• २०७६ कार्तिक २८ बिहीबार

लज्जास्पद हार पछि प्रशिक्षक कोभाच बर्खास्त

बर्लिन,

बायर्न म्युनिखले आइतबार राति आफ्ना प्रशिक्षक निको कोभाचलाई बर्खास्त गरेको छ । जर्मन लिग च्याम्पियन बायर्नले फ्रांकफर्टको हातबाट ५–१ को लज्जास्पद हार बेहोरेपछि कोभाचले आफ्नो जागिर गुमाएका हुन् । 

एक दशकयता बायर्नको बुन्डेसलिगामा यो सर्वाधिक खराब नतिजा हो । क्लबले भनेको छ, ‘एफसी बायर्नले आफ्ना प्रमुख प्रशिक्षक निको कोभाचलाई उनको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।’ क्लबका अध्यक्ष उली होनेस, प्रमुख कार्ल हेन्ज रुमेनिंगा र खेल निर्देशक हसन सालिहामड्जिचसँगै कोभाचबीच बसेको बैठकले यो निर्णय गरेको हो । कोभाचकै नेतृत्वमा बायर्नले गत सिजन लिग र कप दुवै जितेको थियो ।

रुमेनिंगाले प्रतिक्रिया दिएका छन्, ‘पछिल्ला केही साता टिमको प्रदर्शन र नतिजाले केही फरक गर्नुपर्ने देखाएको छ । अहिले जे जस्तो भएको छ, त्यसमा सबैको चिन्ता छ । कोभाचले क्लबमा छँदा जे जति काम गरे, त्यसका लागि हामी उनलाई धन्यवाद दिन चाहन्छौं ।’ अर्को थप केही नभएसम्म सहायक प्रशिक्षक हान्सी फिल्कले टिमको जिम्मेवारी उठाउने छन् । क्रोएसियाका पूर्व खेलाडी ४८ वर्षीय कोभाचले आफूलाई हटाउने निर्णय ठीक भएको प्रतिक्रिया दिएका छन् । अहिले बायर्न अंकतालिकाको चौथो स्थानमा छ । उनले भने, ‘क्लब अहिले जुन स्थितिमा छ, त्यसअनुसार मलाई हटाउनु ठीक निर्णय हो । मैले पछिल्लो १८ महिना बार्यनमा बिताएँ र यसका लागि क्लबलाई धन्यवाद दिन चाहन्छु ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार