लघुकथा: अन्तिम तल्ला

लघुकथा : अन्तिम तल्ला

– गिरिराज डल्लाकोटी

 

“बाबुलाई एउटा बिन्ती बिसाऊँ भनेर आको ।” म खाना खाएर अफिसको लागि निस्किदैगर्दा घरबेटी बाले रनेकिहाल्नुभयो । “नमस्कार बुबा, भन्नुस् न । म छोरोजस्तो मान्छे, त्यसमाथि पनि हजुरकै आश्रयमा बसेको मान्छेलाई हजुरले बिन्ती बिसाउने हैन नि, आदेश पो दिने हो त ।” फिस्स हाँसे बुढा ।

“कुरा के भने नि बाबु ‘।। धेरै दिनदेखि भन्न खोजेको तर भनुँ कि नभनुँ भनेर ‘। भन्न पनि असजिलो लागिरहेको छ के । बाबुले यो फ्ल्याट खाली गरिदिनुहुन्छ कि भनेर ‘‘ ।” एक्कासी फ्ल्याट खाली गर्ने कुरा सुनेर म झसङ्ग भएँ । डेरा सर्दासर्दा हैरान भएर अब त ढुक्क बस्न पाइन्छ होला भनेको यहाँ पनि बुढाले बस्न दिएनन् ।

“घरबाटै जाऊ भन्न खोजेको हैन के । बाबु यहाँबाट हामी बसेको माथिल्लो तल्लामा सर्नुभयो भयो भने हामी बुढाबुढी यो तल्लामा बस्न हुन्थ्यो भनेर नि बाबु । ” मेरो कालोनिलो भएको अनुहार बुढाले पढेछन् क्या रे उनी छिट्टै मूल कुरामा आए । म पनि ढुक्क भएँ । परार भर्खर यो घर बनेको बेलामा फ्ल्याट माग्न आउँदा मैले तेश्रो फ्ल्याट नै मागेको थिएँ तर त्यो बेला बुढाले बल्लबल्ल बनाको घरमा माथि अरुलाई राखेर आफू छिँडीमा को बस्छ भनेर मलाई यो तल्ला दिएका थिए ।

“किनभने नि बाबु, तुलसी पनि यहीँ छ, नजिकै । भरेङ उक्लिन ओर्लिन पनि नपर्ने । अब मर्ने बेला पनि आइसक्यो । माथिल्लै तल्लामा मरेँ भने कसले थाहा पाउँछ ? छोराछोरी सबै विदेशमा छन् । मरेपछि तल झारेर तुलसीको मठमा राख्ने मान्छे पनि हुदैनन् । यहीँ नजिकै बसेँ भने त बाटामा हिड्ने कोही दयालुले तुलसीको मठसम्म सारिदेलान् नि ।”

सम्बन्धित समाचार