• २०७६ मङ्सिर २७ शुक्रबार

नेपालगञ्ज विमानस्थल : दोब्बर ठूलो बनाउने तयारी

 नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार काम सुरु गरिएको छ ।

विमानस्थलबाट सबै प्रकारका अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने गरी तयार गरिएको गुरुयोजना अनुसार निर्माण कार्य सुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । ठूला बोइङ र जेट विमानसमेत उड्न मिल्ने गरी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तयार पारिएको २० वर्षे गुरुयोजना कार्यान्वयनमा आइसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

चार चरणमा तयार गरिने सो विमानस्थलको निर्माणका लागि साढे १२ अर्ब रुपियाँ खर्च हुनेभएको छ । सबै चरणका काम अन्तरसम्बन्धित भएकाले एकैसाथ सुरु गरिएका छन् । निर्धारित समयमा विमानस्थल तयार गर्ने लक्ष्य छ, प्रमुख ठाकुरले भने ।

 

नेपालगञ्ज विमानस्थल स्तरोन्नतिको गुरुयोजनालाई गत साता मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा सार्वजनिक गरिएको थियो । हाल एटीआर विमान उडान गर्न मिल्ने उक्त विमानस्थलमा गुरुयोजना अनुसार काम भए आगामी दुई दशकभित्र एयरबस, बोइङ र जेटजस्ता ठूला विमान पनि उडाउन मिल्ने बताइएको छ ।

गुरुयोजना अनुसार विमानस्थलको धावनमार्ग हालको रनवे ३ सी श्रेणीको अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर सी क्याटेगरीमा दुई हजार ४४५ मिटर लामो बनाइने छ । त्यसो गर्दा एयरबस ३२० एनइओ मोडेलका ठूला जेट विमान सहजै उडान गर्न सक्ने विमानस्थल तयार हुनेछ ।

नयाँ गुरुयोजना अनुसार अगाडि बढ्दा विमानस्थलका लागि १०० बिघा जग्गा थप गर्नुपर्ने छ । हाल १६६ बिघा क्षेत्रफल रहेको विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार