• २०७६ मङ्सिर २७ शुक्रबार

हिन्दु राष्ट्रको पक्षमा दृढ : कमल थापा

राप्रपाले लामो समयदेखि नेपालमा राजासहितको लोकतन्त्र, धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र सुदृढ स्थानीय निकाय सहितको सङ्घीयताको वकालत गदै आएको छ । बिशेष गरि हिन्दु राष्ट्रको पक्षमा दृढ राप्रपाले फागुन ७ गते देखि हिन्दु राष्ट्रको बिशेष मागसहित निर्णायक आन्दोलन गर्ने घोषणा गरेको छ । वर्तमान सरकारको कार्यशैलिका कारण जनतामा सरकारप्रतिको बितृष्णा बढेको छ । बिद्यमान व्यवस्थाप्रति आक्रोशका आवाज समेत प्रसस्तै सुनिन थालेका छन । यहि मौका पारेर राप्रपाले निर्णायक भन्दै घोषणा गरेको आन्दोलनलाई जनतामा पछिल्लोपटक सरकारका गतिविधीबाट पैदा भएको निराशाका बीच धमिलो पानीमा माछा मार्ने मेलो भएको टिप्पाणी गर्नेहरु समेत कम छैनन । यसको वास्तविकता नजिक पुग्न राप्रपाले पछिल्लो पटक घोषणा गरेकोे आन्दोलनको सान्दर्भिकता र पार्टी एकताका विषयमा राप्रपाका अध्यक्ष कमल थापासँग टिभी अन्नपूर्णकर्मी विनोद देवकोटाले गरेको कुराकानीः

हिन्दु राज्य पूर्नस्थापनाको लागि निर्णायक आन्दोलन गर्ने घोषणा गर्नुभएको छ ,कस्तो छ तयारी ?

-फागुन ७ गते देखि हिन्दु राष्ट्र लगायत महत्त्वपूर्ण मुद्दामा पार्टीले जनसङ्घर्ष गर्ने निर्णय गरेको छ । त्यसैको तयारी स्वरूप गत महिना सात वटै प्रदेशमा प्रदेश स्तरीय प्रशिक्षण सम्पन्न भयो । अब सबै स्थानीय तहमा हिन्दु राष्ट्र पुनस्र्थापनाको लागी जनजागरण सभा गर्दैछौं । पूर्व मेची देखि पश्चिम महाकाली ७७ वटै जिल्लामा राष्ट्रिय स्वाभिमान यात्रा हुनेछ । यो सँगै सङ्घर्षलाई सघाउ पुग्ने गरी अन्य सङ्गठन निर्माण लगायतका काम गर्ने तयारी छ ।

यो पनिः हिन्दू राष्ट्रको पुनर्स्थापनाको माग गर्दै फागुनबाट देशभर आन्दोलन चर्काउने राप्रपाको घोषणा

तपाइहरूले निर्णायक सङ्घर्ष भन्नुभएको छ , यसको स्वरूप कस्तो हुन्छ ?

-यो शान्तिपूर्ण जनसङ्घर्ष हो । यद्दपी यसको स्वरूप अझै निर्धारण गरी सकेका छैनौँ । तर स्पष्ट हुन जरुरी छ हाम्रो सङ्घर्ष कुनै धर्म, सरकार वा राजनीतिक दलका विरुद्धमा होइन । नेपालको राष्ट्रिय पहिचान र एकताको रूपमा रहेको हिन्दु राष्ट्रको पुनस्र्थापना, राष्ट्रिय अखण्डताको संरक्षण र संवर्धन, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति जस्ता विषयमा केन्द्रित हुनेछ । जुन नेपालको प्रचलित सबिधानको परिधिभित्रै हुनेछ ।

तपाईँलाई लाग्छ यो आन्दोलन हिन्दु राष्ट्र र राजसंस्थाका सवालमा निर्णायक हुन सक्छ ?

-यसपटकको आन्दोलनमा हामी हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि सशक्त जनदबाब र जनमत तयार गर्दै छौँ । यो जनदबाब र जनमतको बलमा हिन्दु राज्य र राजसंस्था पुनस्र्थापना गर्न मद्दत पुग्छ भन्ने हाम्रो विश्वास छ ।

यो पनिः पूर्व राजा ज्ञानेन्द्र पोखरा पुगेपछि सर्मथकले लगाए गणतन्त्र बिरोधि नारा

यो व्यवस्था परिवर्तन गर्न त संविधान अनुसार दुई तिहाइ चाहिन्छ ? तर तपाइहरूले केही मान्छे सडकमा ल्याउदैंमा यो सम्भव होला ?

-जनताको अभिमतलाई कसैले पनि उपेक्षा गर्न सक्दैन । हाम्रो आन्दोलनमा जनताले सशक्त ढङ्गले जनसङ्घर्षको माध्यमबाट आफ्नो माग प्रस्तुत गर्नेछन् । शान्तिपूर्ण ढङ्गबाट हिन्दु राष्ट्र र राजतन्त्रका पक्षमा सशक्त रूपमा आफूलाई प्रदर्शन गर्न सके संविधान संशोधनमार्फत त्यो काम पुरा हुन सक्छ । अन्य राजनीतिक दलहरू अहिले लहडकै भरमा हिन्दु राष्ट्रको विपक्षमा छन् । कुनै विदेशीले आफ्नो स्वार्थको लागी अघि सारेको हिन्दु राष्ट्र विरोधी अभियानबारे बुझाउन पनि जनता सडकमा उत्रेर हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउनुपर्ने भएको छ । यस कारण पनि यो आन्दोलन सुरु भएपछि उनीहरूले समेत यसको वास्तविकता बुझ्नेछन् र हिन्दु राष्ट्रको मागलाई सकारात्मक रूपमा लिनेछन् भन्नेमा म विश्वस्त छु । यही जनभावनालाई कदर गर्दै हिन्दु राष्ट्र पुर्न स्थापित हुने छ ।

कुनै विदेशीले आफ्नो स्वार्थको लागी अघि सारेको हिन्दु राष्ट्र विरोधी अभियानबारे बुझाउन पनि जनता सडकमा उत्रेर हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउनुपर्ने भएको छ ।

सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रका पक्षमा उभिएका दलहरू जो अहिले संसद्मा छन् उनीहरू नै अब तपाइहरूका मुद्दामा सहमत हुन्छन् भन्न खोज्नु भएको हो ?

-हामी त्यसको लागि प्रयास गर्छौ । एकै पटकको सङ्घर्षबाट उद्देश्य प्राप्त भएन भने पनि यो अभियान निरन्तर रूपमा जारी रहन्छ । र उपर्युक्त समयमा यो परिवर्तन गर्न सम्भव हुन्छ ।

यो पनिः पशुपति भर्सेस कमल थापा: ‘तातै खाउँ, जली मरौं, राणाको भावना एकता विपरीत

त्यसो हो भने तपाइहरूले भनेजस्तो फागुनकै आन्दोलन निर्णायक होइन ?

-ठ्याक्कै यही समय, यही दिन वा यही पटक निर्णायक हुन्छ वा हुँदैन भन्ने ठोकुवा गरिहाल्नुपर्ने आवश्यकता अहिले देख्दिन । हाम्रा एजेण्डाको सान्दर्भिकता झन् पछि झन् बढेको महसुस हुँदैछ । यसका लागी हामी प्रयास गर्दै जान्छौ । यसपटकको आन्दोलनलाई नै निर्णायक बनाउने प्रयत्न अवश्य रहन्छ । यो आन्दोलनमा जनताको कुन किसिमको सहभागिता रहन्छ । हाम्रो तयारी कस्तो हुन्छ । यो सबै कुरामा निर्भर रहन्छ । अहिले नै निर्णय भएन भने पनि निर्णयको अनुकूल वातावरण सिर्जना गर्न यसले मदत पुर्याउछ भन्ने कुरामा भने हामी ढुक्क छौँ ।

पछिल्लो समय जनतामा देखिएको सरकारप्रतिको जुन वितृष्णा र आक्रोश छ यसले तपाईँको आन्दोलनलाई बल पुग्ने देखेर उत्साहित हुनु भएको होला हैन ?

-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको राष्ट्रिय राजनीतिमा फरक वैचारिक धार बोकेर खडा भएको पार्टी हो । खास गरी ०६२/०६३ को परिवर्तनलाई संस्थागत गर्ने क्रममा धर्म निरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता जस्ता अवधारणाहरूलाई लागु गरियो । त्यो उपयुक्त छैन । नेपालको निमित्त पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र, राजसंस्था सहितको लोकतन्त्र, सङ्घीयता होइन सुदृढ स्थानीय शासन उपयुक्त हुन्छ भन्ने हाम्रो वैकल्पिक अवधारण हो । यद्दपी पार्टी सङ्गठनात्मक रूपमा कमजोर भएको र चुनावमा हामीले अपेक्षित सफलता पाउन नसकेको कारणले गर्दा अहिले यी एजेण्डाहरु केही कमजोर भएको हामीले महसुस गरेका छौ । तर चुनावमा पराजय भोग्नु परेता पनि देशको १२ वर्षको घटना क्रमले विकल्पको फेरि पनि माग गरेको छ । र यो विकल्पको रूपमा राप्रपा र राप्रपाले लिएको बिचार हुन सक्छ भन्ने मान्यता अझ दृढ बन्दै गएको छ । त्यो अहिलेको घटनाक्रमले पनि प्रमाणित गरिराखेको छ ।

सहमति र सम्झौताको संस्थाको रूपमा चुनावी राजनीतिभन्दा माथि रहेको राष्ट्रियता र एकताको प्रतीकका रूपमा एउटा राजसंस्था हुनुपर्छ भनेका हौँ ।

यत्रो सर्घषबाट देश गणतन्त्र,धर्मनिरपेक्षता, सङ्घीयतामा प्रवेश गरेको छ , दलहरूले यसलाई नयाँ युग भनिरहेका छन् तपाईँ फेरि पुरानै व्यवस्थामा फर्कने कुरालाई अहिलेको विकल्प भन्दैहुनुहुन्छ ?

-गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको निर्णय कसरी भयो यसको अध्ययन हुन जरुरी छ । कसैको लहडको भरमा भएका यस्ता निर्णयलाई जनताले स्विकार्नुपर्छ भन्ने छैन । वास्तवमा हिन्दु राष्ट्र, राजसंस्था र सङ्घीयताका विषयमा जनताको प्रत्यक्ष अभिमत लिने काम भएकै छैन ।

०६२/०६३ को आन्दोलन त्यसको प्रतिबिम्ब होइन ?

-त्यो आन्दोलनमा यी एजेन्डा छँदै थिएनन् ।

धर्मको विषय आन्दोलनमा त्यति नदेखिए पनि राजसंस्थाको विषयमा त आन्दोलन कडै रूपमा देखिएको होइन ?

-नाराबाजी अलिअलि भयो होला । तर त्यो आन्दोलन १२ बुँदे सम्झौताका आधारमा भएको हो । १२ बुँदेमा राजसंस्थाको अन्त्यको कुरा छैन । निरङकुशताको अन्त्यको कुरा अवश्य थियो । तर १२ बुँदे सहमतिमा गणतन्त्रको ग पनि उल्लेख भएको छैन ।

त्यति बेला जनताले बुझेको र १२ बुँदेमा उल्लेख निरङकुश भनेको राजसंस्था नै होइन ?

-निरङकुशताको अन्त्यको कुरा गरिएको हो । निरङकुशतालाई हटाएर लोकतान्त्रिक राजसंस्थालाई त कायम राख्न सकिन्छ नि । त्यकारण त्यो जनआन्दोलनको म्यान्डेट भनेर विभिन्न एजेन्डा लाद्ने काम भयो । अहिले म त्यता पट्टी जान चाहन्न । तर स्पष्ट हुन जरुरी छ हामीले पुरानो व्यवस्था ल्याउन खोजेको भन्नु गलत बुझाई हो । हामी परिवर्तनको विरोध गरेको होइन । निरन्तरता सहितको परिवर्तन । माओवादी देखि राजासम्म अट्न सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको कुरा हामीले गरिरहेका छौँ । हामीले हिन्दु राज्यको कुरा गरेर अन्य धर्मलाई स्थान नदिने भनेको होइन । हिन्दु राष्ट्रसहितको धार्मिक स्वतन्त्रता हो हामीले खोजेको । हामीले परिवर्तनकारी शक्तिहरूलाई पनि चित्त बुझने सहमति र सम्झौताको व्यवस्था निर्माण गर्न खोजेको छौँ । परिवर्तनकारीलाई पनि चित्त बुझ्ने । सहमति र सम्झौताको संस्थाको रूपमा चुनावी राजनीतिभन्दा माथि रहेको राष्ट्रियता र एकताको प्रतीकका रूपमा एउटा राजसंस्था हुनुपर्छ भनेका हौँ ।

पविर्तनकारी शक्तिहरू पनि अट्ने व्यवस्थाको कुरा तपाइले गर्ने तर तपाइको देशदौडाह र अभिव्यक्लिे उनीहरू शसंकित देखिन्छन् । कसरी सबैलाई एकै ठाउँमा ल्याउन सकिन्छ ?

-समय लाग्न सक्छ । वहाहरुले जुन धर्म निरपेक्षताको कुरा गर्नु भएको छ । त्यसले देशमा कस्तो प्रभाव परेको छ । सङ्गठित र योजनाबद्ध रूपमा धर्म परिवर्तन गराउने काम भइरहेको छ । यो बिचमा दसौँ लाखको धर्म परिवतएन गराइएको छ । नेपालको सनातन धर्म र संस्कृति विस्थापित गरेर विदेशी धर्म संस्कृति भित्र्याउने काम भएको छ । केही समय अघि विवादित युनिफिकेशन चर्चले गरेको कार्यक्रममा राज्यको प्रधानमन्त्री सहित तामझामसहितको सहभागिता । त्यो कार्यक्रमका लागि सरकारले १३ करोड भन्दा बढी खर्च र्गयो । त्यसले शङ्का पैदा गरेको छ । परोक्ष रूपमा धर्म परिवर्तन गर्ने कार्यलाई मद्दत र्पुयाएको छ । अब जनताले बुझ्दै छन् । वहाँहरूले पनि बुझ्नुहुन्छ बिस्तारै । राजसंस्थालाई पाखा लगाएको पनि १२ वर्ष भयो । त्यो बिचमा के के भयो । राष्ट्र विखण्डनको कुरा कहाँबाट आयो नेपालमा ? विदेशीहरूको हस्तक्षेप र प्रभाव किन तीव्र रूपले बढ्यो । किन नेपालका हरेक सरकार आत्मसमर्पणवादी र लम्पसारवादी भइराखेको छन् । यो कुरा पनि त जनताले बुझी राखेका छन् । यस्ता प्रश्नहरूले स्वाभाविक रूपले अहिले परिवर्तनकारी भनिएका शक्तिहरूको सोचमा पनि सुधार आएको हुन सक्छ । र बिचको बाटो पत्ता लाउन सकिन्छ भन्ने मलाई लाग्छ ।

हरेक परिवर्तनमा जनमत नै अन्तिम मानिन्छ । यी मुद्दा त तपाइले जनतामा लिएर प्रयोग पनि गरी सक्नु भयो । अनुमोदन हुने सङ्केत देखिएन । जनताले चाहेका छैन भन्ने देखिएन र ?

-यो जुन धर्म निरपेक्षता, गणतन्त्र र सङ्घीयता लादिएको छ । यो नेपाली जनता र राजनीतिक दलको एजेन्डा होइन र थिएन । यो विदेशीहरूले आफ्नो उपनिवेश खडा गर्नको निम्ति बोकाएका हुन् । त्यसको पछाडि धेरै ठुलो लगानी गरिएको छ । यहाँका बुद्धिजीवी, राजनीतिज्ञ, सञ्चारमाध्यमलाई प्रत्यक्ष र परोक्ष रूपमा प्रभावमा पारिएको छ । तीनले सिर्जना गरेको मानसिक अवस्था हाम्रो जस्तो सानो सङ्गठन, सीमित स्रोत साधन भएको पार्टीलाई यो निकै कठिन र चुनौतीपूर्ण काम हो । तर यो नेपालको लागि आवश्यक छ भन्दै हामी निरन्तर रुपमा लागेका छौँ । हिजोभन्दा आज आजभन्दा भोलि प्रगति गर्दछौँ । एक दिन हामी लक्ष्यमा पुग्ने छौँ । हामीले आजको भोलि नै लक्ष्य भेटेनौँ भने पनि यो एजेन्डा छोड्ने कुरा हुँदैन । आज हामीले जति प्रगति गछौं सकेनौँ भने नयाँ पीढिले यसलाई लिएर अघि बढ्छन् । जुन बेला नेपाली जनतालाई चित्त बुझाउन सक्छन् त्यो बेला यो मुद्दा स्थापित हुन्छ ।

यो सबै परिवर्तन ल्याउने तपाइहरूको बाटो पनि जनमत नै हो । चुनाव जित्ने, दुई तिहाइ ल्याउने र संविधान उल्ट्याउने नै हो ?

-एकदम ठिक । संविधान जारी भइसकेपछि हामीसँग दुइटा विकल्प थियो । एउटा संविधानलाई त्यहीनिर च्यातेर विद्रोहको बाटो लाग्ने । हामीलाई लाग्यो नेपाली जनताले विद्रोह स्वीकार गर्दैन र त्यो उपयुक्त होइन । कठिन छ तर प्रजातान्त्रिक बाटो नै रोज्नुपर्छ भनेर अन्तसम्म आफ्नो एजेण्डामा खडा भयौँ । र संविधानको विपक्षमा मतदान र्गयौँ । हामीले आलोचनात्मक रूपमा संविधान स्वीकार र्गयौँ । यही संविधानको परिधिभित्र रहेर आफ्नो मान्यता स्थापित गर्न हामी लागि राखेका छौं।

जनमतको कुरा गर्दा एकपछि अर्को चुनावमा तपाइहरूको मुद्दा स्थापित हुनुको सट्टा खुम्चिँदै गएको देखिन्छ । कहिलेकाहीँ जनमत छैन जस्तो लाग्दैन ?

-होइन, वास्तवमा चुनाव हार्दैमा हाम्रा एजेन्डाको औचित्य समाप्त भयो भन्न मिल्दैन । यो पटकको चुनावमा हामी हार्नुमा हाम्रै कारण प्रमुख छ । हामीले भयङ्कर ठुलो भुल गरेका छौँ । पहिलो चुनावको पूर्व सन्ध्यामा पार्टी विभाजन भयो । दोस्रो हामीले नेपाली काङ्ग्रेससँग सहकार्य गर्यौ । त्यो सहकार्यमा नेपाली काङ्ग्रेसको तर्फबाट इमान्दारीता भएन । हामीलाई धोका भयो । तेस्रो हिन्दु राष्ट्र र राजसंस्था बोकेको पार्टी पटक पटक सरकारमा गएको जनतालाई चित्त बुझेन । पार्टीले एजेन्डा छोड्यो भन्ने जनतामा भ्रम पर्न गयो । त्यसलाई हामीले निराकरण गर्न सकेनौ । सङ्गठन कमजोर थियो । साधन स्रोतको अभाव थियो । यी विभिन्न कारणले गर्दा हामीले चुनाव हारेका हौँ । तर एजेन्डाको औचित्य र महत्त्व समाप्त भएको छैन ।

यो पनिः कस्ले रोक्यो राप्रपालाई एक हुन ? पाहुना बोलाएर कार्यक्रम रद्ध

पार्टी एकता र फुटको कुरा गर्दा केही महिना अघि पार्टी एकता घोषणासम्म पुगेको थियो । तर के कारण अहिले फेरि दुई किनार भएर बस्नु भएको छ ?

-त्यसमा म पनि आश्चर्य चकित छु । वास्तवमा जुन पृष्ठभूमिमा पार्टी विभाजन भएको थियो । हदैसम्मको लचकता पनि अपनाइयो । सबै विषमा सहमति भयो । मिति र स्थान पनि तय गरियो । तर एक दिन अघि आएर पशुपति जी र प्रकाश जी ले हामीलाई अझै समय चाहियो भन्नु भयो । एक्लैले गएर एकता घोषणा गर्ने कुरा पनि भएन ।

कुनै शक्तिले खेले छ कि क्या हो ?

-मलाई केही थाहा छैन । वहाँहरूले माग्नु भएको सबै कुरा हामीले पुरा र्गयो तर हुन सकेन । धेरै विषयमा कुरा मिलिसक्या छ । उहाँहरू जहिले आउनुहुन्छ हामी ढोका खुल्ला गरेर बसेका छौँ एक दिन एकता हुन्छ ।

यो पनिः पार्टी एकतामा हाम्रो कुनै अवरोध छैनः पशुपति शमशेर राणा(भिडियोसहित)

यहाँको कारणले पार्टी एकता भाँडियो भन्ने छ त ?

-हो एकदमै भ्रामक कुरा हो । जुन भ्रम अहिले उहाँहरूले पार्नुभएको छ । पार्टी एकताको लागि यस पटक मैले हदैसम्मको लचकता अपनाए । हाम्रै धेरै साथिहरुलाई चित्त बुझेको थिएन । सैद्धान्तिक कुरा मिलिसकेपछि पशुपति जीले मलाई अध्यक्ष चाहियो भन्नु भयो लौ हुन्छ भने । खुसीसाथ सहमत हुनु भयो । वहाँले पार्टी फुटाउने बेला तीस पैतीस प्रतिशत सदस्य लिएर जानु भाथ्यो मलाई पचास प्रतिशत चाहिन्छ भन्नु भो मैले हुन्छ भने । प्रकाश चन्द्र लोहनीलाई पनि अध्यक्ष चाहियो त्यो पनि तयार । जाने बेला एउटा पनि सदस्य थिएनन् उहाँसँग तर लोहनी जीलाई २० जना केन्द्रीय सदस्य चाहियो त्यो पनि तयार । तीन जना अध्यक्ष । केन्द्रीय समितिमा वहाँहरूको पूर्ण बहुमत । त्यै पनि अन्तिम समयमा आएर उहाँहरू एकतामा बाधक बन्नुभयो फेरि मेरो कारण एकता भाँडिएको आरोप कसरी लाग्न सक्छ ?

तपाइको कुरा सुन्दा सबै मिलेको देखियो । एकता प्रक्रिया किन रोकियो त ?

-त्यो पशुपतिजी र लोहनीजी लाई सोध्नुपर्छ ।

त्यही त कमल थापाका कारण एकता हुन सकेन भन्नुहुन्छ उहाँहरू ?

त्यो सबै आरोप मात्रै हो ।

पछिल्लो समय पार्टी एकताका विषयमा तपाइहरू बिचमा छलफल भयो कि भएन ?

-त्यसपछि उहाँले मान्छे पठाउनु भो कुरा र्गयौँ । उहाँको आफ्नो आन्तरिक समस्यालाई जोडेर खुरापाती गर्ने सस्तो राजनीति गर्नु हुँदैन ।

तपाइको कारणले एकता प्रक्रिया रोकिएको होइन ?

-तपाइको मिडियाबाट भन्दै छु । अहिले नै उहाहरु आउनुभयो भने आजै सही गर्दिन्छु । मेरो कारण पार्टी एकता रोकिनुपर्ने कुनै कारण नै छैन ।
नेपाली राजनीतिमा तपाइको आकाङ्क्षा के छन् अब ?

-राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बलियो बनाउने । देशको अग्रणी शक्तिका रूपमा स्थापित गर्ने र हाम्रा एजेन्डा स्थापित गर्ने नै हो ।

प्रधानमन्त्री बन्ने चाहना छैन ?

-त्यो चाहेर हुने कुरा होइन । पार्टीलाई बलियो बनाउने र एजेन्डा स्थापित गर्ने लक्ष्य नै हो अहिले प्रमुख हो । त्यसबाहेक तत्काल मैले त्यस्तो अरू कुनै परिकल्पना गरेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार