काठमाडौं– एसिड पीडित मुस्कान खातुनको कथामा आधारित चलचित्र मुस्कानमा वन तथा वातावरणमन्त्री प्रदीप यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अभिनय गर्ने भएका छन्।
मन्त्री यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुअघि नै फिल्ममा खेल्ने कुरा पक्का भइसकेको निर्माण टोलीले जनाएको छ।
रमित ढुंगानाले निर्देशन गर्ने डेब्यु फिल्ममा मन्त्री यादव नायकको भूमिकामा देखिन लागेका हुन् भने मुख्यमन्त्री राउतको केमियो रोल रहनेछ। फिल्म छायांकनका लागि यसै हप्ता अमेरिकाबाट नेपाल आएका ढुंगानाले मन्त्री यादवसँग छायांकन तालिबारे छलफल गरेका छन्। मन्त्री यादवले छायांकनको लागि तीन दिनको समय छुट्टाएको बुझिएको छ।
ढुंगानाले मुस्कानको अप्ठ्यारो समयमा सहयोग गर्नेहरू सबैलाई समेटेर फिल्म बनाउन लागेका हुन्। जसको मुख्य भूमिकामा मुस्कान खातुन नै देखिने छिन्।