कर्मचारीको तलब मासिक २ हजार बढ्यो

सरकारले सरकारी कर्मचारीहरुको तलब बढाएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निजामती कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् ।

बजेट भाषणका क्रममा अर्थमन्त्रीले भने, ‘राष्ट्र सेवकलाई प्रदान गरिने सेवा सुविधामा समयसापेक्ष बनाइनेछ । कोभिड–१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण तलबमानमा अपेक्षित वृद्धि गर्ने अनुकुल परिस्थिति नभएतापनि राष्ट्रसेवकको मनोबल उच्च बनाउन साउन १ गतेदेखि लागु हुनेगरी मासिक तलब रु २ हजार वृद्धि गरेको छु ।’ त्यस्तै कर्मचारीले हाल पाइरहेको महंगी भत्तालाई कायमै राखिएको छ ।

साथै तलबमान र अरु सेवा सुविधाबारे सुझाव पेश गर्न पे कमिसन गठन गर्ने समेत मन्त्री पौडेलले बताए । त्यस्तै सरकारी कर्मचारीको १० लाखसम्मको सामूहिक दुर्घटना बिमा र एक लाखसम्मको स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्नेछ ।

मन्त्री पौडेलले सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निर्माण गर्नेसमेत बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार