• २०७६ मङ्सिर २५ बुधबार

कहालीलाग्दो हिंसा : संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि सुरक्षित छैनन महिला

कानूनको फितलो कार्यान्वयनका कारण दण्डहीनता बढ्दो

प्रदेश–२ का आठ जिल्लामा पछिल्लो तीन वर्षमा महिलामाथि घर–परिवार भित्र र बाहिर हुने हिंसा अचाक्ली बढेको छ ।  विगतमा महिलामाथि हिंसा हुँदा परिवारभित्रै लुकाउने गरिन्थ्यो भने अहिले प्रहरी र अधिकारकर्मीसम्मको पहुँचमा महिला हिंसा पुग्न थालेको छ । पीडित महिलाहरू आफूमाथि भएको अन्याय लुकाएर बस्न छाडेका छन् । “प्रायः अपराधीले मादक पदार्थ वा लागूऔषध सेवन गरेर बलात्कार गर्ने गरेको देखिन्छ” झा भन्छिन्, “लागूऔषध सेवन गर्ने प्रवृत्ति र गाउँमा छ्याप्छ्याप्ती मदिरा पसल सञ्चालनमा रहेकाले पनि यस्ता घटना बढेका छन् ।” बिडम्बना यस्ता घटनाबाट संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि त्यहाँका महिला सुरक्षित हुनसकेका छैनन् ।

 

भँगहा नगरपालिका–२ महोत्तरीकी रीतादेवी यादवले श्रीमान्, ससुरा, जेठाजु, देवर लगायतले खान–लाउन नदिएको, विना कारण मानसिक यातना दिएर घरबाट निकालेको भनेर उजुरी गरिन् । २०७२ सालमा सामाजिक परम्परा अनुसार उनको विवाह भएको थियो । उनको साढे दुई वर्षको छोरा छन् ।

 

Fireplace Light
Infogram

जिल्ला प्रहरी कार्यालय, धनुषाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) मा रीतादेवीले १८ भदौ २०७६ मा लिखित उजुरी दिएकी छिन् । उजुरीमा भनिएको छ, “घरका सबै जना मिलेर मानसिक यातना, हातपात र कुटपिट गरेर घरबाटै निकाल्ने काम गरेकाले कानून बमोजिम कारबाही गरी निसाफ दिलाइपाऊँ ।”

श्रीमान्ले घरबाट निकालेपछि उनी सिरहाको चिकना—५ स्थित माइतमा बस्न थालिन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी निरीक्षक अशोककुमार झाका भनाइमा उजुरीपछि रीतादेवीका श्रीमान् फरार छन् । तर प्रहरीले ‘दुवै पक्षलाई मिलापत्र गराएर घर फर्काएको’ बताएको छ ।

जनकपुर उपमहानगरपालिका–२४ की भारती कर्णले श्रीमान्ले अरू नै महिलासँग सम्बन्ध राखेको दाबी गरेर २६ भदौ २०७६ मा जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिइन् । आफूसँग विवाह गरेर अरू नै महिलासँग अलग्गै बस्न थालेका प्रमोदलालले बिरामी हुँदा उपचार खर्च समेत नदिएको भारतीको आरोप छ ।

२५ वर्षअघि सामाजिक परम्परा अनुसार बिहे गरेका भारती र प्रमोदका २० वर्षीय छोरा तथा १७ र १२ वर्षका छोरी छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाको महिला सेलमा कार्यरत प्रहरी निरीक्षक झा भन्छन्, “निवेदनउपर बुझेर कारबाही अघि बढाउन स्थानीय प्रहरी चौकीमा पठाएका छौं ।”

जिल्ला प्रहरी कार्यालय, धनुषाले मातहतको प्रहरी चौकी जिरोमाइललाई २६ भदौमै सक्कल फाइल साथ आवश्यक छलफलका लागि पठाएको भए पनि हालसम्म कुनै कारबाही हुनसकेको छैन । चौकीका प्रहरी सहायक निरीक्षक अरुणकुमार महतो हालसम्म उक्त निवेदन उपर कुनै सुनुवाइ नभएको बताउँछन् ।

“पीडित महिलाको निवेदन अनुसार पीडक पक्षलाई उपस्थित हुन पत्राचार गरेका छौं” प्रहरी सहायक निरीक्षक महतोले भने, “दुवै पक्षलाई झिकाई छलफल गरेर पीडित पक्षलाई न्यायोचित सहमति गराएर मिलापत्र गराउने हामी कोशिश गर्नेछौं ।” प्रहरीले आफ्नो उजुरीमाथि चासो नलिएको भारतीको भनाइ छ । 

श्रीमान् श्याम महराले आफूलाई कुटपिट गरेको र बाहिर अरू नै महिलासँग सम्बन्ध राखेको भन्दै धनुषाकै शहीदनगर नगरपालिका–२ की रीनादेवी महराले २२ भदौ २०७६ मा श्रीमान् विरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषाको महिला सेलमा उजुरी गरेकी छिन् । उनको चार वर्षअघि श्यामसँग बिहे भएको थियो । अहिले उनी गर्भवती छिन् । काखमा साढे दुई वर्षका छोरा छन् ।

गर्भवती रीनादेवीलाई १७ भदौमा श्यामले बेहोश हुने गरी कुटेर प्रादेशिक अस्पताल जनकपुर लगेर अलपत्र छाडेका थिए । महिला सेल इन्चार्ज प्रहरी निरीक्षक झाका अनुसार रीनादेवीका ससुरा भोला महराले अस्पतालको उपचार खर्च बेहोरेर बुहारीलाई २९ भदौ २०७६ मा कागज गरेर घर लगेका थिए । प्रसूति व्यथाले च्यापेपछि सासू र ससुराले रीनालाई २४ कात्तिक २०७६ मा जनकपुरधाम उपमहानगरपालिका–८ स्थित गोदावरी मोर्डन हस्पिटलमा भर्ना गराए । अस्पतालका व्यवस्थापक सुशीलकुमार साहका अनुसार, रीनाका अभिभावक बनेका सासु ससुराले भर्ना गराउने वेला रु.५ हजार पेश्की रकम जम्मा पनि गरेका थिए ।

ग्राफीक्स : इन्द्र श्रेष्ठ

“सोही दिन उनको शल्यक्रिया गरेर छोरो जन्मियो तर नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो नदेखिएकोले शिशुलाई एनआईसीयुमा भर्ना गरियो” अस्पताल व्यवस्थापक साहले भने, “आमा र शिशु दुवैको अवस्था ठीक भएर २९ कात्तिकमा नै अस्पतालले डिस्चार्ज गरिसकेको छ ।”

तर, पैसा लिएर आउँछु भनेर भर्ना भएकै दिन गाउँ गएका रीनाका सासू र ससुरा अस्पतालमा नफर्किंदा डिस्चार्ज भएर पनि उनीहरू ३ मंसीरसम्म अस्पतालमै छन् । साहका अनुसार आमाको उपचार वापत रु.३८ हजार २५०, नवजात शिशुको उपचार वापत रु.१४ हजार ५५० र औषधि वापत रु.९ हजार गरी कुल रु.६१ हजार ८०० अस्पतालमा बुझाउन बाँकी छ ।

जनकपुर उपमहानगरपालिका–३, देवानपोखरीस्थित उषादेवी दासलाई उनका श्रीमान् सन्तोष दासले विवाहमा दाइजो नल्याएको निहुँमा कुटपिट गरेर घरनिकाला गरेको प्रहरी समक्ष उजुरी परेको छ । श्रीमान् र सासू बेचनीदेवी मिलेर आफूलाई घर निकाला गरेको दावी सहित उषादेवीले १५ भदौ २०७५ मा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेकी थिइन् ।

उषाको तीन वर्षअघि सन्तोषसँग परम्परागत शैलीमा विवाह भएको थियो । दुई वर्षअघि छोरी जन्मिएपछि श्रीमान् र सासूले यातना दिएको, सुत्केरी अवस्थामा स्याहारको सट्टा अत्याचार गरेको र कसैको सहारा नपाएको उषाको उजुरीमा उल्लेख छ । घरनिकाला गरिएपछि उनी माइतीको शरणमा छिन् ।

२७ जेठ २०७६ मा प्रहरीले दुवै पक्षलाई बोलाएर ‘आइन्दा उषामाथि अत्याचार नगर्ने’ शर्तको कागज गरेर पठाएको छ । तर, घर फर्केपछि फेरि यातना शुरू भएको भनेर उषादेवीले ५ असोज २०७६ मा जिल्ला प्रहरी कार्यालय, धनुषामा घरेलु हिंसाको अर्को उजुरी दिएकी छिन् ।

उषादेवीको दोस्रो उजुरी विरुद्ध सासू बेचनीदेवीले २०७६ असोज दोस्रो साता जिल्ला अदालत, धनुषामा प्रहरीको नाउँमा निषेधाज्ञा माग गरेर निवेदन दिइन् । अदालतले तत्काल बेचनीदेवी दास माथि कुनै पनि कारबाही नगर्न स्टे अर्डर जारी गरेकोले त्यसपछि उक्त विषयमा आफूहरूले छानबिन अगाडि नबढाएको प्रहरी निरीक्षक झाले बताए ।

घर बाहिर झन् असुरक्षित

घरभित्र मात्र होइन घरबाहिर पनि महिलामाथि उस्तै हिंसा हुने गरेको विवरणबाट देखिन्छ । १२ असार २०७६ मा सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित आँखा अस्पताल केन्द्रका प्रमुख दीपेन्द्रकुमार रजककी श्रीमती सुप्रिया भारती (२७) लाई अस्पतालकै कार्यालय सहयोगी अमितकुमार बैठाले हत्या गरे ।

महिला हिँसा सम्बन्धि जनचेतना कार्यक्रम ।

अस्पतालको दोस्रो तलामा रहेकी भारतीलाई टाउकोमा हथौडाले हानेर हत्या गर्दा बैठाले चार वर्षीय छोरा दिवसलाई समेत हथौडाले हानेर घाइते बनाएका थिए । व्यक्तिगत रिसइबीका कारण यो घटना भएको प्रहरीको भनाइ छ । घटनापछि जिल्ला प्रहरी कार्यालय, सर्लाहीले बैठालाई पक्राउ गरी ज्यान मुद्दा चलाएको छ । अदालतको आदेशमा बैठा अहिले थुनामा छन् ।

१० असार २०७६ मा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, सडेपारकी फेकनीदेवी (५५) लाई छिमेकीले कुटेर घाइते बनाए । उनलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल र विराटनगरको गोल्डेन अस्पताल लगियो । प्रदेश–२ प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी ज्ञानकुमार महतोका अनुसार, कुटपिट गर्ने श्याम रामलाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।

१२ असार २०७६ तिलाठी कोइलाडी गाउँपालिका–८, तोपा टोलकी लीलादेवी यादव र उनकी भाउजू धुनादेवी यादवलाई छिमेकीले कुटपिट गरी घाइते बनाए । ४५ वर्षीय बलराम यादव, उनका छोराहरू रमेश र संजयले पुरानो रिसइबीलाई लिएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

१० भदौ २०७५ मा महोत्तरीको औरही नगरपालिकामा आठ महिने नाबालिकाको बलात्कारपछि हत्या गरियो । महोत्तरीकै भँगहा नगरपालिका—६, जमुनियाका भरत साहले अपहरणपछि नाबालिकाको बलात्कार र हत्या गरेका थिए । साह महोत्तरी जिल्ला अदालतको आदेशपछि कारागार चलान भएका छन् ।

धनुषाको शहीदनगर नगरपालिका—१, चिरैया टोलका १८ वर्षीय मुकेश गोइतले ५ वैशाख २०७६ मा श्रीमती निर्मलादेवीलाई जलाएर मारे । भाउजू श्यामादेवी यादवसँगको सम्बन्ध थाहा पाएपछि मुकेशले निर्मलालाई मट्टीतेल खन्याएर आगो लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । काठमाडौंको कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचारका क्रममा उनको १६ वैशाखमा मृत्यु भयो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार, उक्त घटनाका दुवै जना प्रतिवादीहरू  श्यामादेवी र मुकेशलाई पक्राउ गरी ज्यान मुद्दा चलाइएको छ । “अनुसन्धानको कार्य सम्पन्न गरेर धनुषा जिल्ला अदालतमा बुझायौं” एसपी खनालले भने, “जिल्ला अदालतले उनीहरू दुवै जनालाई महोत्तरीको जलेश्वर कारागारमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको छ । अहिले दुवै जेलमा छन् ।”

सिरहाको कर्जन्हा नगरपालिका—११, हटलेटवा टोलका चन्देश्वर खेरवार यादवले तपेश्वर खेरवार यादव, मन्जुदेवी यादव र धर्मेश्वर खेरवार यादवसँग मिलेर ७ जेठ २०७६ मा श्रीमती रीतुदेवी यादवको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यादव अहिले जिल्ला अदालत सिरहाको आदेशले थुनामा छन् ।

सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका—३ की १९ वर्षीया गर्भवती रन्जु यादवको ५ साउन २०७६ को राति सासू लीलादेवी यादव र ससुरा महेन्द्र यादवले हत्या गरे । हत्या हुँदा उनको काखमा १० महीनाकी छोरी थिइन् । हत्यापछि पक्राउ परेका लीलादेवी र महेन्द्र यादव जिल्ला कारागार राजविराजमा थुनामा छन् ।

प्रदेश—२ प्रहरी कार्यालयका प्रमुख, डीआईजी प्रद्युम्न कार्की घटना भएपछि प्रहरीमा उजुरी दर्ता गर्ने चेतना बढेकाले अपराधको संख्या दर्ताको क्रम बढेको बताउँछन् । कार्की भन्छन्, “पहिले बलात्कार जस्ता घटना पनि घरपरिवारमै मिलाउने प्रयास हुन्थ्यो । अहिले कुनै पनि हिंसाका उजुरी हामीसम्म आइपुग्छन् । त्यसले संख्या बढ्ने नै भयो ।”

महिलामाथिको घरभित्र र बाहिर हुने हिंसा कतिसम्म भयावह छ भन्ने एउटा उदाहरण जनकपुरस्थित गैरसरकारी संस्था महिला पुनस्र्थापना केन्द्र (ओरेक) हो, जहाँ १९ जनवरीदेखि १९ जूनसम्मको ५ महीनामा घरबाट निकालिएका र हिंसामा परेर विस्थापित भएका ५० महिलालाई सुरक्षित आवासगृहमा राखिएको छ । बेघर पारिएका उनीहरूमध्ये १५  महिलाका बालबच्चा समेत आमासँगै हिंसाको शिकार भएर त्यहाँ आश्रय लिएका छन् ।

झस्काउने आँकडा

प्रदेश–२ प्रहरी कार्यालय, जनकपुरका अनुसार आर्थिक वर्ष २०७३/७४ मा प्रदेश–२ का आठ जिल्लामा महिला हिंसाका ३०९ उजुरी दर्ता भएका थिए, जसमध्ये घरेलु हिंसाका ८ वटा मात्रै थिए । २०७४/७५ मा भने आठ जिल्लामा दर्ता भएका महिला हिंसाको ४ हजार ५१९ उजुरीमध्ये ३ हजार ६८५ उजुरी घरेलु हिंसाका छन् ।

२०७५/७६ मा दर्ता भएका महिला हिंसाका ५ हजार ४१५ उजुरीमध्ये घरेलु हिंसाका उजुरी ४ हजार ६७१ वटा छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो भन्छन्, “तथ्यांकले प्रदेश–२ महिलाका लागि ज्यादै खतरनाक र जोखिमपूर्ण बनेको देखिन्छ । महिलाहरू घरभित्र र घरबाहिर असुरक्षित बन्दै गएको देखिन्छ ।” प्रहरी नायव उपरीक्षक महतो भन्छन्, “महिला हिंसा रोक्न सबै सक्रिय बन्नुपर्ने खाँचो देखिन्छ ।”

प्रदेश–२ प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा प्रदेशभर १२५ महिलाको हत्या भएको छ । यस्तै पछिल्लो तीन वर्षमा ५८२ बलात्कार र २८७ बलात्कार प्रयासका जाहेरी दर्ता भएका छन् । २०७३/७४ मा प्रदेशभर ११६ बलात्कार र ७३ वटा बलात्कार प्रयासका घटना भएका थिए । २०७४/७५ मा बलात्कारका १७० र बलात्कार प्रयासका ११४ घटना भएको प्रहरीको आँकडाले देखाउँछ । २०७५/७६ मा बलात्कारका २९६ र बलात्कार प्रयासका १०० उजुरी दर्ता भए । 

‘दाइजो र बालविवाह’

अधिवक्ता रेखा झाको बुझाइमा विगतमा महिलामाथि हिंसा हुँदा परिवारभित्रै लुकाउने गरिन्थ्यो भने अहिले प्रहरी र अधिकारकर्मीसम्मको पहुँचमा महिला हिंसा पुग्न थालेको छ । पीडित महिलाहरू आफूमाथि भएको अन्याय लुकाएर बस्न छाडेका छन् । “प्रायः अपराधीले मादक पदार्थ वा लागूऔषध सेवन गरेर बलात्कार गर्ने गरेको देखिन्छ” झा भन्छिन्, “लागूऔषध सेवन गर्ने प्रवृत्ति र गाउँमा छ्याप्छ्याप्ती मदिरा पसल सञ्चालनमा रहेकाले पनि यस्ता घटना बढेका छन् ।”

जिप्रका धनुषाको महिला सेलमा उजुरी दिन आएका महिला ।

राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश कार्यालय, जनकपुरमा कार्यरत रेखा दत्त प्रदेश–२ मा हुने महिला हिंसाको मुख्य कारण दाइजो, बालविवाह र चेतनाको कमी रहेको बताउँछिन् । “सामाजिक संजालको दुरुपयोगले पनि महिला हिंसा बढेको छ” उनले भनिन्, “कानून त बनेको छ तर फितलो कार्यान्वयनका कारण दण्डहीनता बढेको छ ।”

कतिपय घटनामा राजनीतिक दबाब र हस्तक्षेपका कारण पीडितले न्याय नपाउँदा समाजमा पीडकहरूको मनोबल बढेको, त्यसले हिंसा बढाउन सघाएको उनको निष्कर्ष छ । जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रीतादेवी मिश्रका अनुसार धेरै महिला साँच्चिकै पीडित हुने, कतिपय घटनामा भने महिलाबाट पुरुष पनि पीडित रहेको बताउँछिन् । न्यायिक समितिमा श्रीमतीबाट पीडित पुरुषहरू पनि सम्बन्धविच्छेदको उजुरी लिएर आउने गरेको उनले सुनाइन् ।

पहिले महिलाले मात्र सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सक्ने कानूनी व्यवस्था थियो । नयाँ कानूनी व्यवस्था अनुसार पुरुषले पनि सम्बन्धविच्छेद दाबी गर्न सक्छन् । धनुषा जिल्ला अदालतका श्रेस्तेदार यज्ञप्रसाद आचार्य यो व्यवस्थाले पनि पुरुषबाट महिलामाथिको हिंसा बढेको ठान्छन् । “मुलुकी फौजदारी संहिता अनुसार पुरुषले पनि महिलासरह अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउँछन्” आचार्यले भने, “विगतमा हिंसा गर्न पुरुषहरूमा एक किसिमको डर थियो, अब त्यो पनि रहेन ।”

सामाजिक सञ्जालको बढ्दो प्रयोगबाट महिला नै पीडित बनिरहेको आचार्यको तर्क छ । मधेशका जिल्लामा महिला हिंसा बढ्नुको अर्को कारण अनमेल विवाह हो । गरीब छोरीलाई धेरै दाइजो दिएर धनीसँग बिहे गरिदिने लोभ यहाँ अहिले पनि अचाक्ली छ । थोरै पढेकी छोरीलाई बढी दाइजो दिएर धेरै पढेका वा सम्पन्न केटासँग बिहे गरिदिन पाए हुन्थ्यो भन्ने चाहना भएका अभिभावक थुप्रै छन् । समान हैसियत वा उमेर समान नहुनु दाम्पत्य जीवन सुखद् नहुनुको अर्को कारण हो, जसले परिवारमा बेमेलदेखि हिंसा समेत निम्त्याइरहेको आचार्य बताउँछन् ।

अहिले संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि छन् । तिनै तहका सरकारले महिला हिंसा उन्मूलन आफ्नो प्राथमिक कार्यसूची भएको दाबी गर्ने गरेका छन् । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले त आफ्नो सरकारको चमकधमकपूर्ण कार्यक्रमका रूपमा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान घोषणा गरेका थिए ।

त्यो अभियानले मध्य तराईमा महिला हिंसा घटाउन अहिलेसम्म कुनै भूमिका निर्वाह गरेको आभास हुनसकेको छैन । उक्त कार्यक्रम मुख्यतः छोरीहरूलाई शिक्षामा उत्प्रेरित गर्न सञ्चालन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी पदमप्रसाद पोखरेल बताउँछन् । “बालविवाह रोक्न र पढाइमा उत्प्रेरित गर्न अभियान सञ्चालन गरिएको हो” पोखरेलले भने, “यही अभियानसँग जोडेर बेटी सुरक्षामा पनि काम भइरहेको छ ।”

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय चाहिं प्रदेशभित्रका सामुदायिक विद्यालयका छात्रालाई आत्मरक्षा सम्बन्धी तालिम दिंदैछ । सामाजिक विकास मन्त्री नवलकिशोर साहका अनुसार बालबालिकामाथि हुने दुव्र्यवहार, हिंसा, बलात्कार लगायतका घटनाबाट जोगिन सामुदायिक विद्यालयका छात्राहरूलाई गत वर्षदेखि आत्मरक्षा तालिम दिन शुरू गरिएको बताउँछन् । साह भन्छन्, “विद्यालयहरूले तालिम प्रभावकारी भएकाले निरन्तरता दिन पत्राचार गरेपछि यस वर्ष पनि निरन्तरता दिएका छौं ।”

मन्त्रालयले गत वर्ष रु.१ करोड १० लाख खर्च गरेर प्रदेशका आठवटै जिल्लाका ६४ सामुदायिक विद्यालयमा छात्रालाई आत्मरक्षा तालिम दिएको थियो । यस बाहेक महिलामाथि भइरहेका हिंसा र अपराध न्यूनीकरणका लागि सरकारको तर्फबाट कुनै पहल गरेको देखिंदैन । प्रदेश स्तरमा महिला हिंसा रोकथाम तथा न्यूनीकरण गर्ने विषयगत मन्त्रालय हो, आन्तरिक मामिला तथा कानून मन्त्रालय । तर त्यो मन्त्रालयले अहिलेसम्म प्रदेशमा बढ्दै गएको महिला हिंसा रोक्न कुनै ठोस कार्ययोजना बनाएको देखिन्न । मन्त्रालयकी शाखा अधिकृत नितु दुवेका अनुसार, गएको वर्ष महिला अधिकार बारे जनचेतना जगाउन मन्त्रालयले प्रदेशका केही जिल्लाहरूमा सडक नाटक आयोजना गरेको थियो । दुवेको कथन छ, “अब चाहिं दाइजोलाई केन्द्रित गरेर ‘सुरक्षित बेटी अभियान’ का लागि अवधारणा बनाउन मन्त्रालय केन्द्रित भएको छ ।”

तर प्रदेशको कानून मन्त्रालयले चाहिं यस बारेमा चासो दिन थालेको देखिन्छ । प्रदेश–२ को कहालीलाग्दो लैंगिक हिंसा कम गर्न लैंगिक तथा घरेलु हिंसा नियन्त्रण सम्बन्धी विधेयकको मस्यौदा गरिरहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत सुरेन्द्र महतो बताउँछन् ।

(प्रदेश प्रहरी कार्यालयले महिला हिंसामा बलात्कार, बलात्कार प्रयास, बहुविवाह, बालविवाह, बोक्सीको आरोप, मानव बेचबिखन, अवैध गर्भपतन, छुवाछूत, अप्राकृतिक मैथुन, घरेलु हिंसा, बाल यौन दुराचार, महिला हत्या–आत्महत्या, अपहरण आदिलाई समेटेको छ ।)

 

खोज पत्रकारिता केन्द्र

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार