• २०७६ मङ्सिर २५ बुधबार

राष्ट्रपति महिला उत्थान कार्यक्रमको प्रभावकारितामा प्रश्नः ताप्लुेजुङमा एक वर्षमै ८ सुत्केरी आमाको ज्यान गयो

घरमै सुत्केरी हुँदा आमा र शिशु दुवै उच्च जोखिममा

घरमै सुत्केरी गराउँदा अत्यधिक रक्तस्राव भएर ताप्लेजुङमा पछिल्लो तीन वर्षमा १६ जना सुत्केरीको ज्यान गएको छ । स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधि र राज्यका निकाय भन्छन्, “हामीलाई थाहै भएन ।”

 

मैवाखोला गाउँपालिका–५ काम्साङकी  पेम्बाल्हामु शेर्पा

» ‘सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या भई जीवन गुमाउने आमाहरू सम्बन्धी विवरण बुझ्न ४ मंसीर २०७६ दिउँसो मैवाखोला गाउँपालिका–५ काम्साङ गाउँ पुग्दा पेम्बाल्हामु शेर्पा आफ्नो घरको पिंढीमा बसिरहेकी थिइन् । आँगनमा कोदो सुकाइएको थियो । छेउमा कुखुराको सानो खोर थियो । बारीमा दुईवटा बाख्रा बाँधिएका थिए । अझै घाँस–चारो गर्न सक्नुहुन्छ आमा ? भनेर प्रश्न गर्दा पेम्बाले प्रतिप्रश्न गरिन्, “नसके कसले गरिदिन्छ र ? कालले बुहारी र नातिनी लगिगो ।”

बुहारी र नातिनी कालले लगेको उनको कथा मर्मस्पर्शी छ । मैवाखोला गाउँपालिका–५ काम्साङकी ९१ वर्षीया पेम्बा शेर्पा आफ्ना बुहारी र नातिनीको वियोग–व्यथा सुनाउँदा पटक—पटक भक्कानिइन् । देब्रे हातले आँसु पुछ्दै सुनाइन्, “बुहारी र नातिनीको लास यही मझेरीबाट विदा गर्न लेखेको रहेछ ।”

२१ वर्षअघि, १५ पुस २०५५, बिहान सबेरै उनकी बुहारी लाक्पा ओङ्मु शेर्पाले कान्छी छोरी जन्माएकी थिइन् । दुर्भाग्य, त्यसको आधा घण्टामै उनले संसार छाडिन् । पेम्बा भन्छिन्, “बच्चा जन्मिएपछि रगत थामिएन । साथी पनि खसेन । सुतेकै ठाउँमा रगतको आहाल भयो । मैले मन थामेर नातिनीलाई काखमा राखें । बुहारीको सद्गति गरियो । टुहुरी नातिनीलाई मेरै लाम्टा चुसाएर बचाएँ ।” घरबाट स्कूल टाढा भएकाले उनले नातिनीलाई पढाउन सकिनन् । “दुई वर्षअघि उसको बाबु पनि वित्यो”, उनले सुनाइन् ।

पेम्बाको वियोगान्त कथा यतिमै सकिएन । हुर्किएकी ती नातिनी पेम्बाजाङ्मु शेर्पा २०७५ मंसीरमा माइत आइन् । उनी गर्भवती थिइन् । २३ मंसीर २०७५ बेलुका हजुरआमाले पकाएको भात खाएर सुतेकी उनी फेरि उठिनन् । हजुरआमा पेम्बाल्हामु भन्छिन्, “राति नै नानी जन्माइछ, बिहान उठेर मैले हेर्दा आमा–बच्चा दुवै मरिसकेका थिए ।” मुजा परेको अनुहारले लामो सास तानेर पेम्बाल्हामुले भनिन्, “सुत्केरी व्यथाले बुहारी र नातिनी दुवैलाई यही घरमा गुमाएँ ।”

२१ वर्षअघि आमाले पनि सुत्केरी हुँदाको सकसबाट मृत्युवरण गरेकी थिइन् तर जसोतसो दुःख गरेर पेम्बाजाङ्मुलाई हजुरआमाले बचाइन् । तर २१ वर्षपछि पेम्बाजाङ्मुले पनि नवजात शिशु सहित त्यही घरमा ज्यान गुमाइन् । व्यवस्था बदलियो, समय बदलियो, तर मौवाखोलाको यस घरमा सुत्केरी हुन नसकेर ज्याउन गुमाउनुपर्ने नियति भने बदलिएको छैन ।

पेम्बाका छिमेकी साङ्बु शेर्पाले घरको पिंढीमा बसेर ४ मंसीर २०७६ दिउँसो भने, “अहिले उहाँको साथी यही बिरालो मात्रै हो । पेम्बाजाङ्मु सुत्केरी हुन नसकेर वितेको मैले त भोलिपल्ट बिहान मात्रै थाहा पाएँ । हाम्रो अवस्था यस्तो छ ।”

यो गाउँमा स्वास्थ्य चौकी छैन । दुई घण्टासम्म हिंडेर छिमेकी गाउँ जानुपर्छ । पेम्बा जाङ्मुको विवाह २०७४ मा आठराई त्रिवेणी गाउँपालिका–५ का मिङ्मारिङ्जेन शेर्पासँग भएको थियो । श्रीमान्को आर्थिक अवस्था कमजोर भएका कारण पेम्बाजाङ्मु गर्भवती भएपछि हजुरआमासित माइतीघरमा बसेकी थिइन् । २० वर्षीया पेम्बाजाङ्मुले गर्भवती भएपछि एकपटक पनि स्वास्थ्य जाँच गराएकी थिइनन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तयार गरेको विपत्तिमा परेका गर्भवती महिलाको हवाई उद्धार सम्बन्धी कार्यविधि २०७५ अनुसार त्यस्ता महिलाको उद्धार गरी गुणस्तरीय सेवा दिन केन्द्रमा एउटा र स्थानीय तहमा गाउँ वा नगरपालिकाको अध्यक्षको संयोजकत्वमा अर्को समिति गठन गरेको छ ।

तर, स्थानीय सिफारिश समितिलाई नै गर्भवती महिला समस्यामा परेमा उद्धारका लागि सिफारिश गर्नुपर्छ भन्ने थाहा नभएको पाइयो । पेम्बाजाङ्मुको मरणबारे आफूलाई कुनै जानकारी नभएको गाउँपालिका अध्यक्ष राजन थत्लुङले बताए । उनले भने “घटना भएको यत्रो समय भएछ, मलाई कसैले भनेको थिएन । तपाईंले भन्दा मात्रै थाहा पाएँ ।”

» सदरमुकामकै फुङलिङ नगरपालिका–१० फुरुम्बुकी ३२ वर्षीया कविता लिम्बू २२ माघ २०७५ मा घरमै सुत्केरी भइन् । बिहान ३ बजे बच्चा जन्माएकी कविताको साल झरेन । अत्यधिक रक्तस्राव भयो । सोही कारणले दुई घण्टापछि उनको मृत्यु भयो । फुरुम्बु स्वास्थ्य चौकीका अहेव देउमान गुरुङका अनुसार उनलाई अघिल्लो दिनबाटै व्यथाले च्यापेको थियो । “परिवारका मान्छेले अस्पताल लैजानु पर्दैन भनेछन्, त्यसैले उनको सुत्केरी व्यथा २४ घण्टा लामो भएछ” गुरुङले भने, “हामीले खबरै पाएनौं ।”

कविताको पहिलो बच्चा १२ वर्षको छ । उनको घरबाट आधा घण्टा पैदल हिंडेपछि स्वास्थ्य चौकी र एक घण्टा गाडी चढेर जिल्ला अस्पताल पुग्न सकिन्छ ।

कविता गर्भवती भएको चार महीनामा एकपटक स्वास्थ्य चौकी आएको अहेव गुरुङले बताए । त्यसपछि छैटौं, आठौं र नवौं महीनामा परीक्षण समेत गरिनन् उनले । आइरन चक्की र मातृ सुरक्षा चक्की सेवन गर्ने त कुरै भएन । उनले पहिलो बच्चा पनि घरमै जन्माएकी थिइन् । अस्पताल जानुपर्छ भनेर सम्झाउँदा नमानेको महिला स्वास्थ्य स्वयम्सेविका गंगामाया लिम्बुले बताइन् । “खस्नु (मृत्यु हुनु) भन्दा दुई दिन अगाडि भेटेर सम्झाएँ, बरु मर्छु अस्पताल जान्न भन्नुभयो”, उनले भनिन् । 

परिवारकै लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको वडाध्यक्ष गमबहादुर लिम्बुको राय छ । कविताका पति मकरका अनुसार उनलाई समय अगावै व्यथा लागेको थियो । मकर भन्छन्, “व्यथा लागेपछि अस्पताल लैजान तयारी गरें, तर मान्दै मानिनन्, लेखान्तै यस्तो रहेछ, के गर्नु ?”

गाउँमा अझै पनि स्वास्थ्य चेतनाको अभाव रहेको वडाध्यक्ष लिम्बुको भनाइ छ । “हाम्रो अरू धेरै काम हुन्छ, त्यही मात्रै हेरेर बस्ने फुर्सद हुँदैन” लिम्बुले भने, “गाउँलेले कुरै बुझ्दैनन् ।” धेरैको आर्थिक अवस्था कमजोर रहेको र खर्च धेरै लाग्छ भन्ने डरले नै स्वास्थ्य संस्थामा जान नमान्ने उनको दावी छ ।

» मेरिङ्देन गाउँपालिका–६ नाल्वुकी १६ वर्षीया अनिशा शेर्पालाई १९ मंसीर २०७५ मा सुत्केरी व्यथा लाग्यो । घरको मझेरीमा दुई दिनसम्म छट्पटाइन् । बच्चा जन्मिएन । तेस्रो दिन बेलुका दुई घण्टा टाढा रहेको स्वास्थ्य चौकीमा खबर आयो । राति १० बजे बिरामीको घरमा पुगेका स्वास्थ्यकर्मीले बिरामीको अवस्था नाजुक देखेपछि जिल्ला अस्पतालमा लैजान सुझाए । “म राति गएर हेर्दा बिरामी धेरै सिरियस भइसक्नुभएको थियो” स्वास्थ्य चौकी प्रमुख पिङ्की यादवले भनिन्, “आफन्तले सामान्य हो भन्दै मानेनन्, ससुराले तीन दिनसम्म व्यथा लाग्छ अनि आफैं जन्मन्छ भन्नुभयो ।”

स्ट्रेचर र एम्बुलेन्स समेतको प्रबन्ध आफैंले मिलाइदिंदा पनि आफन्त अस्पताल लैजान तयार नभएको यादवको भनाइ छ । राति २ बजे बच्चा जन्माइन् । त्यसको दुई घण्टासम्म साल खसेन । रगत  धेरै बगेपछि उनको मृत्यु भयो । “आफन्त नमानेपछि हाम्रो केही लागेन”, रातभर कुरुवा बनेका अहेव नविन तामाङले भने । गाउँपालिका उपप्रमुख कल्पना तुम्बाहाम्फेले भनिन्, “तपाईंले भन्दा मात्रै थाहा भयो, अब बुझ्छु ।”

» पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङखोल्याङकी दिलुशा खिम्दिङलाई आफू बुढेसकालमा गर्भवती भएकोमा हीनताबोध थियो । ३८ वर्षीया दिलुशा लाजले गाउँ समाजमा निस्कन्नथिन् । पछिल्लो बच्चा जन्मिएको १० वर्षपछि गर्भवती भएकी उनले लाजकै कारण एक पटक पनि स्वास्थ्य परीक्षण गराइनन् ।

१३ कात्तिक २०७५ बेलुका नौ बजे चौथो सन्तानको रूपमा छोरा जन्माइन् । ११ बजेसम्म साथी खसेन, रगत बगिरह्यो र उनको पनि मृत्यु भयो । “धेरै समय व्यथा नलागी बच्चा सकुशल जन्मियो” श्रीमान् मनकुमार खिम्दिङले भने, “त्यसपछि पो एक्कासी बिरामी भइन्, अस्पताल लैजानेतर्फ सोच्नै पाएनौं ।” बिरामी भएपछि मनकुमारले नजिकै घर भएका एक स्वास्थ्यकर्मीलाई बोलाएका थिए । “बच्चा जन्मेपछि बेहोश हुनुभएछ, साथी झार्नका लागि डोकोमा राखेर हल्लाउन थालेछन्” ती स्वास्थ्यकर्मीले भने, “म पुग्दा डोकोमा हालेर चार जनाले हल्लाउँदै थिए, झिकेर सुताउन लगाएँ, मृत्यु भइसकेको रहेछ ।”

दिलुशालाई मृत्यु भइसकेपछि पनि झारफुक गर्दा होश फिर्ने भन्दै धामी लगाइएको थियो । लाजकै कारण परिवारका अरू सदस्य पनि उनी गर्भवती भएको कुरा बाहिर ल्याउन चाहँदैनथे । महीना पुगेको १२ दिनपछि मात्रै  दिलुशाले बच्चा जन्माएको स्वास्थ्य स्वयम्सेविका माङ्गेना खिम्दिङले बताइन् । “उहाँको मृत्यु हुनुभन्दा एक हप्ताअघि मैले घरैमा गएर अस्पताल जान सल्लाह दिएको थिएँ” माङगेनाले भनिन्, “तीन जना छोरा घरमै जन्माएँ, अब पनि जन्माउँछु ।” 

अरूले के भन्लान् भन्ने डरले गर्दा धेरै महिला स्वास्थ्य संस्थामा नआएको नाङखोल्याङ स्वास्थ्य चौकीका अनमी सुशीला भट्टराईले बताइन् । लाजकै कारण स्वास्थ्य संस्था जान नमान्नेसित केही नलाग्ने वडाध्यक्ष जीवनराज खिम्दिङ बताउँछन् । “अबको जमानामा पनि हामीले भन्ने हो र ?” खिम्दिङ भन्छन्, “इच्छा अनुसार सन्तान जन्माउने छुट कानूनले दिएकै छ, किन लजाउनु ?” आफू दिलुशाको मलामी चाहिं गएको उनले सुनाए ।

» सदरमुकामदेखि गाडी चढेर जाँदा १५ मिनेटमा हाङ्देवा पुगिन्छ । फुङलिङ नगरपालिका–९ मा पर्ने त्यो गाउँकी ४५ वर्षीया देवीमाया साँवाको ज्यान पनि साथी नझरेको र अत्यधिक रक्तस्राव भएका कारण गुम्यो ।  यो ४ असार २०७६ को घटना हो ।

देवीमायाको घरबाट १० मिनेट हिंड्दा वडा कार्यालय र स्वास्थ्य चौकी पुगिन्छ । तर पनि जनताकै सेवा गर्न भनेर चुनिएका जनप्रतिनिधि र राज्यले तलब दिएर राखेका स्वास्थ्यकर्मीले उनको मृत्युको घटना थाहा पाएनन् ।  आमा र बालबालिकाको ज्यान बचाउनकै लागि खटिएकी र नजिकै घर भएकी स्वास्थ्य स्वयम्सेविका गीता पौडेल पनि बेखबर रहिन् । “सम्झाउने प्रयास गरेकी हुँ” गीताले भनिन् । मृत्यु भइसकेपछि मात्रै थाहा पाएको वडाध्यक्ष तारानाथ बरालले बताए ।

» यो घटना मिक्वाखोला गाउँपालिका–५ पापुङ ताङ्खु गाउँको हो ।  त्यहींकी ३६ वर्षीया मनकुमारी साँवालाई १४ भदौ २०७६, बिहानदेखि सुत्केरी व्यथाले च्याप्यो । दिउँसो १ बजे बच्चा त जन्माइन् तर रगत थामिएन, साल पनि खसेन । मनकुमारी अचेत अवस्थामा लडिरहिन् । परिवार र छिमेकी भेला भए तर कसैले पनि बिरामीलाई स्वास्थ्य संस्था लैजाने वा स्वास्थ्यकर्मीलाई खबर गर्न आवश्यक ठानेनन् । अपराह्न ४ बजे पापुङ स्वास्थ्य चौकीका अहेव छेचा भोटिया संयोगवश त्यहाँ पुगे । “शनिवार थियो, साथीसँग म घुम्दै त्यहाँ पुगें । बाटैमा घर भएकोले मान्छे भेला भएको देखें । अनि मात्रै थाहा भयो” भोटियाले भने, “धेरै रगत बगिसकेको थियो । मुटुको धड्कन पनि थिएन । केही उपाय लागेन ।”

घटना बारेमा पछि मात्रै थाहा पाएको वडाध्यक्ष डण्डु लामाको भनाइ छ । “मेरो वडाको अधिकांश भूभागमा फोनको नेटवर्क आउँदैन” लामाले भने, “त्यो समय म सदरमुकाममा थिएँ, थाहै पाइनँ ।”

» मेरिङ्देन गाउँपालिका–२ माइखुकी ३० वर्षीया पासाङखाङ्डु शेर्पाको १३ भदौ २०७५ मा मृत्यु भयो । उनलाई स्वास्थ्यकर्मीले ८ भदौमा बच्चा जन्मने मिति दिएका थिए, उनले १३ भदौमा बच्चा जन्माइन् । बच्चा जन्मिएको पाँच घण्टासम्म पनि साथी खसेन, रगत थामिएन अनि उनको ज्यान गयो । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सूर्यमान ओख्राबुका अनुसार उनले चारै पटक गर्भवती परीक्षण गरेकी थिइन् । घरमा आमा, बाबु र भाइ थिए । मैवाखोला गाउँपालिकाको फाकुम्वास्थित घरबाट एक हप्ताअघि माइत आएकी थिइन् ।

» मेरिङ्देन गाउँपालिका–२ माइखुकै २१ वर्षीया लाक्पाशाङ्मु शेर्पा श्रीमान्सँग बस्थिन् । १० मंसीर २०७५ मा श्रीमान् घरमा थिएनन् । काकीसासू र पहिलेका दुई सन्तान घरमा थिए । लाक्पाशाङ्मुलाई दिउँसोदेखि अचानक व्यथाले च्याप्यो । राति २ बजे बच्चा जन्मियो । रगत बढी बग्यो र ३ नबज्दै लाक्पाशाङ्मुको मृत्यु भयो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यमान ओख्राबुका अनुसार उनले पहिलो र दोस्रो गर्भवती परीक्षण गरेकी थिइन् । “त्यसपछि गर्न आउनुभएन कर्मचारी अभावका कारण हामीले पनि फलो गर्न सकेनौं” ओख्राबुले भने, “तीन महीनाको अवधिमा एउटै गाउँमा दुई जनाले गर्भवती भएकै कारण ज्यान गुमाए ।”

साउन २०७५ देखि भदौ २०७६ को अवधिमा भएका यी आठ घटनाले ताप्लेजुङमा कसरी सुत्केरी आमाले ज्यान गुमाएका छन् भन्ने छर्लङ्ग पार्छन् । घरमै बच्चा जन्मिएपछि हुने अत्यधिक रक्तस्राव र साल नखसेका कारण धेरैजसोको मृत्यु भएको छ । केही चाहिं परिवारले सुत्केरी गराउन स्वास्थ्य संस्थामा नलगेका कारण तीन दिनसम्म व्यथा लागेर मृत्यु भएकाहरू छन् । पछिल्लो तीन वर्षमा यसरी ज्यान गुमाउने आमाहरूको संख्या १६ छ । यसले जिल्लामा स्वास्थ्य–चेत अत्यन्तै न्यून रहेको र मातृ स्वास्थ्यको अवस्था दयनीय रहेको स्पष्ट हुन्छ ।

घरमै सुत्केरी : जोखिम बढी

घरमै सुत्केरी हुँदा आमा र शिशु दुवै उच्च जोखिममा हुने चिकित्सकहरू बताउँछन् । ‘पोस्टपार्टम हेमोरेज’, ‘रिटेन प्लासेन्टा’ जस्ता समस्या आएमा ज्यानकै जोखिम हुन्छ । डा.मंगल यल्मोका अनुसार गर्भाशयको मुखबाट रगत बग्नुलाई ‘पोस्टपार्टम हेमोरेज’ भनिन्छ । “पाठेघर प्राकृतिक रूपमा खुम्चिएन भने यस्तो हुन्छ” यल्मोले भने, “यो शिशु जन्मिएपछि रगत बगेर हुने गम्भीर अवस्था हो ।”

लामो समयसम्म पाठेघर नखुम्चिएर रक्तस्राव भएमा त्यसलाई रोक्न ‘अक्सिटोसिन’ नामक सुईं लगाइने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.पवनजङ्ग रायमाझीले बताए । त्यसका अतिरिक्त पाठेघरमा मसाज, मालिस गर्ने विधि समेत प्रयोग गरिन्छ । प्रसूतिको आधा घण्टासम्म पनि सालनाल नझर्नुलाई ‘रिटेन प्लासेन्टा’ भनिन्छ । प्रायःको साल झरे पनि कसैको पाठेघरमा बेस्सरी टाँसिएर बस्छ । यो पनि ‘पोस्टपार्टम हेमोरेज’ हुने एक कारण रहेको डा. रायमाझीले बताए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपाल दक्षिणएशियामा अफगानिस्तानपछि उच्च मातृ मृत्युदर हुने मुलुकमा पर्छ । जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ का अनुसार नेपालमा मातृ मृत्युदर प्रति लाख २३९ छ । स्वास्थ्य कार्यालय ताप्लेजुङद्वारा आर्थिक वर्ष २०७५÷५६ मा प्रकाशित तथ्याङ्कले राष्ट्रिय औसत भन्दा धेरैको घरमै सुत्केरी भएर ज्यान जाने गरेको पाइयो ।

समग्र मुलुककै मातृ मृत्युदर चार वर्षभित्र ९९ मा झार्ने स्वास्थ्य मन्त्रालयको लक्ष्य छ । नेपालले कार्यान्वयनको प्रतिबद्धता जनाएको दिगो विकास लक्ष्यमा मातृ मृत्युदर ७० मा झार्ने उल्लेख छ ।

ताप्लेजुङमा वर्षेनि औसतमा ३ हजार ४२२ महिला गर्भवती हुने स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । जसमध्ये ६० प्रतिशत बढीले घरमै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य चेतनाको कमीले नै घरमै बच्चा जन्माउनेको संख्या अधिक रहेको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यमणि तिम्सिनाले बताए ।

अत्यधिक रक्तस्रावले नै धेरै सुत्केरीको ज्यान जाने गरेको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डा. सोनिङ लामाले बताए । “घरमै सुत्केरी हुन्छन्, चार पटक गराउनुपर्ने गर्भवती परीक्षण गराउँदैनन्” लामाले भने, “गाउँमा रहेका हाम्रा साथीहरूले काम नगरेको हो कि, उनीहरूले नमानेका हुन्, बुझ्नै सकिएन ।”

सुत्केरी महिलाको स्याहारमा महिला स्वास्थ्य स्वयम्सेविकाको महत्वपूर्ण भूमिका हुन्छ । गर्भवतीलाई स्वास्थ्य संस्थासम्म पुग्न प्रेरणा दिने, खोप, परिवार नियोजन, झाडापखाला, कुपोषण नियन्त्रण कार्यक्रम र राष्ट्रिय कार्यक्रममा सरकारलाई सघाउन स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार सामग्री वडा स्तरसम्म पु¥याउनु तिनको जिम्मेवारी हो । तर, उनीहरू आफ्नो भ्ूमिकामा चुकेका छन् ।

आर्थिक वर्ष २०७५÷७६ मा जिल्ला अस्पतालमा ५८३ जना दक्ष प्रसूतिकर्मीबाट सुत्केरी भएका छन् । यसमध्ये ४५१ सामान्य र १३१ को शल्यक्रिया गरिएको थियो । अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा ५३५ सामान्य, १६२ शल्यक्रिया तथा आव २०७३÷७४ मा ५५० सामान्य र १२४ ले शल्यक्रिया गरेर बच्चा जन्माएका छन् । अस्पतालबाट प्रसूति हुनेको खर्च प्रतिव्यक्ति रु.१० हजारदेखि रु.३० हजारसम्म छ ।

अस्पतालमा आइपुगेकाहरू निकै ढिलो गरी आउने नर्सिङ इञ्चार्ज विजया राईले बताइन् । “महिलाहरू सिरियस भइसकेपछि मात्रै आउने गरेका छन्, कतिपय अवस्थामा बचाउनै गाह्रो हुन्छ, रेफर गर्दा पनि अर्को अस्पताल पुग्न ६ घण्टा भन्दा बढी लाग्छ” राईले भनिन्, “धेरै अवस्थामा जोखिम मोलेर अप्रेशन गरेका छौं ।”

आफ्नै गाउँमा सुत्केरीले ज्यान गुमाइरहँदा स्थानीय सरकार चाहिं रमिते जस्तै बनेका छन् । जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखेको सामाजिक अगुवा नरेन्द्र कटुवालको बुझाइ छ । “उहाँहरूको ध्यान सडक खन्न र आफ्नो सेवासुविधामा मात्रै छ” कटुवालले भने, “भोट दिएर जिताउने जनता औषधि नपाएर मरिरहँदा थाहा पाइन भन्नु गैरजिम्मेवारीपन हो ।” नागरिकलाई करको भार बोकाएर त्यसैमा मोजमस्ती गर्ने जनप्रतिनिधि र तलब खाने कर्मचारीले गम्भीर बन्नुपर्ने कटुवालले बताए ।

स्वास्थ्य सम्बन्धी हक संविधानप्रदत्त मौलिक हक हो । नेपालको संविधानको धारा ३५ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’ भनी लेखिएको छ ।

यसको कार्यान्वयनको प्रयासस्वरुप महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार गर्ने कार्यक्रम छ । अहिलेसम्म ५६ जनाको उद्धार गरेको मन्त्रालयले यसनिम्ति एउटा कार्यविधि पनि बनाएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सञ्चालन भएको भनिएको यो कार्यक्रमको उद्देश्य ‘सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या भई जोखिममा परेका महिलाको हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याएर गुणस्तरीय स्वास्थ्य सेवा दिनु रहेको’ यसको कार्यविधिबाट स्पष्ट हुन्छ ।

ताप्लेजुङ घटनाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र यसको महिला सशक्तीकरण महाशाखाका कामकारबाही तथा विपत्तिमा परेका स्थानीय महिलाको उद्धारका लागि गठन भएका स्थानीय सिफारिश समितिहरूको समेत प्रभावकारिता केलाउन बाध्य बनाउँछ ।

मन्त्रालयको महिला सशक्तीकरण महाशाखा प्रमुख अञ्जु ढुंगाना भन्छिन्, “यो दुखद् कुरा हो । तर, हामीले मेयर, उपमेयरलाई सूचित गरेका छौं । रेडियो र वेबसाइटमा सूचना दिएका छौं । तब पनि हामीसम्म जानकारी नै आइपुग्दैन त के गरौं ?”

त्यसो भए स्वास्थ्य समस्या देखिएका सुत्केरी आमाहरू बचाउने आगामी बाटो के हुनसक्छ ? ढुंगानाले भनिन्, “यो महिला मन्त्रालयको भावना जोडिएको कार्यक्रम समेत हो तर टाढाको संघीय सरकार लागेर मात्रै यो समस्या समाधान भएन, अब नजिकैका प्रदेश सरकारहरूले पनि यसमा हातहाल्नु प-यो ।”  खोज पत्रकारिता केन्द्र

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार