सन् २०२२ फिफा विश्वकप र २०२३ एसिया कप अन्तर्गत दोस्रो चरणको छनौट खेलमा नेपालले आज चाइनिज ताइपेविरुद्ध खेल्दैछ ।
तटस्थ मैदानको रुपमा कुवेत सिटीमा हुने खेल नेपाली सयम अनुसार आज राति ९:४५ बजे सुरु हुनेछ । कोरोना सङक्रमणका कारण नेपालले आफ्ना तीन खेल कुवेतमा खेल्न लागेको हो ।
खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौसमका कारण खेल्न कठिन हुने बताएका छन् ।
समूह ‘बी’ को चौथो स्थानमा रहेको नेपालका लागि आज राति हुने खेल महत्वपूर्ण छ । ताइपेईलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ । समूह ‘बी’ कै खेलमा आज अस्ट्रेलिया र घरेलु टिम कुवेतबीच प्रतिस्पर्धा हुँदैछ ।
१२ अंक जोडेर शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका चारै खेलमा जित हात पारेको छ । दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान ५-५ खेल खेल्दा समान १०-१० अंक जोडेका छन् ।
नेपाल ३ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ । पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका पाँचै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन ।