पछिल्लो केही सातादेखि निरन्तर ओरालो लागेको सेयर बजारले यो साताको पहिलो कारोबार दिन पनि निरन्तरता पाएको छ।
बजार आज १५.८२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०३२.३४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.३ अंकले घटेर ३८९.९५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ९९ करोड रुपैयाँ बढीको भएको छ।
सोमबार कारोबारमा आएका २३० कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य घटेको छ।
आज नेप्स दोहोरो अंकले घटेर बन्द भएको छ।
कारोबारमा आएका १३ उपसमुहमध्ये सबैजसो उपसमुहको घटेका छन्। नेप्सेका अनुसार फाइनान्स, होटल एण्ड टुरिजम, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन तथा निर्जीव बीमा १ प्रतिशत भन्दा धेरैले घटेका छन्।
यस्तै वाणिज्य बैंक, विकास बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स, म्यूचुअल फन्ड, अन्य र बजार उपसमुह ०।२२ प्रतिशत भन्दा बढिले घटेका छन्।
यसरी सेयर बजार घट्नुको कारण तरलता अभाव र सरकारको व्यवास्था रहेको जानकारहरु बताउँछन्। बजार घटेको समयमा पनि तरलता अभावका कारण बैंकबाट पैसा नपाउनाले खरिदकर्ता बजारमा आउन नसकेको उनीहरुको तर्क छ।
जेठ ७ गते बुधबार दुई हजार विन्दुको परिक्षण गरेलगत्तै बाउन्सब्याक लिएको नेप्से एकैदिन ६० अंकको वृद्धि भएर बन्द भयो। बिहीबार कारोबार समयमा नै परीसूचक २१०० बिन्दुमा पुगिसकेको थियो। तर बिहीबार २१ सयलाई पार गरेलगत्तै बिक्रेताको सक्रिय प्रदर्शनी बजारमा देखिएको थियो। २१ सय कट्ने बित्तीकै सामान्य नाफा बुक गरेर लगानीकर्ता बाहिरिएका थिए।
बुधबारयता कारोबारी तीन दिन मात्र नेप्से ४८ अंकले घटिसकेको छ। आज कारोबारमा आएका २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ९९ करोड ८६ लाख ७४ हजार बढीको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये बलेफि हाइड्रोपावर लिमिटेड र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यि कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत नाफा कमाएका छन्।
यस्तै मानुषी लघुवित्त, एनएमबी ५०, ओरियन्टल होटल र बुद्ध भुमी नेपालका लघुवित्तका लगानीकर्ताले ५ प्रतिशत भन्दा धेरै गुमाउका छन्।
यस्तै आज सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ९ करोड बढीको कारोबार भएको हो।