काठमाडौं : नेपालमा कोभिड १९ संक्रमण देखिएको झन्डै तीन वर्षपछि आइतबार कुनै पनि नयाँ संक्रमित थपिएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १९९ वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो। आज २ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ११ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। नेपालमा विसं २०७६ साल माघको पहिलो साता पहिलो पटक कोभिड संक्रमित भेटिएका थिए।
हाल नेपालमा कोभिडबाट संक्रमणमुक्त हुने दर पनि ९८ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ९९ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोप लगाइसकेका छन्।