काठमाडौं : चन्द्रागिरि–१ दहचोक बस्ने बिना शर्मा ढकाललाई हरेक बिहान घरबाट निस्केपछि तनाव सुरु हुन्छ। कहिल्यै भनेको बेलामा सवारी साधन उपलब्ध हुँदैन। उपलब्ध भए पनि समयमा जाँदैन।
बानेश्वरमा रोजगारी गर्न आउने उनीसँग अरु विकल्प पनि छैन। स्थानीय सार्वजनिक यातायातले दिएको दुःख र हैरानीको सयौँ उदाहरण छ उनीसँग। पछाडि अर्को नआइ नगुड्ने बसका कारण धेरै पटक कार्यालय पुग्दा लज्जित हुनुपरेको छ।
बिहान र बेलुकाको समयमा अत्यधिक भीड हुने भएकाले सवारी साधन चढ्न नै युद्ध जिते जस्तो हुन्छ उनलाई। सिट पाउनु त परेको कुरा। उभिन पनि सहज छैन। भएका सिट पनि घुँडा ठोकिने खालका छन्। यात्रुको पीडा बुझिदिने कसलेरु।
विशेषगरी काठमाडौ्र उपत्यकामा चक्रपथभन्दा बाहिर गुड्ने सवारी साधनले दिएको पीडा नभोग्ने सायदै मानिस होलान् तर, यातायात व्यवसायी सेवाका लागि सवारी साधन चलाएका हुन् कि पैसा कमाउन मात्रै भन्ने द्विविधामा छन्।
१५/१५ दिनमा बदलिने भाडाका कारण यात्रु र सहचालकबीचको झगडा हुने गरेको छ। नियमानुसार हरेक सवारी साधनमा यात्रुले देख्ने गरी भाडा सूची टाँस्नुपर्छ तर, काठमाडौं उपत्यकाका ग्रामीण क्षेत्रमा चल्ने अधिकांश सवारी साधनले त्यस्तो सूची नै राखेका हुँदैनन्।
भेडा बाख्रा कोचेजस्तै गरेर यात्रु ओसार्ने त्यस्ता सवारी साधनलाई कानुन कार्यान्वयन गराउन बसेको ट्राफिक प्रहरीले पनि देखेको नदेख्दै गर्ने गरेको मच्छेगाँउबाट हरेक दिन रत्नपार्क रुटमा यात्रा गर्ने यात्रु रामु श्रेष्ठको अनुभव छ। बढी भाडा उठाइरहेको थाहा हुँदाहुँदै पनि सहन बाध्य भएको उनकोभनाइ छ।
साँझ परेपछि सवारी साधन नपाउनु अर्को समस्या हो, राजधानीको। ट्याक्सीको मनपरि पनि उस्तै छ। कमाउने मौका यही हो भने जसरी मनलागी भाडा लिने गरेको भुक्तभोगी यात्रुको भनाइ छ। पछिल्ला दिनमा प्रविधिमा आधारित टुटल, पठाओ, इन ड्राइभजस्ता सेवाका कारण ट्याक्सी चालकको ज्यादती केही कम भए पनि कानुन कार्यान्वयन गर्ने निकायले ध्यान दिन नसक्दा सार्वजनिक यातायातमा मौलाएको विकृति अन्त्य हुन सकेको छैन।
सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार हटाएको बताएपनि त्यसको व्यवहारिक कार्यान्वयन हुन नसकेको यात्रुको भनाइ छ। के सहर, के ग्रामीण क्षेत्र। सबै स्थानमा चल्ने सार्वजनिक सवारी साधन र त्यसका सञ्चालकले दिएको भुक्तमान नभोग्ने सायदै कोही पनि छैन होला। समस्या घट्नुको साटो बरु बढीरहेको छ।
संसारभरका धेरैजसो सरकारले आफ्ना नागरिकलाई उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्यका साथ सार्वजनिक यातायातमा ठूलो लगानी गरेका छन्। विशेषगरी युरोपेली देशको सार्वजनिक यातायातलाई विश्वकै उत्कृष्ट प्रणालीका रूपमा लिइन्छ।
जानकारका अनुसार सार्वजनिक यातायातमा नाफा खोजिँदैन। यो एक प्रकारको सेवा क्षेत्र हो तर, नेपाल जस्ता केही देशमा भने यसलाई नाफा कमाउने व्यवसायका रुपमा चित्रण गरिएको छ। घण्टौँ सवारी साधन रोकेर राख्ने, सिटभन्दा बढी यात्रु चढाउने तथा भाडासमेत मनलाग्दी लिने प्रवृत्ति मौलाएको छ।