• २०७६ मङ्सिर १ आइतबार

चार्जिङ स्टेशनको महसुल प्रतियुनिट ८ रुपैयाँ ७० पैसा प्रस्ताव

नेपाल बिद्युत प्राधिकरणले चार्जिङ स्टेसनका लागि ८ रुपैयाँ ७० पैसा विद्युत् महसुल लागू गर्ने प्रस्ताव गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले सो रकम निर्धारण गरेर बिद्युत नियमन आयोगलाई पठाएको हो ।

प्राधिकरणको प्रस्ताव अध्ययन गरी आयोगले स्वीकृति गरेपछि विद्युत् महसुल लागू हुनेछ । अहिले सुन्दर यातायातले ४ ओटा विद्युतीय बस उपत्यकामा सञ्चालनमा ल्याएको छ । त्यसका लागि चार्जिङ स्टेसन निर्माण गर्न आवश्यक कानुन र विद्युत् महसुल निर्धारण हुन नसक्दा विद्युतीय सवारी सञ्चालनमा समस्या देखिएको अध्यक्ष भेष बहादुर थापाले बताए ।

उनका अनुसार कम्पनीले नै अहिले बिजुली बस चार्ज गर्न भत्केको पुलमा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । चार्जिङ स्टेसनमा सवारी चार्ज गर्दा लाग्ने विद्युत् शुल्क सरकारले निर्धारण गर्न नसक्दा विद्युतीय सवारी सञ्चालनमा बाधा पुगेको हो । प्राधिकरणले मात्रै काठमाडौँ उपत्यकामा ३० ओटा चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको छ ।

मुलुकभर झन्डै ६० ओटा चार्जिङ स्टेसन निर्माण गर्ने तयारीमा प्राधिकरण छ । यता, सरकारको पनि ३०० विद्युतीय बस सञ्चालन गर्ने योजना छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार