• २०७६ कार्तिक २८ बिहीबार

विद्यालय भवनको बरण्डा खस्दा ३९ घाइते, दर्जन बढीको हात खुट्टा भाँचियो, एक जना गम्भीर (भिडियोसहित)

विद्यालय प्रशासन र नियामक निकायको लापरबाहीले लाखौँ विद्यार्थीको जीवन जोखिममा

 बुधबार काठमाण्डौको तारकेश्वर : ३ स्थित विद्याकुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कुलको  बार्दली खस्यो । केहि समयअघिमात्रै निर्मित भवनको बार्दली खस्दा विद्यालयमा भईरहेको फुटबल हेरिरहेका ३९ विद्यार्थी घाईते भए ।  घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। अहिले घाईतेको उपचार काठमाण्डौका विभिन्न अस्पतालमा भईरहेको छ ।  पुरै बार्दली खसेर पुरिदाँ पनि संयोगले यो भन्दा ठुलो क्षति भएन । तर शिक्षा क्षेत्रमा  बिद्यालय व्यवस्थापन र नियमक निकायको लाचारी कतिसम्म छ भन्ने उदारहण यो घटना बनेको छ । 
विद्याकुञ्जजस्तै देशभर सञ्चालित निजी विद्यालयका भौतिक पूर्वाधारको अवस्था यस्तै दयनीय र भयावह छ । आज पनि लाखौं बालबालिका धरापजस्ता यस्तै विद्यालय भवनमा बसेर अध्ययन गरिरहेका छन्। सामान्य अवस्थामा यसरी विद्यालय भवनका पर्खाल वार्दली र छत गल्र्यामगुर्लुम हुन्छन भने भूकम्प वा आगलागीजस्ता विपत्तिमा निम्तिन सक्ने उच्च मानवीय क्षति कस्तो होला । यो अहिले पनि कल्पना बाहिरको विषय बनिरहेको छ । 

 

सरोकारवालाहरुले  चार वर्षमा नसिकेको पाठ

८ हजार ८५६ जनाको मृत्यु, ८ लाख १२ हजार १६१ घर ध्वस्त, ८ हजार ३०८ विद्यालय र ५०२ स्वास्थ्य संस्था क्षतिग्रस्त ।

जनधनको कहालीलाग्दो यो क्षति २०७२ सालको भूकम्पको नतिजा थियो । भूकम्पमा योविघ्न क्षति पछि पनि धेरैले ‘ईश्वरले हात थामेको’ भन्दै सन्तोषको सास फेरे । कारण थियो, भूकम्प गएको दिन शनिबार पर्नु । छुट्टीको दिन नभइदिएको भए, भूकम्पमा ध्वस्त भएका ८ हजार ३०८ वटा विद्यालयमा पढ्ने लाखौं बालबालिकाको अवस्था के हुन्थ्यो होला ! साँघुरा र उद्धार गर्न मिल्ने ठाउँसम्म नभएका विद्यालय भवनभित्र सयौं बालबालिकाको भागदौड हुँदाको अवस्था कल्पना गर्न पनि गाह्रो छ । 

१२ वैशाख २०७२ को भूकम्पपछि तीन वर्ष नौ महीना बितिसके । धेरैको सम्झनामा त्यो कहालीलाग्दो घटना मधुरो बनिसकेको छ । भग्नावशेष बनेका दूरदराज गाउँमा भूकम्प प्रतिरोधी घर बनिरहेका छन् । क्षतिग्रस्त सरकारी विद्यालयका भवनलाई नयाँ र बलिया भवनबाट प्रतिस्थापित गर्ने काम चलिरहेको छ । के २०७२ सालको भूकम्पबाट पाठ सिकेर विद्यालयहरूलाई सुरक्षित पार्न थालिएको हो ? माथि उल्लिखित उदाहरणले भने यथार्थ झन् भयावह देखाउँछन् ।

हाम्रा नानीहरू पढ्ने विद्यालयका भवन कस्ता छन् त ? काठमाडौं जिल्लाभित्र सञ्चालित १,१४२ निजी विद्यालय र २७२ वटा सरकारी विद्यालयको अवस्था केलाउने क्रममा शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख नन्दलाल पौडेलले भने, “यहाँका अधिकांश सरकारी र निजी विद्यालय सुरक्षित छैनन् ।” उनी थप्छन्, “विपत्का बेला बालबालिका तुरुन्तै पुग्न सक्ने सुरक्षित ठाउँ (इभ्याकुएसन सेन्टर) को व्यवस्था छैन भने त्यो विद्यालय भवन सुरक्षित हुँदैन ।” काठमाडौंका धेरैजसो विद्यालय सुरक्षित नरहेको, विद्यार्थीको सुरक्षाका लागि हिजो केही नगरिएको र भूकम्पको विपत् पछि पनि मानसिकतामा परिवर्तन नआएको पौडेलको भनाइ छ ।

सुदूरपश्चिमको विकट जिल्ला बाजुराको बूढीनन्दा नगरपालिका–१, कोल्टीस्थित ४०० विद्यार्थी पढ्ने हातेमालो बोर्डिङ स्कूलको अवस्था पनि त्यस्तै छ । सात कक्षासम्म पढाइ हुने हातेमालोको भवन विद्यालय भन्नै नमिल्ने खालको छ– कच्ची गारोमा टिनले छाएको, खण्डहरजस्तो कक्षाकोठा भएको । सात वर्षदेखि सञ्चालित यो स्कूलका कक्षामा स–साना बालबालिका भुइँमै कोचाकोच गरेर बस्छन् ।

विद्यालयहरूको भौतिक अवस्था नजिकबाट नियालेका शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका तथ्यांक अधिकृत/विद्यालय निरीक्षक रामहरि थापाको अनुभवमा अवस्था झन् डरलाग्दो छ । “काठमाडौंका ८० प्रतिशत निजी विद्यालयको आफ्नो भवन छैन, अधिकांश भाडाका घरहरू सुरक्षित छैनन्” थापा भन्छन्, “सरकारी/सामुदायिक विद्यालयका चाहिं ५० प्रतिशत भवनलाई सुरक्षित बनाउन सकिने सम्भावना रहेछ, तर त्यसको पहल भएको देखिएन ।”

काठमाडौंको क्षेत्रपाटीस्थित जुद्धोदय पब्लिक स्कूललाई नै हेरौं । पहिले विद्यालय परिसरमै फूटबल मैदान रहेको यो स्कूलमा पर्याप्त खुला ठाउँ थियो । अहिले मैदान मासेर शपिङ कम्प्लेक्स बनाइएपछि आँगन पनि बचेको छैन ।

पछिल्लो समय गाउँ–देहातमा समेत निजी विद्यालय खुलिरहेका छन् । अभिभावकहरू क्षमताले भ्याएसम्म छोराछोरीलाई निजी विद्यालयमै पढाउन खोज्छन् । तर, निजी विद्यालयकै भवनहरू सुरक्षाको दृष्टिले जोखिमपूर्ण छन् । निजी तथा आवासीय विद्यालयहरूको संगठन (प्याब्सन)का कर्णाली प्रदेश अध्यक्ष नैनसिंह खत्री भन्छन्, “सुर्खेत जिल्लाभरिका १३१ निजी विद्यालयमध्ये करीब १० प्रतिशतको मात्र आफ्नो भवन छ । बाँकीले आवासीय घर भाडामा लिएर स्कूल चलाएका छन् ।” 

ग्राफीक्सः इन्द्र श्रेष्ठ

शिक्षा विभाग (हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्र) का अनुसार, देशभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी ३५ हजार ६०१ विद्यालय सञ्चालनमा छन् । तीमध्ये सरकारी विद्यालय २७ हजार ९१४, निजी÷संस्थागत विद्यालय ६ हजार ५६६ र धार्मिक विद्यालय (मदरसा, गुम्बालगायत) १,१२१ छन् ।

निजी विद्यालयहरूका दुई वटा संगठन छन्– प्याब्सन र ‘नेशनल प्याब्सन’ । तीमध्ये झण्डै दुईतिहाइ विद्यालय आवद्ध प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेलाई सोध्यौं– निजी विद्यालयका भवन कस्ता छन् ?

“काठमाडौं उपत्यकाभित्र ५ देखि १० प्रतिशत निजी विद्यालयको आफ्नो भवन छ, करीब ९० प्रतिशत विद्यालय भाडाको भवनमा छन्” सम्बाहाम्फेले भने, “काठमाडौं बाहिर चाहिं १५–२० प्रतिशत विद्यालयको आफ्नै भवन छ ।”

९ कक्षाभन्दा माथि पढाइ हुने निजी शिक्षण संस्थाहरूको संगठन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) अन्तर्गत करीब एक हजार विद्यालय आवद्ध छन् । महासचिव लोकबहादुर भण्डारीका अनुसार तीमध्ये ५० प्रतिशत शिक्षण संस्थाको मात्र आफ्नै भवन छ ।

तर यी विद्यालयको आफ्नै भवन हुन् वा भाडाको– सञ्चालकदेखि अभिभावकले समेत खासै महत्व वदिएको देखिन्न । कतिपयले यसलाई खेलमैदान, खुला ठाउँलगायतका पूर्वाधारसँग मात्र जोडेर हेर्छन् । विद्यालय भवनसँग स–साना बालबालिकाको जीउज्यानकै सवाल जोडिएको कुरा बेवास्तामा पर्छ । 

सामान्यतया विद्यालयलाई भाडामा दिनकै लागि कसैले घर बनाउँदैनन् । विद्यालयले भाडामा लिएका अधिकांश भवनहरू आवासीय प्रयोजनका लागि बनेका हुन् । एकाध परिवार बस्न मिल्ने यस्ता भवनमा विद्यालय सञ्चालन गर्दा के होला ?

वरिष्ठ स्ट्रक्चरल इन्जिनियर डा. राजन सुवाल भन्छन्, “भवन जुन प्रयोजनका लागि हो, त्यही किसिमको भार धान्न सक्ने गरी मात्र बनाइएको हुन्छ । आवासीय प्रयोजनका भवनमा विद्यालय चलाइयो भने त्यसले भार धान्न सक्दैन ।”

डा. सुवालका भनाइमा आवासीय भवनहरूको इन्जिनियरिङ डिजाइन फरक हुन्छ । सामान्यतया केही परिवार बस्न मिल्ने डिजाइन गरिने हुँदा तिनले धान्ने भार पनि सीमित हुन्छ । त्यसखाले घरका एउटै कोठामा ४०–४५ जना विद्यार्थी र उनीहरू बस्ने डेस्क–बेञ्चको भारसमेत थपिंदा असुरक्षित हुन पुग्छ । अझ भूकम्पमा वा अरू कुनै आपत्विपत्मा एउटा कोठाभित्रका ४०–४५ जना बालबालिका एकैसाथ साँघुरो भ¥याङबाट भागदौड गरेर निस्कनु पर्दा के होला ?

“भवनको भार धान्ने प्रणाली नै नमिल्ने हुँदा संरचना फेलियर भएर कैयौंको ज्यान जान सक्छ” डा. सुवाल भन्छन्, “भारवहन क्षमता नै कम हुने आवासीय भवनहरू भाडामा लिएपछि विद्यालयहरूले माथिल्लो तलामा जस्ताको छानो हालेर समेत क्लास चलाएको छ्याप्छ्याप्ती भेटिन्छ ।”

जस्तो कि, बुटवल उपमहानगरपालिका–१, गढीटोलका मनमोहन सिंहको आवासीय तीनतले घरमा ‘अक्षर एकेडेमी’ नामको निजी विद्यालय छ । माथिल्लो तलामा सिंहको परिवार बस्छ, तलका तलामा अमर पाठकले विद्यालय चलाइरहेका छन् । पार्किङका लागि छुट्याइएको ठाउँमा समेत क्याबिन बनाएर कक्षा चलाइएको छ । तीन कक्षासम्म पढाइ भइरहेको स्कूलमा २५० विद्यार्थी पढ्छन् ।

रूपन्देहीका करीब ३०० निजी विद्यालयमध्ये धेरैजसो भाडाका घरमा छन् । अभिभावक संघ, रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली भन्छन्, “घरबेटीले भन्नासाथ छाड्नुपर्ने भएकाले स्कूलहरूले भवन मर्मत–संभार समेत गर्दैनन्, विद्यार्थी, शिक्षक सधैं जोखिममा हुन्छन् ।”

२०७२ सालको भूकम्पपछि राष्ट्रिय योजना आयोगद्वारा गठित ‘एकीकृत योजनाबद्ध शहरी विकासको मापदण्ड तर्जुमा कार्यदल’ ले बुझाएको प्रतिवेदन (२०७२) मा उल्लेख छ– “भवन जुन प्रयोजनको लागि स्वीकृति लिइएको हो, घरधनीले स्वीकृति लिएको बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न चाहेमा कारण खुलाई नगरपालिकाको पूर्वस्वीकृति लिनुपर्नेछ । जस्तो, आवासीय प्रयोजनका लागि स्वीकृति लिइएको भवनको उपयोग संस्थागत (स्कूल, कलेज, हस्पिटल वा व्यापारिक/व्यावसायिक आदि) प्रयोजनका लागि गर्न सकिने छैन । भवनको प्रयोजन परिवर्तन गर्नु परेमा भवन निर्माण मापदण्ड र भवन संहिता विपरीत नहुने गरी नगरपालिकाहरूबाट स्वीकृति लिएर मात्र गर्न दिइनेछ ।”

एउटा प्रयोजनका लागि बनाइएको भवन अर्कै प्रयोजनमा लगाइएको भन्दै त्यसलाई रोक्न काठमाडौं महानगरपालिकाले भूकम्पपछि ‘भवन निर्माण प्रमाणीकरण कार्यविधि, २०७३’ जारी ग¥यो । कार्यविधिमा उल्लेख छ– “महानगरपालिकाबाट स्वीकृति लिई निर्माण भएका कतिपय भवनहरू व्यक्तिको नाममा स्वीकृत भए पनि किनबेच वा अन्य कारणबाट संस्था, कम्पनी आदिको नाममा हक हस्तान्तरण भएको पाइएकोले जुन प्रयोजनको लागि स्वीकृति दिइएको हो, सोही प्रयोजनमा उपयोग हुने गरी वा संस्थागत मापदण्डमा भवन संरचना परिवर्तन गरेपश्चात मात्र नामसारी गर्ने ।”

महानगरपालिकाले स्वीकृत प्रयोजनको उद्देश्य उल्लंघन गरेका भवनहरूलाई यो मापदण्ड पालना गर्न पटक–पटक सूचित ग¥यो । तर, त्यसको पालना भएन । 

प्रयोजन अनुसार भवनको मापदण्ड पनि भिन्दाभिन्दै हुन्छ । जस्तो कि, तत्कालीन काठमाडौं उपत्यका नगर विकास समिति (हाल काठमाडौं उपत्यका विकास प्राधिकरण) ले बनाएको ‘काठमाडौं उपत्यकाभित्रको निर्माण सम्बन्धी मापदण्ड, २०६४’ मा आवासीय भवन निर्माण गर्दा अधिकतम ८० प्रतिशतसम्म ‘ग्राउण्ड कभरेज’ गर्न पाइने व्यवस्था छ । स्कूल/क्याम्पसका लागि भने ४० प्रतिशतभन्दा बढी ‘ग्राउण्ड कभरेज’ गर्न पाइँदैन ।

अर्को, आवासीय भवनहरूमा ‘फायरस्केप भ¥याङ’ हुँदैन । बढी भीडभाड हुने विद्यालयलगायतका ठाउँमा यस्तो भ¥याङ अत्यावश्यक मानिन्छ । अनुमान गरौं, विद्यालयमा आगलागी हुँदा कौसीबाट हाम्फाल्नुप¥यो भने स–साना बालबालिकाको अवस्था कस्तो होला ?

काठमाडौं महानगरपालिकाको भौतिक योजना तथा भवन निर्माण विभाग प्रमुख रामबहादुर थापा अधिकांश निजी विद्यालय आवासीय भवनमै सञ्चालन भइरहेको र त्यसलाई रोक्न सकिने अवस्था नरहेको बताउँछन् । उनी भन्छन्, “नियन्त्रण गर्ने प्रावधान छन्, सूचना पनि जारी गरेका छौं । तर, एकाध घटना भए पो रोक्नू, यो त आम समस्या नै भइसक्यो ।”

काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी भन्छन्, “कानून बनेका छन्, तर लागू हुँदैनन् । लागू गर्न खोज्ने व्यक्ति नै लखेटिने अवस्था छ ।”

कानूनका छिद्रः उम्कने बहाना

विद्यालय सञ्चालनको अनुमति दिने र नियमित अनुगमन गर्ने जिम्मेवारीमा रहेका सरकारी निकायहरूले नै कस्तो भवनमा विद्यालय सञ्चालन हुँदैछ÷भइरहेको छ भन्ने हेक्का राखेका छैनन् । शिक्षा मन्त्रालयको ‘संस्थागत विद्यालय सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०६९’ को परिच्छेद ३ को भौतिक पूर्वाधार सम्बन्धी व्यवस्थामा उल्लेख छ– “संस्थागत विद्यालयको भवन आफ्नै स्वामित्वमा भएको वा कम्तीमा पाँच वर्षको भाडा सम्झौता भएको हुनुपर्नेछ ।” २०७२ सालको भूकम्पपछि मन्त्रालयद्वारा जारी ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२’ मा समेत यही व्यवस्थालाई निरन्तरता दिइएको छ– “विद्यालयको आफ्नो जग्गा र घर वा कम्तीमा पाँच वर्षको घर भाडाका लागि विधिवत् सम्झौता भएको हुनुपर्ने ।”

नियामक निकायहरू यही व्यवस्थालाई अघि सारेर ‘केही गर्न नसकिने’ तर्क गर्छन् । शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख नन्दलाल पौडेल भन्छन्, “पाँच वर्षलाई घर भाडामा लिएको सम्झौतापत्र पेश गरेमा नयाँ विद्यालयलाई अनुमति दिने व्यवस्था विद्यालय सञ्चालकको हितमा छ, यसले विद्यार्थीको हित र सुरक्षा हेरेको छैन ।”

तर, निर्देशिकामै उल्लिखित कक्षाकोठाको आकार, खुला ठाउँ, खेल मैदानलगायतका मापदण्ड समेत लागू हुनसकेका छैनन् । नयाँ विद्यालय सञ्चालनका लागि माग गर्दा ‘पाँच वर्षपछि आफ्नै जग्गा वा घर खरीदको योजना बनाएको र विद्यालय सञ्चालककै लगानीमा खरीदको प्रक्रिया प्रष्ट्याइएको हुनुपर्ने, निर्देशिका लागू हुँदाका बखत सञ्चालनमा रहेका विद्यालयहरूले भवनलगायतका मापदण्ड निर्देशिका लागू भएको तीन वर्षभित्र पूरा गर्नुपर्ने, तोकिएको समयावधि पूरा हुन ६ महीना अघिसम्ममा तोकिएको मापदण्ड पूरा हुने सम्भावना नदेखिएमा नियमानुसार अर्को विद्यालयसँग गाभिने वा कम्पनी बन्दको प्रक्रिया प्रारम्भ गरी शैक्षिक सत्र शुरू हुनु १५ दिनअघि गाभ्ने वा बन्द गर्ने सुनिश्चितता गर्नुपर्ने’ लगायतका निर्देशिकाका व्यवस्था पनि लागू हुनसकेका छैनन् ।

यही हेलचेक्र्याइँ र लापरबाहीको परिणाम १७ असार २०७३ मा ललितपुरको बाडेगाउँस्थित पुष्पाञ्जली बोर्डिङ स्कूलको कक्षाकोठा भत्किँदा तीन कक्षामा पढ्ने दुई जना विद्यार्थीको ज्यान गयो । पढाइ भइरहेका बेला पछाडिपट्टिको पर्खाल लडेर भवनमा ठोक्किएपछि कक्षाकोठासहितको भवन भत्कँदा ३ र ८ कक्षामा पढ्ने अरू १७ जना विद्यार्थी घाइते समेत भए । यो घटनापछि विद्यालयमा बालबालिकाको सुरक्षा, विद्यालय भवनको मापदण्ड र त्यसको अनुगमनबारे चर्चा भयो । तर, केही दिनपछि यो प्रकरण सामसुम हुनपुग्यो ।

सरकारी पनि उस्तै

शिक्षा तथा मानव स्रोत विकास केन्द्र¬का अनुसार देशभरका प्राथमिक विद्यालय (१–५ कक्षा) मा ३९ लाख ७० हजार विद्यार्थी पढ्छन् । निम्न माध्यमिक तह (६–८ कक्षा) का १८ लाख ६६ हजार विद्यार्थी समेत जोड्दा आधारभूत तह भनिने १–८ कक्षामा कुल ५८ लाख ३६ हजार विद्यार्थी पढिरहेका छन् । यीमध्ये ४८ लाख ५६ हजार विद्यार्थी सरकारी विद्यालयमा छन् ।

माध्यमिक तह (९–१० कक्षा) का ९ लाख ७० हजार विद्यार्थीमध्ये ७ लाख ७९ हजार र उच्च मावि तह (११–१२ कक्षा) का ५ लाख ८४ हजार विद्यार्थीमध्ये ४ लाख २८ हजार विद्यार्थी सरकारी विद्यालयमा पढ्छन् । अर्थात्, कुल ६० लाख ६३ हजार विद्यार्थी सरकारी विद्यालयमा पढिरहेका छन् । 

सरकारी विद्यालय भवनको अवस्था चाहिं कस्तो छ ? “हिजो आश्रम, गुरुकुलहरूबाटै शिक्षाको शुरूआत भयो, समुदायको दानदातव्यबाटै विद्यालय खुल्न शुरू गरेका हुन्” शिक्षा तथा मानव स्रोत विकास केन्द्र¬का प्रवक्ता दीपक शर्मा भन्छन्, “समुदायले बनाएका त्यस्ता विद्यालय भवन सामान्यतया नन् इन्जिनियर्ड नै हुन्छन् ।”

शर्माको भनाइले अधिकांश सरकारी विद्यालयका भवन इन्जिनियरिङ डिजाइन बेगर बनेको देखाउँछ । धेरै ठाउँमा कच्ची गारो भएका भवनमै विद्यालय चलिरहेका छन् । कतिपय विद्यालयमा सरकारले दुईकोठे पक्की भवन बनाइदिए पनि ती पर्याप्त छैनन् । शर्माका भनाइमा, शिक्षकको तलब र पाठ्यक्रमको जिम्मा लिए पनि भवनको जिम्मा अझैसम्म सरकारले लिइसकेको छैन, स्थानीय सरकार र दातृसंस्थाहरूले भवन बनाउन सहयोग गरिरहे पनि त्यो पर्याप्त छैन ।

अवस्था चाहिं कस्तो छ भने काठमाडौंका कैयौं सरकारी विद्यालयले ‘रेट्रोफिट’ गरेको भवनमा तला थप्ने अनुमति मागिरहेका छन् । “भूकम्पमा बस्न नमिल्ने गरी क्षति पुगेका र रेट्रोफिट गरेर जसोतसो सञ्चालनमा ल्याइएका भवनमा तला थपियो भने के होला ?” शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख नन्दलाल पौडेल भन्छन्, “बालबालिकाको सुरक्षामा कोही पनि संवेदनशील देखिएनन् ।”

सरकारी विद्यालयका यिनै भवनमा बाल विकास केन्द्र समेत सञ्चालन भइरहेका छन् । विद्यालय भर्ना गर्नुअघि स–साना बालबालिकालाई शिशु कक्षामा राखेर पढाउने सरकारी बाल विकास केन्द्र र निजी क्षेत्रका ‘प्रि–स्कूल’ को संख्या देशभर ३५ हजार ५१० छ, जहाँ ९ लाख ५८ हजार १२७ बालबालिका पढिरहेका छन् ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–२, शान्तिकुञ्जमा रहेको तीनतले भवनमा एक वर्ष अघिसम्म ‘ओलिभ रेस्टुरेन्ट’ सञ्चालनमा थियो । रेस्टुरेन्टका लागि बनाइएका क्याबिन र बारकै संरचनामा अहिले दीपेन्द्र नेपालद्वारा सञ्चालित ‘शिशु कल्याण मन्टेसरी’ नामको प्रि–स्कूलमा ३३ जना शिशु पढ्छन् ।

कहालीलाग्दो अवस्था

विद्यालय भवन सुरक्षित भए÷नभएको हेर्ने जिम्मेवारी शिक्षा मन्त्रालयअन्तर्गतका जिल्ला शिक्षा कार्यालयहरूबाट यही वर्ष स्थानीय तह (सरकार) मा हस्तान्तरण गरिएको छ । तर, सुरक्षाको सवाल उस्तै छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका एक अधिकारीका अनुसार २०७२ सालको भूकम्प शनिबार नभई अरू कुनै बार गएको भए जुन क्षति हुनसक्थ्यो, अवस्था अहिले पनि उही छ । उनी भन्छन्, “भूकम्प नै जानु पर्दैन, आगलागी वा अरू केही कारणले भागदौड मच्चियो भने विद्यालय भवनहरूले नै ठूलो दुर्घटना निम्त्याउन सक्छन् ।”

जस्तो कि, २०७२ सालको भूकम्पमा गोङ्गबु, काठमाडौंस्थित विष्णुमती किनारको दीपज्योति स्कूलको ६ तले भवन जगबाटै भाँचियो । १ देखि ६ कक्षासम्म पढ्ने ४०० विद्यार्थी शनिबार, विदाको दिन भएकाले मात्र जोगिए । स्कूल सञ्चालक उपेन्द्र अधिकारीले २०६४ सालमा आवासीय प्रयोजनका लागि बनाएको यो भवन विद्यालयको भार धान्न सक्ने खालको थिएन । त्यसमाथि यो भवन ‘डोल क्षेत्र’ भनिने नदी किनारको कमजोर जमीनमा बनेको थियो ।

अर्को उदाहरण– २०७२ सालकै भूकम्पमा एउटा भवन हेर्दाहेर्दै गल्र्यामगुर्लुम लडेर थुप्रो बनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । टोखा नगरपालिका–१० मा रहेको त्यो भवन मोर्गन कलेजले भाडामा लिएको थियो । इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र बीबीए पढाइ हुने यो कलेजमा ४०० भन्दा बढी विद्यार्थी पढ्थे । टोखा नगरपालिकामा रहेका कागजात केलाउँदा घरधनी विना श्रेष्ठ (केसी) ले तत्कालीन धापासी गाविसबाट २०६६ सालमा पाँच तलाको आवासीय भवनको नक्शापास गरेर बनाएको यो घर २०६८ सालमा कलेजलाई भाडामा दिएकी थिइन् ।

विद्यालय भवनहरूको यो अवस्थाले देखाएको चिन्ता एउटै छ– २०७२ सालमा जस्तो विपत्ति शनिबार नभएर अरू दिन आइदियो भने ?

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार