• २०७६ मङ्सिर २७ शुक्रबार

उदयपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा १० घाइते, ४ को अवस्था गम्भीर 

उदयपुरको कटारी ४ मरुवामा शुक्रवार दिउँसो भएको टाटा सुमो दुर्घटनामा ९ जना घाइते भएका छन् ।

ओखलढुङ्गाबाट कटारी आउँदै गरेको सुमो सडकबाट पल्टिँदा सुमोमा सवार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ५ का ६७ वर्षीय सन्तबहादुर विश्वकर्मा, सोही ठाउँका ६६ वर्षीय मनमाया विश्वकर्मा,  ६६ वर्षीय कर्णमाया विश्वकर्मा र ओखलढुङ्गाकै मोलुङ्ग गाउँपालिका ५ का ५० वर्षीय मैया विश्वकर्मा गम्भीर घाइते भएका छन् ।

त्यसै गरी सिद्धिचरण नगरपालिका ५ का ७० वर्षीय तिलमाया विश्वकर्मा, चम्पादेवी गाउँपालिका ५ का ४२ वर्षीय आमा तारा तामाङ र उनकी छोरी १४ वर्षीय सेली तामाङ, सिन्धुली फिक्कल गाउँपालिका ५ का ५५ वर्षीय वीरेन्द्रबहादुर सुनुवारलाई कटारी अस्पताल उपचारपछि विराटनगर रिफर गरिएको कटारी अस्पतालले जनाएको छ । सामान्य घाइते सर्लाहीका सोवित महतोको भने कटारी अस्पतालमै उपचार भइरहेको छ ।

सुमो चालक पदम राईलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेम सागर केसीले बताए । दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी शुक्रवार दिउँसो कटारी ४ कै पेट्रोल पम्प नजिकैको भएको मोटरसाइकल दुर्घटनामा एक जना घाइते भएका छन् । मरुवाबाट कटारीतर्फ आउँदै गरेको स ८ प २७८४ नम्बरको मोटरसाइकल स १ ह १०३६नम्बरको सिटीमा ठक्कर खाँदा कटारी नगरपालिका ७ का २० वर्षीय वसन्त मगर घाइते भएका छन् । उनको कटारी अस्पताल उपचार भइरहेको छ । सिटी चालक रत्नबहादुर मगरलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको  छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार