• २०७६ मङ्सिर २१ शनिबार

डढेलोको कारण सिड्नीमा बाक्लो धुवाँ र जोखिमयुक्त वायु प्रदूषण

अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नी वरपरका क्षेत्रमा लागेको डढेलोका कारण बाक्लो धुवाँले छोपिएको छ।रातभरी चलेको वायुले शहरको उत्तरतर्फबाट धुवाँ ल्याएपछि सिड्नीको वायु प्रदुषणको मात्रा खराब स्तरमा पुगेको अधिकारीहरूले बताएका छन्।

सामाजिक सञ्जालमा स्थानीय बासिन्दाहरूले बिहान उठ्दा धमिलो आकाश देखेको र घरमा धुवाँको गन्ध आएको लेखेका छन्।न्यू साउथ वेल्सको राजधानी सिड्नीमा करिब ५० लाख मानिसहरू बस्छन्।

न्यू साउथ वेल्सको उत्तरी क्षेत्रमा हप्तौँदेखि फैलिएको डढेलोका कारण छजना मानिसहरूको मृत्यु भइसकेको छ।

सिड्नीका बासिन्दाहरूलाई मङ्गलवार तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्न सक्ने भनिएको छ। शहरका केही भागहरूको वायुको गुणस्तर अस्ट्रेलियाले तोकेको न्यूनतमभन्दा आठ गुणासम्म धेरै भएको मापन गरिएको छ।

स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई घरभित्रै बस्न र बाहिर निस्केर शारीरिक रूपमा बल पर्ने कामहरू नगर्न सुझाव दिएको छ। न्यू साउथ वेल्सको एम्बुलेन्स सेवाले श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरूले थप सचेत हुनुपर्ने बताएको छ।

"धुवाँ अझै केही दिनसम्म रहने छ," न्यू साउथ वेल्सको ग्रामीण अग्नि सेवाले भनेको छ। गत हप्ता नजिकैका भागहरूमा डढेलो फैलिएपछि सिड्नीमा यसअघि नदेखिएको खतरा देखिएको हो।

अधिकारीहरूका अनुसार मङ्गलवारको धुवाँको स्रोत १५० किलोमिटर पर रहेको वोलेमी राष्ट्रिय निकुञ्जमा एक लाख ५० हजार हेक्टरमा फैलिएको डढेलो भएको बताएका छन्।

फैलिएको डढेको

सिड्नीको उत्तरतर्फका भागहरूमा झन्डै ५० स्थानमा डढेलो फैलिएको कारण त्यहाँ वरपरका बासिन्दाहरूले हप्तौँदेखि बाक्लो धुवाँ र खराव वायु प्रदूषणको सामना गर्नुपरेको छ। अधिकारीहरूले यो हप्ता डढेलो अझै बढ्न सक्ने बताएका छन्। उनीहरूले डढेलो छिमेकी क्वीन्सल्यान्ड राज्यमा बढ्ने तापक्रमले यसलाई अझै खतरनाक बनाउन सक्ने बताएका छन्।

साउथ अस्ट्रेलिया राज्यले भने आगोबाट 'विनाशकारी' खतरा आउन सक्ने भन्दै चेतावनी दिएको छ। त्यहाँको राजधानी एडेलेडमा बुधवारको तापक्रम ४२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। बीबीसी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार