जुम्ला – जिल्लाका किसानलाई बगैँचामा स्याउ टिप्ने चटारो छ। स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का किसान माने रावतले बताए।
‘‘स्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ लगाएको छु। स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेसँगै टिपेर बिक्री गर्न थालिएको छ’, उनले भने, घरमै प्रतिकेजी ६० मा बिक्री सुरु गरेका छौँ । गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लैजान्छन्।’
यहाँ पाँच हजार रोपनीमा पातिहाल्ल स्याउ तथा कृषि समूह गठन गरी करिब एक हजार स्याउ र केही ओखरका बोट लगाइएको छ। स्याउ लगाएको चार वर्षपछि फल दिन थालेको छ।
यो वर्षमा दुई सय ८० किलो बिक्री भइसकेको पातिहाल्ल स्याउ तथा कृषि समूहका सचिव गोरीकला बस्नेतले बताइन्। ‘अरू जातमा गुलियोपन आइसकेको छैन’, उनले भनिन्, ‘किसानले मागअनुसार बिक्री गर्ने हो।’ अहिले जिल्लाको स्याउ तराईका विभिन्न शहरमा जाने गरेको जुम्लाका स्याउ किसान बताउँछन्।
कृषि विकास कार्यालय जुम्लाले जिल्लाका किसानदेखि उद्यमी र समूहसम्मलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको छ। गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने भएकाले अहिले स्थानीय जातको र गोल्डेन जातको स्याउ मिलाएर व्यापारीले लग्ने गरेका छन्।
तिला गाउँपालिका–२ मा रहेको कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहोराले १०५ क्विन्टल स्याउ सुर्खेत र अछाममा बिक्री गरिएको र १२ लाख रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिए।
जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भएको छ र कति प्रतिशत स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भन्ने तथ्याङ्क सङ्कलनमा स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहको छ । गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादन केही बढेको अनुमान गरिएको छ। तथ्यांक आउन केही समय लाग्ने कृषि विकास कार्यालय जुम्ला प्राविधिक सुकिराम नेपालीले बताए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका अनुसार राम्ररी पाकेको स्याउ मात्र खरिद गर्ने व्यापारीलाई अनुरोध गरिएको । विशेषगरी कर्णाली राजमार्गअन्तर्गत स्याउ बगैँचा व्यापारीको आँखामा पर्ने गरेका छन्। ढुवानीमा सहज हुनेभएकाले गाउँका स्याउ बगैँचाभन्दा सडकले छोएका स्याउ बगैँँचाको मूल्य बढी हुने गरेको स्याउ व्यापारी बताउँछन्।
आठवटै स्थानीय तहमा स्थानीयका साथै इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ। साउन महिनामै जुम्लाको काँचो स्याउ बजारमा बिक्री हुने थालेपछि जुम्लाका स्थानीय तहले स्याउ संकलन र बिक्रीमा रोक लगाएका थिए। जिल्लाको एक नगरपालिका र सात गाउँपालिकामा किसान स्याउ खेतीमा लागि परेका छन् ।