बैतडी । बैतडीमा १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको फाइजर फाइजर खोप दिन शुरु गरिएको छ ।
सरकारले देशका विभिन्न जिल्लामा बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गर्ने निर्देशन दिएसँगै बैतडीमा पनि अभियान शुरु गरिएको हो । ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
आजदेखि शुरु भएको उक्त खोप अभियान भदौ ९ गते सम्पन्न हुनेछ । यहाँका ७ स्थानीय तहमा भदौ ८ सम्म र बाँकी ३ पालिकामा ९ गतेसम्म अभियान सञ्चालन हुने भएको छ । जिल्लाको मेलौली नगरपालिका, सूर्नया, शिवनाथ, पञ्चेश्वर, डिलाशैनी, सिगास र दोगडाकेदार गाउँपालिका ८ गतेसम्म सञ्चालन हुने र पाटन, पुर्चौडी, दशरथचन्द नगरपालिकामा भने ९ गतेसम्म अभियान सञ्चालन हुने जनाइएको छ ।
खोप अभियानका लागि ५६८ खोप कार्यकर्ता र एक हजार १३६ स्वयंसेवक परिचालन गरिएका छन् । बैतडीमा उक्त उमेर समूहका ३८ हजार ५ बालबालिका रहेका र उनीहरुलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन भइरहेको हो । अभियानका लागि जिल्लाभरी ५६२ खोप केन्द्र स्थापना गरिएका छन् । पहिलो मात्रा दिएको २१ दिनपछि दोस्रो मात्रा दिइनेछ ।
यसैबीच कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिले आज जिल्लाका ३ पालिकामा सुपरीवेक्षण गरेको छ । दशरथचन्द, पाटन नगरपालिका र सूर्नया गाउँपालिकाका विद्यालयमा सुपरीवेक्षण गरिएको हो । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ ।