बारा– निजगढ नगरपालिका २ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध गत २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा उजुरी दर्ता भए पनि अभियुक्त अझै पक्राउ पर्न सकेका छैनन् । बलात्कारीलाई पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाएको भन्दै सोमबार स्थानीय महिला अधिकारकर्मीले आन्दोलन सुरु गरेका छन् ।
श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैँको टीकाका दिन १९ असोजमा अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । बालिकालाई बलात्कार गर्ने अभियुक्तको नाममा पीडितले किटानी जाहेरी दिए पनि उनी अझै पक्राउ पर्न सकेका छैनन् ।