बागलुङका काँग्रेस नेता पौडेलद्धारा पार्टी परित्यागको घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले पार्टी परित्याग गरेका छन् । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको विवेकमा प्रश्न उठाउँदै उनले कांग्रेसको सदस्य समेत नरहने गरी राजीनामापत्र बुुझाएका हुन् । सभापति देउवालाई सम्बोधन गरेर कांग्रेसको इमेलमा राजीनामापत्र पठाएको उनले बताएका छन् ।

“मेरो जीवनको ४४ वर्ष नेपाली कांग्रेसमा खर्चिएको छु । १२औँ महाधिवेशनदेखि लगातार देउवाको टिमबाट केन्द्रीय सदस्य लडेर उहाँकै टिमबाट १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएको हुँ,” पौडेलले भने, “तर, टिकट वितरणमा उहाँमा विवेक देखिएन । पटक–पटक विवेकहीन निर्णय गर्ने पार्टीमा आबद्ध हुनु ठिक नलागेपपछि यो पार्टीमा नरहने निर्णय गरेको हुँ ।”

महामन्त्री वा पार्टीका अरू कोही व्यक्तिसँग आफ्नो कुनै गुनासो नरहेको भन्दै उनले सभापति देउवाकै विवेकमा प्रश्न रहेको बताएका छन् । पौडेलले कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव मार्फत सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र लेखेका छन् । उनले पार्टी निश्चित व्यक्तिको गोटी बनेको आरोप समेत लगाएका छन् ।

२०३५ सालदेखि नै राजनीतिमा लागेका पौडेलले ४४ वर्ष लामो कांग्रेससँगको आबद्धता परित्याग गरेका हुन् । बागलुङ १ मा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार बनेका छन् ।

श्रीमान सभापति ज्यु,
नेपाली काँग्रेस, केन्द्रीय समिति
मार्फ़त: मुख्यसचिब ज्यु,
नेपाली काँग्रेस,केन्द्रीय कार्यालय,
सानेपा,ललितपुर
बिषय: राजिनामा दिएको बारे।
नेपाली कांग्रेस पार्टीले उम्मेदवार सिफारिस र छनौट गर्दा अपनाएको सिद्धान्त,विधी, पद्धति र प्रक्रियाको कुनै पनि मापदण्डमा मेरो नाम अटाउन सकेन। मैले संसदीय राजनीतिको अभ्यास गर्ने स्थान खोजेको र अन्तिम अबस्थामा बाहिरिन पुगेको यो तेश्रो पटक हो। यस पटक न्यायोचित निर्णय आऊने आशामा थिए,आएन। नेबिसंघको राजनीतिक पृष्ठभूमि बाट संलग्न हुँदै कांग्रेस पार्टी संगठनको हितका लागी जीवन समर्पण गरेका म जस्ता साथीहरूलाई तेजोबध गरिएको महसूस भएको छ। निश्चित व्यक्तिहरुको मात्रै गोटी बनेका हरू मात्रै योग्य हुने परिपाटी आफुलाई सदैव अस्वीकार्य छ र रहने छ। मैले आज नेपाली कांग्रेस पार्टीको सदस्य समेत नरहने गरी पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब मार्फ़त हजुर श्री शेर बहादुर देउवा समक्ष राजिनामा पेश गरेको छु।
म २०३५/३६ सालको बिध्यार्थी आन्दोलनमा सक्रिय भएको बेला देखि हाल सम्म ४४ बर्ष निरन्तर इमान्दारीता पूर्वक पार्टीको आमन्त्रित केन्द्रीय सदस्य सम्म भई काम गरें। नेपाली कांग्रेस पार्टीको विभिन्न तह र स्थानमा पुर्र्याउनु हुने र ४४ बर्ष सम्म अनबरत साथ दिनुहुने सम्पूर्ण पार्टी पङती लाई हार्दिक धन्यवाद दिन चाहान्छु। जयनेपाल !
किरण पौडेल
निबर्तमान आमन्त्रित केन्द्रीय सदस्य
नेपाली काँग्रेस,केन्द्रीय समिति
मिति:२०७९/०६/२३
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार