भारतबाट फर्किएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा मंगलबार ५० जनामा संक्रमण पुष्टि हुँदा २४ जना भारतबाट फर्किएका भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । २४ घण्टामा प्रदेशभर एन्टीजेन र पिसिआर गरि ६८९ जनाको परीक्षण गरिएको हो । मंगलबार गड्डाचौकी नाकाबाट फर्किएका १९, गौरीफन्टाबाट ३ र झुलाघाट नाकाबाट फर्किएका २ जनामा संक्रमण देखिएको हो । यस्तै, कैलालीमा ११ र कञ्चनपुरमा थप १५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस प्रदेशका भारतसग सीमा जोडिएका नाकाहरुमै कोरोना परीक्षण कार्य जारी रहेको हो । सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैको एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । सुदूरपश्चिममा हालसम्म ५ लाख ६० हजार ३०३ जनाको कोरोना परीक्षण गरिएकोमा ६० हजार १७ जनामा संक्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म ६३३ जनाको ज्यान गइसकेको छ ।