• २०७६ मङ्सिर २५ बुधबार

बैंकको कमजोर सुरक्षा प्रणालीका कारण किर्ते गरेर बैङ्कबाट निकालियो १९ लाख ९९ हजार

गिरोहको साथमा बैङ्कको चेकदेखि एटीएमसम्म, बैङ्कका कर्मचारी पनि अनुसन्धानको घेरामा

विभिन्न बैङ्कमा खाता खोलेर अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

गत सोमबार राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजबाहकले आफ्नो खाताबाट पटक-पटक गरि १९ लाख ९ हजार रूपैंयाँ निकालेको म्यासेज मोबाइल आएको थियो । उनले पैसा नझिके पनि खाताबाट पैसा गएको घटना प्रहरीमा पुग्यो । अनुसन्धान थाल्दा गिरोह पक्राउ परेको हो।  

उनले कुनै पनि चेक कसैलाई नदिएको भन्ने सूचना प्रहरीले पाउनासाथ विशेष टोलीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरेको थियो।

गिरोहले नक्कली चेकबुक बनाएर खाताबाट पैसा झिकेको थियो। राजबाहकको खाताबाट पैसा निकाल्न पुनः चेक बोकेर एकजना व्यक्ति जनता बैंकको न्युरोड शाखामा आएको सूचना प्राप्त हुनासाथ नियन्त्रणमा लिइएको थियो। 

उनी पक्राउ परेपछि अन्य केहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूबाट १८ लाख ५० हजार नगद, विभिन्न बैंकहरूका ठूलो परिमाणमा चेकबुक र खाता खोल्न तयार फारमहरू बरामद भएका छन् । 

प्रहरीका अनुसार, एनआइसी एसिया बैंकको भिजा कार्ड, विभिन्न व्यक्तिहरूको नागरिकताको फोटोकपी, प्रयोग भएका सिग्नेचरका नक्कलहरू बरामब गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौमा राखेर उनीहरुलाई बैंकिंङ कसुर सम्बन्धी अपराधमा मुद्दा चलाउन सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेमा सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरे छन्। 

उनीहरूबाट बिभिन्न व्यक्तिहरूको नागरिकताको २ सय ९० वटा प्रतिलिपि, विभिन्न व्यक्तिहरूका नाम र रकम उल्लेख गरिएको २६ वटा रजिष्टर, विभिन्न प्रकार हस्ताक्षर नमूना र बिभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको दुइवटा डायरी पनि बरामद भएको छ। 

विभिन्न व्यक्तिको खाता खोल्न फोटो टाँसेको तीन सयवटा तयारी फारम पनि फेला परेको छ। १ सय ९५ जनाको विभिन्न बैंकका स्टेटमेन्ट र जनता बैंकबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको १६ वटा चेकबुक १६ थान पनि फेला परेको छ।

यसैगरी काटिएको अवस्थाको ४१ पाना चेकबुक, ज्योति विकास बैंकबाट अन्जन बरालको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक पनि फेला परेको छ।

यसैगरी एभरेष्ट बैंकबाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको २० वटा चेकबुक र काटिएको अवस्थाको चेकबुकका पाना पनि फेला परेको छ। 

माछापुच्छ्रे बैंकबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अबस्थाको १७ वटा चेकबुक र काटिएको अवस्थाको दुइवटा चेकबुक  फेला परेको छ। मुक्तिनाथ विकास बैंकबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको काटिएको अवस्थाको ४१ वटा चेकबुक र नकाटिएको चेकबुक पनि फेला परेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार