कमिशनका लागि विमानस्थलमा विदेशी ल्याउने अधिकारीको योजना तुहियो

सरसफाईको जिम्मा विदेशीलाई दिने योजना विफल पार्ने सर्वोच्चको आदेश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाइ व्यवस्थापनको ठेक्कासम्बन्धी प्रस्तावको प्रक्रिया तत्कालका लागि रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । विमानस्थलको सफाइ तथा फोहोर व्यवस्थापनको ठेक्काका लागि विमानस्थल कार्यालयले १३ वैशाखमा खोलेको प्रस्तावविरुद्ध अदालतले अन्तरिम आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले २६ जेठमा आह्वान गरेको बोलपत्रको प्रस्ताव नखोल्न र यथास्थितिमा राख्न आदेश दिएको छ । अनमोल फ्यासिलिटी क्लिनर्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विपक्षी बनाएर दिएको मुद्दामा अदालतले १५ दिनभित्रै लिखित जवाफ पेश गर्न भनेको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सिभिल इन्जीनियरीङ महाशाखाका प्रमुख हरि अधिकारीबीचको मिलेमोतोेमा नेपाली निर्माण व्यवसायीलाई रोक्ने गरी उक्त ठेक्का प्रस्ताव गरिएको थियो । उक्त ठेक्काको प्रस्ताव माग्दा न्यूनतम १० वर्षको कार्यकुशलताको अनुभव हुनुपर्ने, विगत ३ वर्षदेखि न्यूनतम १२ करोड रूपैयाँको कारोबार गरेको हुनुपर्ने, विगत ५ वर्षमा कम्तीमा एक वर्ष अन्तर्राष्ट्रिय विमानस्थलमा सफाइको काम गरेको र कम्तीमा १९ करोडको काम गरेको हुनुपर्नेसहितको शर्त राखेको थियो । उक्त शर्त प्राधिकरणभित्रका धमिराको रुपमा चिनिने अधिकारीद्धयको कमिशन असुल्ने र सेटिङमा जिम्मा लगाउने प्रपञ्च थियो । जसका कारण योग्य नेपाली कम्पनी प्रतिष्पर्धाबाट बाहिरिने र विदेशीले नेपालको विमानस्थल सरसफाईको नाममा मोटो रकम लैजाने योजना भएको जानकारहरु बताउँछन ।

झण्डै २७ करोडको ठेक्कामा विदेशीलाई ल्याउने योजनाअनुसार यस्तो काम भएको उनिहरुको बुझाई छ । सार्वजनिक खरिद ऐनअनुसार ३ अरब रुपैयाँसम्म लागत अनुमान गरिएको आयोजना निमार्णको जिम्मा स्वदेशी कम्पनीलाई दिनुपर्ने कानुनी प्रवाधान छ । तर प्राधिकरणकै इतिहासमा सबैभन्दा बढि विवादित मानिएका प्रदिप अधिकारीको कमिशन असुल्ने धन्दा सफल पार्न सरसफाईमा समेत नेपाली व्यवसायीले पुरा गर्न नसक्ने सर्त राखी उक्त ठेक्कासम्बन्धी प्रस्ताव ल्याए थिए ।

कमिशन असुलीमा कुरा नमिल्दा कार्यलमै कुटाकुट समेत गरेका महानिर्देशक अधिकारी र महाशाखाका प्रमुख अर्का अधिकारीको मिलेमोतोमा सरसफाईमा समेत कमिशन असुल्ने सवालमा भने करोडौं नेपाली रुपैयाँ बाहिर पठाउने सहमति बनेको विषय प्राधिकरणभित्र निक्कै चर्चाको विषय समेत बनेको थियो ।

चौतर्फी आलोचनाको विषय बनेको ठेक्का प्रक्रियालाई अदालतले तत्काल अघि नबढाउन आदेश दिएपछि भने अधिकारीको कमिशनमोहले नेपाली व्यसायीलाई निषेध गरेर करोडौ विदेशिने खतरा टरेको व्यवसायीहरु बताउँछन ।

अहिले विमान स्थलमा हुने सबै प्रकारका सेटिङ र कमिसन मिलाउने धन्दाको जिम्मा हरिले पाएका छन् । महानिर्देशक अधिकारीका योजनाहरु जस्ताको तस्तै पास गर्ने र प्राप्त कमिसनको हिसाबकिताब राख्ने हरि अधिकारीको मुख्य जिम्मवारी हो । त्यसबापत महानिर्देशक अधिकारीले हरिको चित्त बुझाउने गरेका छन् । अहिले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा महानिर्देशक अधिकारीको एकलौटी राज छ । उनीविरुद्ध बोल्ने र कमिशन उठाएर महानिर्देशकलाई नबुझाउने कर्मचारीहरुलाई महानिर्देशक अधिकारीले ठेगान लगाउने धम्की दिएर तर्साउने गरेको प्राधिकरणका एक कर्मचारीले बताए ।

सम्बन्धित समाचार