काठमाडौँ – विश्वकप फुटबलमा उपाधिका लागि साविक विजेता फ्रान्सले आइतवार राति अर्जेन्टिनाको सामना गर्दैछ। नुसेल स्टेडियममा नेपाली समयअनुसार राति पौने ९ बजे यी दुई टोली आमनेसामने हुँदा फ्रान्स उपाधि रक्षा गर्ने योजनामा हुनेछ।
लियोनल मेस्सी नेतृत्वको टिम अर्जेन्टिना पनि ३६ वर्षपछि उपाधि जित्ने लक्ष्यमा छ। अर्जेन्टिनाले १९८६ पछि उपाधि जित्न सकेको छैन। त्यसबेला जर्मनीलाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो। जुन विश्वकपमा फ्रान्स तेस्रो भएको थियो।
आइतबार राति फ्रान्स लगातार दुई पटक उपाधि जित्ने तेस्रो टोली बन्ने योजनासहित मैदानमा उत्रिने छ। उता अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा उपाधि जित्न चाहन्छ।
फ्रान्सको उपाधि होडमा मेस्सी मुख्य चुनौती रहेको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले बताएका छन्। फाइनल खेलअघि पत्रकारहरुसँग कुरा गर्दै उनले फ्रान्सका लागि दुई कुरा चुनौतीपुर्ण हुने बताएका छन्।
पहिलो अर्जेन्टिनाका प्रशंसक र दोस्रो लियोनल मेस्सी। उनले भने, ‘अर्जेन्टिनासँग पागल प्रशंसकहरु छन्। हरेक प्रतियोगितामा उनीहरूको यो गतिविधि देखिएको छ। फाइनल खेल हुँदा स्टेडियममा फ्रान्सेली समर्थक पनि हुने छन्। तर धेरैले अर्जेन्टिनाका लागि जयजयकार गर्नेछन्।’