• २०७७ जेठ २१ बुधबार

कोरोना भाइरसले विश्वभर ९६ नेपालीको मृत्यु, १९ देशका नेपाली संक्रमित

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुने नेपालीहरुको संख्या ९६ पुगेको छ । अहिलेसम्म ७७ पुरुष र १९ महिला गरी ९६ नेपालीको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । त्यस्तै संयुक्त राज्य अमेरिकामा १५ नेपालीले ज्यान गुमाएका छन् ।

त्यस्तै युएईमा नौ र साउदी अरबमा दुई नेपालीको मृत्यु भएको छ । आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन, स्वीडेन र नेपालमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिएका छन् ।

कोरोनाभाइरसका कारणले यो साता मात्र नेपालमा एक जनासहित १८ जनाले ज्यान गुमाएका छन् । यो साता बेलायतमा १२, युएईमा तीन, साउदी अरबमा दुई र नेपालमा एक जनाको मृत्यु भएको छ ।

संयोजक डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ६ हजार सात सय ८१ गैरआवासीय नेपाली कोरोनाभाइरसबाट संक्रमित छन् । अफ्रिकी मुलुकहरुमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छैन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडा अनुसार ११ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ । १९ देशमा रहेका नेपालीहरु कोरोनाभाइरसबाट संक्रमित छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार