रुस र युक्रेनबीच युद्ध सुरु भएको ४ महिना पूरा

काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएको आज (शुक्रबार) चार महिना पूरा भएको छ ।गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि पहिलो सैनिक हमला गरेको थियो । यसबीचमा दुवैतर्फ गरी हजारौं सैनिक मारिएका छन् भने घाइतेहरुको संख्या त्यो भन्दा कैयौ गुणा बढी छ । युक्रेनको राजधानी किभसहि लगभग सबै शहरहरु खण्डहरमा परिणत भएका छन् ।

८० लाख युक्रेनीले देश छाडेका छन् भने विस्थापित हुने युक्रेनीहरुको संख्या एक करोड ३० लाख माथि छ। युद्धबाट भएको आर्थिक क्षतिको त हिसाब नै छैन् ।

अहिलेसम्म युक्रेनले ६ सय अर्ब डलर बराबरको क्षति ब्यहोर्नु परेको आँकलन गरिएको छ । युद्धको आर्थिक असर युरोप, अमेरिका हुँदै विश्वभर परेको छ । विश्वका १ अर्ब ६० करोड मानिसमा युद्धको प्रत्यक्ष अप्रत्यक्ष मारमा परेको एक अध्ययनले देखाएको छ । रुसी आक्रमण पछिल्ला दिनमा दक्षिण पूर्वी युक्रेनमा केन्द्रित छ ।

जहाँबाट रुस तत्कालपछि नहट्ने रणनीतिमा छ । चार महिना पूरा भइसक्दा पनि यो युद्धको अन्त्य कसरी र कहिले हुन्छ भन्ने कुनै संकेत देखिएको छैन् । बरु रुसको अर्को देश लिथुआनियासँग तनाव बढेको छ । रुसले कुनै पनि लिथुआनियामाथि आक्रमण गर्न सक्ने आशंकामा पश्चिमा देशहरु छन् ।

सम्बन्धित समाचार