पैसा नै भएको ठोकुवा गरेका छन् । आफूहरूले जी–बबको लाइफ बनाउन प्रयास गरिरहेको उनले जिकिर गरे ।