• २०७७ जेठ १८ आइतबार

मार्न खोज्ने श्रीमानसँग मिलापत्र गर्न बाध्य निरीह श्रीमती

हिंसा टुङ्गिन्छ मिलापत्रमा

आर्थिक असुरक्षा, पारिवारिक र सामाजिक बाध्यताका कारण आफ्नो ज्यान लिन तम्सने लोग्ने र उसका परिवारका सदस्यसँग प्रहरीसामु मिलापत्र गर्न बाध्य छन् हिंसा पीडित महिला । पूर्वी पहाडी जिल्लाहरू ओखलढुङ्गा, खोटाङ र सोलुका गाउँ–गाउँको पीडा ।

(पीडितको परिचय नखुलोस् भनेर समाचारमा हिंसा पीडित महिलालाई फूलको र उनका श्रीमान्लाई रूखको नाम (थर वास्तविक) दिइएको छ ।)

मिलापत्र गरेर घर फर्केपछि फेरि लोग्नेको कुटाइबाट गम्भीर घाइते एक महिला २५ माघ २०७६ मा ओखलढुंगाको रुम्जाटार अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) की घटना व्यवस्थापक कुमारी तामाङसँग आफ्नो पीडा राख्दै । तस्वीरहरु : एसबी जेरो

ओखलढुङ्गाकी ३२ वर्षकी सयपत्री शेर्पाले चार वर्षअघि आफू भन्दा करीब पाँच वर्ष कान्छो सतिसाल शेर्पासँग भागेर विवाह गरिन् । मन पराएको व्यक्तिसँग भागेर प्रेमविवाह गरे पनि माइती पक्षले स्वीकार गरेका थिए । साधारण लेखपढ गर्न सक्ने सयपत्री विवाह गरेर आउँदा माइतीले दिएको नगद र सुन गरेर झण्डै रु.४ लाख बराबरको सम्पत्ति लिएर आएकी थिइन् । 

विवाह गरेको केही वर्ष उनीहरूको जीवन रामै्रसित बित्यो । एउटा सन्तान पनि जन्मियो । तर विस्तारै सयपत्रीका श्रीमान्को रक्सी खुवाई बढ्दै गयो, परिवारमा खटपट शुरू हुन थाल्यो । श्रीमान्सँगको खटपटले सासूसँग पनि झगडा हुन थाल्यो । सयपत्रीका भनाइमा, माइतबाट ल्याएको पेवा सकिंदै गएपछि उनीहरूको परिवारमा कलह हुनथाल्यो । उमेरले सयपत्री भन्दा कान्छो आफ्नो छोरालाई ललाईफकाई विवाह गरेको आरोप सासूले लगाउन थालिन् ।

रात–दिन सासूसँग झगडा शुरू हुन थालेपछि उनीहरू केही समय काठमाडौं गएर बसे । ज्याला मजदूरी गरेर खासै कमाइ नहुने भएपछि सयपत्रीले पतिलाई वैदेशिक रोजगारीका लागि विदेश पठाउने सोच बनाइन् । दिदी–भिनाजु र दाइ–भाउजूसँग ऋण मागेर खर्च जुटाएर श्रीमान्लाई विदेश पठाइन् । श्रीमान् विदेश गएपछि उनी फेरि गाउँमै फर्केर बस्न थालिन् ।

तर, सासूसँगको झगडा साम्य भएन । दुई वर्षपछि श्रीमान् विदेशबाट फर्केर आए । अब त समस्या सुल्झेला भनेको झन् बल्झियो । श्रीमान्ले सासूको कुरा सुनेर सयपत्रीलाई कुटपिट गर्न थाले । घरको कुरा बाहिर किन लैजाने भनेर शुरूशुरूमा कतै गइनन् । जब सहनै नसक्ने गरी पतिले कुट्न थाले अनि उनी प्रहरीमा गइन् ।

प्रहरीले श्रीमान्–श्रीमती र सासूलाई जिल्ला प्रहरी कार्यालयमा बोलायो र मिलापत्र गरेर घर पठायो । तर लोग्नेको व्यवहारमा कुनै सुधार आएन । सयपत्री भन्छिन्, “मिलापत्र गरेको १० दिनसम्म त ठीकै थियो । त्यसपछि फेरि रक्सी खाएर पहिले भन्दा धेरै कुटे । अबदेखि प्रहरीमा जान्छेस् जान्नस् भन्दै १०० पटक उठ–बस गर्न लगाई, उधोमुन्टो पारेर झुण्ड्याएर ढोकाको आग्लोले कुटे ।” 

लोग्नेको कुटाइबाट बोल्न हिंड्नै नसक्ने भएकी सयपत्रीले बल्लतल्ल तीन घण्टा टाढाको जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा आएर जाहेरी दिएकी थिइन् । जिल्ला अस्पताल रुम्जाटारमा एक हप्ता उपचार गराएर अहिले उनी घर फर्केकी छिन् । माइतीका दाजु–भाउजू काठमाडौंमा भएकाले काठमाडौं गएर उपचार गराइन् ।

यसपछि केही समय ओखलढुंगाको सेफ हाउसमा बसिन् । अहिले सयपत्रीलाई उनकी जेठी दिदीले आफ्नो घर लिएर गएकी छिन् । सयपत्रीकी दिदी भन्छिन्, “बहिनीले धेरै कुटाइ खाई अब सम्बन्धविच्छेद गराउने हो ।” तर अझै उनको स्वास्थ्यमा राम्रो सुधार आइसकेको छैन । पति फरार छन् । प्रहरीले सासूलाई झिकाएर अर्को पनि ‘मिलापत्र’ गराएको छ ।            

 सोलुखुम्बुकी २७ वर्षीया गुराँस श्रेष्ठले २०६७ सालमा ओखलढुंगा बर्नालुका ३५ वर्षीय सल्ला शेर्पासँग प्रेमविवाह गरिन् । कक्षा १२ सम्म पढेकी गुराँसका श्रीमान् नेपाल प्रहरीका सेवानिवृत्त कर्मचारी हुन् । जागिरका सिलसिलामा घाइते भएपछि उनले नेपाल प्रहरीको जागिर छाडेका थिए ।

विवाह भएको केही वर्षसम्म उनीहरूको सम्बन्ध राम्रै थियो । विस्तारै लोग्नेले मदिरा पिउन थाले । लत बढ्दै गयो । उनले श्रीमतीलाई कुटपिट पनि गर्न थाले ।

घरमा राम्ररी नबोल्ने, खान लाउन नदिने । मन लागेको चिज किन्न वा खान खर्च पनि नदिने । गुराँसका भनाइमा उनले सात वर्षदेखि श्रीमान्को कुटाइ र मानसिक यातना सहँदै आइन् । वाक्क भएर २०७४ साल माघमा उनी उजुरी लिएर प्रहरीमा पुगिन् । 

प्रहरीले उनका श्रीमान्लाई पक्राउ गरेर एक रात थुन्यो पनि । तर, अर्को दिन प्रहरी कार्यालयमै मिलापत्र गर्ने सहमति भयो । सहमति गर्न भनेपछि प्रहरीका अगाडि गुराँसका श्रीमान्ले अबदेखि मदिरा सेवन नगर्ने र उनलाई कुटपिट नगर्ने, राम्रो व्यवहार गर्ने बताएका थिए ।

प्रहरीमा उनी बाचा गर्थे तर व्यवहारमा सुधार थिएन भन्ने प्रमाण उनको गुराँससँग यो तेस्रो मेलमिलाप थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको महिला तथा बालबालिका सेलका तत्कालीन प्रहरी हबल्दार दशरथ चौधरीका भनाइमा यसअघि दुई पटक मिलापत्र गरेपछि पनि सल्लाले कुटपिट गर्न छोडेका थिएनन् ।                

तेस्रो पटक पनि त्यही भयो । दिउँसो प्रहरीमा मिलापत्र गरेर बेलुका अबेर घर आइपुग्नासाथ श्रीमान्ले मुख छाडे । गुराँस भन्छिन्, “मेरो विरुद्ध प्रहरीमा उजुरी किन गरिस् ? तैंले अब मेरो घरमा बस्नु पर्दैन । अब त्यतै जा भनेर कुट्न थाले ।”

यसपछि उनी ५ वैशाख २०७५ मा घर छोडेर हिंडिन् । केही दिन जिल्लास्थित ‘सेफ हाउस’ मा बसेपछि उनी काठमाडांै गइन् । एउटा गैरसरकारी संस्थाको सहयोगमा काठमाडौंमा मन्टेसरी तालिम लिएर एउटा निजी विद्यालयमा पढाउन शुरू गरिन् ।

अहिले उनी हिंसा व्यवस्थापन गर्ने एक गैरसरकारी संस्थामा काम गरिरहेकी छिन् । आफ्नो कमाइले ८ वर्षका छोराको पढाइ र घर खर्च धानी रहेकी गुराँस भन्छिन्, “अपराध मेरो श्रीमान्ले गरेको हो, तर सजाय म भोग्दैछु । मैले घर छोडेर हिंड्नु परेको छ । श्रीमान् सुखसाथ घरमै बसेका छन् ।”         

• २६ फागुन २०७५ को रातको कुरा हो । मानेभञ्ज्याङ्ग गाउँपालिका–१ मोलीकी २५ वर्षीय चमेली राईका २७ वर्षीय श्रीमान् पीपल राई अबेर मदिराले लट्ठ भएर घर आए । दिनभरिको कामले थकित भए पनि श्रीमान् फर्केपछि सँगै खाना खान पर्खेर बसेकी थिइन् चमेली ।

सात र तीन वर्षका दुई छोरी खाना खाएर सुतिसकेका थिए । मदिराले लट्ठ लोग्ने घर आएसँगै भनाभन भयो । यस्तो भनाभन पहिले पनि हुन्थ्यो । तर यस पटक लोग्नेले चमेली माथि हातै हाले ।

मरणासन्न हुने गरी कुटपिट गरे । लोग्नेको कुटाइबाट उनको हात, अनुहार, ढाड र खुट्टामा चोट लाग्यो । अचेत चमेलीलाई गाउँलेले उद्धार गरेर गाडीमा करीब दुई घण्टा टाढाको ओखलढुंगा सामुदायिक अस्पताल पु¥याए । हप्ता दिनको उपचारपछि बल्ल उनी घटना के भएको थियो भनेर बोल्न सक्ने भइन् ।

लोग्ने विरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा घरेलु हिंसा कसुरमा उजुरी दर्ता गरिन् । प्रहरीले पीपललाई पक्राउ गरेर हिरासतमा राख्यो । प्रहरीले श्रीमान्, श्रीमती र स्थानीय व्यक्तिहरू सहितको छलफल राख्यो । लोग्नेले अबदेखि चमेलीलाई कुटपिट नगर्ने प्रतिबद्धता जनाएपछि स्थानीय बुद्धिजीवीको रोहबरमा ६ वैशाख २०७६ का दिन जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा प्रहरीले मिलापत्र गराएर घर पठायो । अहिले उनीहरू दुवैजना काठमाडौंमा दैनिक ज्यालादारी गरेर बसेका छन् ।

सोलुमा पनि उस्तै

सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाको एउटा वडाले ‘भद्रभलाद्मी’ को उपस्थितिमा श्रीमान श्रीमती बीच मिलापत्र गराएको कागज । पीडितहरुका भनाइमा, यस्ता ‘भद्रभलाद्मी’ कसैले पनि हिंसा गर्नेलाई कारबाही हुनुपर्छ भन्दैनन् ।

३३ वर्षीया मखमली राई सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा होटल व्यवसाय गर्छिन् । चार वर्ष पहिले मखमलीको आफूभन्दा दुई वर्ष कान्छो सिमल राईसँग प्रेम विवाह भएको थियो ।

दुवै साधारण लेखपढ गर्न सक्ने उनीहरूको आर्थिक अवस्था सामान्य थियो । लोग्ने काठ काट्ने काम गर्ने श्रीमती होटल चलाउने काम गरेर परिवार चलिरहेको थियो । छोरी तीन वर्षकी छिन् ।

मखमलीका श्रीमान्को शंकालु स्वभाव छ । होटलमा आउने ग्राहकसँग दोहोरो बोल्दा समेत उनले श्रीमती माथि शंका गर्थे । हुँदाहुँदा ग्राहकसँग बोलेकै कारणले श्रीमान्ले उनलाई कुट्न थाले । यो क्रम पटक–पटक दोहोरियो । 

पहिलो पटक जीउभरि नीलडाम लिएर न्याय खोज्दै सदरमुकाम सल्लेरी आएकी उनी घरेलु हिंसा प्रभावितका लागि जिल्ला सेवा केन्द्र (पीएमसी) पुगेकी थिइन् । केन्द्रले श्रीमान्लाई बोलाएर छलफल गरी मिलापत्र गराएर घर पठायो ।

यसपछि उनी माथि ज्यादती झन्झन् बढ्दै गयो । श्रीमान्ले रक्सी खाएर आएपछि सानो सानो कुरामा पनि निहुँ खोज्ने र कुटपिट गर्न थाले । यसपछि उनी घर छोडेर सेवा केन्द्रमा आइन् । यो पटक भने उनी सेवा केन्द्र मार्फत श्रीमान् विरुद्ध उजुरी गर्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु गइन् । प्रहरीले श्रीमान्लाई बोलाएर अब फेरि कुटपिट नगर्नु भनेर मिलापत्र गराएर घर पठायो ।

प्रहरीका अगाडि कबुल गरेका पतिको व्यवहारमा परिवर्तन आउला भन्ने उनलाई लागेको थियो तर त्यस्तो भएन । यसरी फर्किएका दिनरातदेखि नै लोग्नेले पिट्न थाले । मखमली भन्छिन्, “प्रहरीमा किन उजुरी गरिस् भनेर पो हिर्काउन थाले ।”  

२०७६ मंसीर दोस्रो साता त अचाक्ली भयो । मखमलीलाई लोग्नेले बाँधेर कुटे । त्यसपछि उनी रातारात भागेर सदरमुकाम आइन् र उजुरी गरिन् । प्रहरीले पहिले जस्तै फेरि मिलापत्र गरायो ।

७ पुस २०७६ मा यो घटना फेरि दोहोरियो । यस पटक त बाँधेर कुटपिट मात्रै गरेनन् खुकुरीले समेत हाने । महिला तथा बालबालिका सेवा केन्द्र सोलुखुम्बुकी इन्चार्ज निर्मला बस्नेत भन्छिन्, “मखमली टाउकोमा लोग्नेले खुकुरीले हानेको चोट, अनुहार र जीउभरी नीलडाम लिएर प्रहरीसमक्ष आएकी थिइन् ।”

बस्नेतका भनाइमा महिला सञ्जाल, प्रहरीलाई फोन गरेर सुना भन्दै डोरीले बाँधेर कुटपिट गरिएको पीडितको भनाइ थियो । करीब चार वर्षअघि सामाजिक परम्परा अनुसार विवाह भए पनि कानूनी रूपमा विवाह दर्ता भएको छैन । त्यसैले बच्चाको जन्मदर्ता हुन पनि बाँकी छ ।         

• सोलुखुम्बुको थुलुङ्ग दूधकोशी गाउँपालिकाकी ३० वर्षकी सुनाखरी कार्कीले १३ माघ २०७५ मा जिल्ला प्रहरी कार्यालय र महिला सञ्जालमा पति उत्तिस कार्कीले दोस्रो विवाह गरी आफूलाई पालनपोषण नगरेको भनेर उजुरी दिइन् ।

सुनाखरी पढेलेखेकी छैनन् । सामान्य आर्थिक अवस्था भएको उनको दैनिकी खेतीकिसानी गरेर बित्छ । उत्तिसले आफू विरुद्ध प्रहरीमा उजुरी दिएको थाहा पाएपछि उनका पतिले १४ फागुन २०७५ मा घर आएर अब आइन्दा झैझगडा नगर्ने, राम्रो व्यवहार गर्ने र पालनपोषण गर्ने भनेर फकाए ।

उत्तिसको आग्रह अनुसार गाउँपालिकाको वडा नम्बर–२ का वडाध्यक्ष उदयनारायण बस्नेतको रोहबरमा १६ फागुन २०७५ मा छलफल आयोजना भयो । छलफलमा गाउँका भद्रभलाद्मीको उपस्थिति थियो ।

छलफलमा उत्तिसले सापटी लगेको ७५ हजार रुपैयाँ पेवा पैसा मध्ये तिर्न बाँकी ४५ हजार तत्कालै तिर्ने लिखित सहमति भयो । छोराको पालनपोषण र पढाइ खर्चका लागि मासिक दुईहजार र सुनाखरीलाई पनि २०७५ चैतदेखि यताको मासिक दुईहजार रुपैयाँ भराउने लिखित सहमति भयो ।

यसको बदलामा सुनाखरीले महिला सञ्जाल र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा दिएको उजुरी फिर्ता लिनुपर्ने थियो । उनले फिर्ता लिइन् । तर लोग्नेले वडामा गरेको लिखित वाचा पूरा गरेनन् । उल्टो दुव्र्यवहार गर्न थाले ।

सुनाखरी फेरि जिल्ला प्रहरी कार्यालय सोलु पुगेकी छिन् । उजुरी र मिलापत्रको गोलचक्करमा भर्खरै उनको अर्को उजुरी प्रहरीमा पुगेको छ । १२ भदौ २०६६ मा आफूभन्दा चार वर्ष कान्छो पुरुषसँग सामाजिक परम्परा अनुसार उनको विवाह भएको थियो ।        

• सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाकी २३ वर्षीया गोदावरी राईको ६ वर्षअघि खोटाङ घर भएका ३० वर्षीय सालबहादुर राईसँग विवाह भएको थियो । उनीहरूले प्रेमविवाह गरेका हुन् । गोदावरीको माइती घर सोलुखुम्बुमा कोही नभएकाले उनी र उनका श्रीमान् माइत/ससुरालीमै बस्दै आएका थिए ।

एसएलसीसम्म पढेकी गोदावरीले श्रीमान्को सहमतिमै सोलुखुम्बुमा साधारण होटल गर्न थालिन् । शुरूका केही वर्ष राम्रै थियो । मिलेर काम गर्थे । उनीहरूले छोरा हुर्काएर पाँच वर्षको बनाए । 

होटलमा अनेक थरिका ग्राहक आउँछन् । गोदावरीले होटलमा आउने ग्राहकसँग राम्ररी बोलेको उनका श्रीमान्लाई मन पर्दैनथ्यो । विस्तारै ग्राहकसँग बोल्दा र फोनमा आफन्तसँग बोल्दा समेत लोग्नेले शंका गर्न थाले । भनाभन हुन थाल्यो । 

भनाभन अब हातपातसम्म पुग्न थाल्यो । लोग्नेले गरेको कुटपिट शुरूका दिनमा गोदावरीले कसैलाई भनिनन् सहेरै बसिन् । २६ साउन २०७६ का दिन होटलमा आएका एकजना ग्राहकसँग बोलेकै कारणले सालबहादुरले गोदावरीलाई मरणासन्न हुने गरी कुटे ।

गोदावरी सुन्निएको जीउ, अनुहार, आँखा लिएर जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु पुगिन् । महिला सञ्जालको सहयोगमा गोदावरीले पति विरुद्ध उजुरी दिइन् । प्रहरीले सालबहादुरलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा झिकाई छलफल ग¥यो । आइन्दा कुटपिट नगर्ने, बानी व्यवहारमा सुधार ल्याउने कबुल गरेर मिलापत्र गरी दुवै घर फर्किए ।

यसपछि पनि लोग्नेको ज्यादतीमा सुधार आएन । गोदावरी भन्छिन्, “प्रहरीसम्म घटना पु¥याएपछि पतिको ज्यादती झन् बढ्यो । दिनरात कुट्न नछोडेपछि अहिले छुट्टिएर एक्लै बसेकी छु ।”

खोटाङ्गमा झन् अचाक्ली

यो पीडा दिक्तेल, रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी ४५ वर्षीया गुलाब श्रेष्ठको हो । उनका पति ४६ वर्षीय खयर केसीले पटक–पटक शारीरिक र मानसिक हिंसा गरे । शुरुका केही वर्ष श्रीमान् श्रीमती बीच कुरा बाहिर लैजानु हुन्न भनेर उनी सहेर बसिन् ।

खयर केसी रोजगारीका लागि दुबईमा दुई वर्ष बसेर फर्किएका थिए । उनीहरूको आर्थिक अवस्था राम्रै थियो । साधारण लेखपढ मात्र गर्ने गुलाब घरखेतीमा सीमित थिइन् । तर आफूमाथि कुटपिट र निम्नस्तरको गालीगलौज रोकिएन ।

त्यसपछि उनी महिला अधिकारकर्मी भेट्न खोटाङ्ग सदरमुकाम दिक्तेल आइन् । अधिकारकर्मीको सहयोगमा श्रीमान् विरुद्ध उजुरी गर्न जिल्ला प्रहरी कार्यालय दिक्तेल गइन् । छिमेकी ओखलढुंगा र सोलुमा झैं प्रहरीले उनका श्रीमान्लाई पनि झिकाएर मिलापत्र गरी घर पठायो ।

त्यसपछि उनका झन् दुःखका दिन शुरू भए । लोग्नेले पहिले भन्दा क्रूर व्यवहार गर्न थाले । गालीगलौज र सामान्य कुरामै कुटपिट गर्न थाले । गुलाब फेरि प्रहरीमा गइन् । प्रहरीले फेरि उही ‘मिलापत्र’ गराएर पठायो ।

प्रहरी र महिला अधिकारकर्मीको रोहवरमा तीन/चार पटक मिलापत्र गराएपछि पनि लोग्नेले कुट्ने क्रम नरोकिएपछि उनी अब सम्बन्ध दिगो हुँदैन भन्ने निचोडमा पुगिन् ।

अहिले गुलाब लोग्नेसँग छुट्टिएर बसेकी छिन् । गुलाब भन्छिन्, “दुःखसुख गरेर छोरी पालेर बसेकी छु । श्रीमान्सँग मिलेर बस्न सक्ने अवस्था छैन ।” अन्तरजातीय विवाहका कारण यो जोडीमा असमझदारी सिर्जना भएको खोटाङ्गकी महिला अधिकारकर्मी पूर्णकला तामाङ्ग बताउँछिन् ।         

• एक वर्षअघिको कुरा हो २० वर्षीय सूर्यमुखी राईले २२ वर्षीय पति अंगुर राईले बेवास्ता गरेको भनेर महिला अधिकारकर्मी मार्फत जिल्ला प्रहरी कार्यालय खोटाङ्गमा उजुरी दिइन् । खोटाङ्ग सोल्माकी सूर्यमुखीलाई श्रीमान्ले बेवास्ता गरेपछि उनी पटक–पटक परिवारका सदस्यबाट समेत पीडित भइरहिन् । एउटै परिवारमा बस्दा पनि उनले एक्लोपन महसूस गरिरहिन् ।

पतिले बेवास्ता गर्ने, परिवारका सदस्यले अपमानित गर्ने काम हुनथाल्यो । एक दिन सूर्यमुखीलाई ससुराले पिटे । ससुराले कुटपिट गरेको र परिवारले उनीमाथि हिंसा गरेको उजुरी जिल्ला प्रहरी कार्यालय दिक्तेलसम्म पुग्यो । प्रहरीले लोग्नेलाई बोलाएर बानी सुधार्न र श्रीमतीलाई राम्रो व्यवहार गर्न भन्दै मिलापत्र गराएर घर पठायो ।

तर प्रहरीमा भएको मिलापत्र लोग्नेका लागि झन् निहुँ  खोज्ने बहाना भयो । सूर्यमुखी माथि हिंसा झन् बढ्न थाल्यो । प्रहरीमा गएर मिलापत्र गर्दा झन् कुटाइखाने क्रम बढेपछि उनी पुनः प्रहरीमा गइनन् । घर छोडेर हिंड्ने निधो गरिन् । एसएलसीसम्म अध्ययन गरेकी सूर्यमुखी भन्छिन्, “अब यो मानिससँग घरबार हुन्न । सम्बन्धविच्छेदको तयारीमा छु ।”        

• खोटाङ्गकै केपीलासगढी गाउँपालिकाकी ४० वर्षीय कमल राई ४२ वर्षीया चिउरी राईलाई छोडेर दोस्रो विवाह गर्न बाध्य भइन् । पहिलो पतिसँग मिलेर बस्न उनले पटक पटक प्रयास गरेकी हुन् । तर, प्रहरीसम्म पुग्दा पनि पतिको आनीबानीमा सुधार नआएपछि उनी दोस्रो विवाह गर्न बाध्य भएकी हुन् । 

उनका पहिला पतिले पनि अरूले जस्तै मदिरा सेवन गरेर झगडा गर्ने, पटक पटक कुटपिट गर्ने, तँलाई खान दिन्न, म तँलाई जे पनि गर्न सक्छु भनेर धम्क्याइरहे । एक पटक पतिले मरणासन्न हुने गरी कुटेपछि कमल जिल्ला प्रहरी कार्यालय दिक्तेल पुगिन् । अन्यत्र जस्तै कमल र उनका लोग्नेलाई पनि प्रहरीले मिलापत्र गरेर घर पठायो ।

उल्टो लोग्नेले झन् धेरै कुटपिट गर्न थाले । लोग्नेले कुट्ने, कमलले प्रहरीमा उजुरी गर्ने प्रहरीले मिलापत्र गराउने यो क्रम चलिरह्यो । त्यसपछि घर छोडेर केही समय माइत गएर बसेकी उनले भर्खरै दोस्रो विवाह गरेकी हुन् । साधारण लेखपढ गर्न सक्ने कमल भन्छिन्, “हिंसाबाट पार पाउन मैले अर्को विवाह गर्नुप¥यो ।”

हिंसा टुङ्गिन्छ मिलापत्रमा

ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाका यी केही घटना मात्रै हुन् । हामीले पूर्वी पहाडका यी तीन जिल्लाका घरेलु हिंसा सम्बन्धी समग्र उजुरीहरूको अध्ययन ग¥यौं । तिनबाट के देखिन्छ भने महिलाहरू निकृष्ट तहमा घरेलु हिंसा भोग्न बाध्य छन् । धेरै कसुरहरू प्रहरीसम्म आइपुग्दैनन् र आएका पनि सबै दर्ता प्रक्रियामा जाँदैनन् । जति कसुर प्रहरीमा पुग्छन्,  प्रहरीलाई यस्ता कसुरमा मिलापत्र गराएर घर पठाउन पाए पुग्छ । घरेलु हिंसाका सबै उजुरीहरू अन्तिममा गएर मिलापत्रमा टुङ्गिनुको कारण यही हो ।

लोग्नेको आक्रमणबाट मरणासन्न श्रीमती र उनले तिनै लोग्नेसँग जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गरेको ‘मिलापत्र’ को कागज ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा पछिल्लो तीन आर्थिक वर्षमा ९९ वटा घरेलु हिंसाका उजुरी परेका थिए । जिल्ला प्रहरी कार्यालयमा दर्ता हुन आएका अधिकांश घरेलु हिंसाका मुद्दामा प्रहरीले मिलापत्र गरेर पठाएको छ । ९९ वटा उजुरीमध्ये ७५ वटाको मिलापत्र गरिएको छ । २१ वटाको किनारा लाग्न बाँकी छ भने जम्मा पाँच वटा उजुरी मात्रै अदालतसम्म पुगेका छन् ।

आर्थिक वर्ष २०७४/७५ मा ओखलढुंगा प्रहरीमा ३२ वटा घरेलु हिंसाका उजुरी आएकोमा २५ वटामा मिलापत्र गरिएको कार्यालयको विवरणबाट देखिन्छ । बाँकी ६ वटा उजुरीको काम बाँकी र एउटा अदालतमा पठाइएको छ ।

यस्तै आर्थिक वर्ष २०७५/७६ मा ओखलढुंगा प्रहरीसमक्ष ४२ वटा घरेलु हिंसाका उजुरी आएकोमा ३३ वटामा मिलापत्र गरिएको र ७ वटाको अझै काम बाँकी रहेको कार्यालयले जनाएको छ । दुई वटा मुद्दा अदालतसम्म पुगेका छन् ।

चालु आर्थिक वर्ष २०७६/७७ को माघ महीनासम्ममा २५ वटा घरेलु हिंसाबाट पीडितहरूले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएका छन् । यी उजुरीमध्ये १७ वटामा मिलापत्र भइसकेको छ । प्रहरी निरीक्षक मिलन बस्नेत भन्छन्, “६ वटाको काम बाँकी छ र दुई वटा अदालत पठाइएको छ ।”

यसैगरी जिल्ला प्रहरी कार्यालय सोलखुम्बुमा तीन आर्थिक वर्षमा ८२ वटा घरेलु हिंसाका उजुरी परेका छन् । अधिकांश उजुरीलाई मिलापत्र गरेर टुङ्ग्याइएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ४२ वटा घरेलु हिंसाको जाहेरी परेका थिए । जसमध्ये २६ वटामा मिलापत्र गरिएको थियो । १६ वटा उजुरी किनारा लाग्न बाँकी छन् । त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा ३३ वटा घरेलु हिंसाका उजुरी परेका थिए । त्यसमध्ये १८ वटाको मिलापत्र र १५ वटा उजुरी कर्ता सम्पर्कमा नआएको अवस्था छ । चालु आर्थिक वर्ष २०७६/७७ को सात महीनामा ७ वटा यस्ता उजुरी आएका छन् । पाँच वटामा मिलापत्र भइसकेको छ भने दुई वटामा उजुर कर्तासँग छलफल हुन बाँकी छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय खोटाङमा आर्थिक वर्ष २०७४/७५ देखि चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६७ वटा घरेलु हिंसाका उजुरी प्रहरीमा आएका छन् । कार्यालयको तथ्याङ्क अनुसार ६५ उजुरीको प्रहरीकै रोहबरमा मिलापत्र भएका छन् । एउटा अदालत गएको र अर्को एउटा उजुरीकर्ता सम्पर्कमा नआएको प्रहरीको भनाइ छ ।

आर्थिक वर्ष २०७४/७५ मा घरेलु हिंसामा २८ वटा उजुरी आएका थिए । प्रहरीले सबैमा मिलापत्र गराएको थियो । आर्थिक वर्ष २०७५/७६ मा १९ वटा घरेलु हिंसा विरुद्धको जाहेरी आएकोमा प्रहरीले १८ वटाको मिलापत्र गरी एउटा भने अदालत पठाएको थियो ।

चालु आर्थिक वर्ष २०७६/७७ को ६ महीनाको तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यालय खोटाङ्गमा २० वटा यस्ता उजुरी दर्ता भएका छन् । तीमध्ये १९ वटामा मिलापत्र भइसकेको छ । एउटा उजुरीकर्ता सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय खोटाङ्गले जनाएको छ ।

तर, कानूनले घरेलु हिंसामा प्रहरीलाई यसरी मिलापत्र गराएर दोषीलाई उन्मुक्ति दिने छुट दिएको छैन । घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ अनुसार, ‘कसैले घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीन हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा ६ महीनासम्म कैद वा दुवै सजाय हुनेछ ।’ कानूनले यस्तो अपराध गर्न सघाउनेलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ ।

यो कसुरमा सजाय पाइसकेको व्यक्तिले पुनः कसुर गरे पटकैपिच्छे दोब्बर सजाय हुने, सार्वजनिक जवाफदेहीको पदमा बहाल रहेको कुनै व्यक्तिले आफ्नो पत्नी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, नाबालक वा गर्भवती महिला विरुद्ध हिंसा गरेमा निजलाई थप दश प्रतिशत सजाय हुने व्यवस्था कानूनमा छ ।

यस्तो कानूनी व्यवस्था हुँदाहुँदै किन प्रहरीको ध्यान मिलापत्रमा मात्रै जान्छ ? जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रवक्ता प्रहरी निरीक्षक मिलन बस्नेतका भनाइमा, श्रीमान अर्थात् पीडककै कमाइको भरमा परिवार चलेका कारण उनीहरू बीच मिलापत्र गराउनुको विकल्पै हुँदैन । बस्नेत भन्छन्, “हामी पीडकलाई गल्तीको महसूस गराउँछौं । पीडकले पनि गल्ती स्विकारेपछि मिलापत्र गर्दिन्छौं ।” 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता प्रहरी निरीक्षक महेन्द्र दर्नालको भनाइ पनि त्यस्तै छ । उनी भन्छन्, “पीडक श्रीमान् हुन्छ र पीडित श्रीमती हुन्छे । श्रीमती र बालबच्चा श्रीमान्को कमाइको भरमा हुन्छन् । श्रीमान्लाई थुन्दा परिवार विचल्ली हुने भएकाले मिलापत्र गराउँछौं ।”

जिल्ला प्रहरी कार्यालय खोटाङ्गका प्रमुख प्रहरी नायव उपरीक्षक बामदेव गौतमलाई पनि ‘मिलापत्र बाहेक अर्को उपाय छैन’ भन्ने लाग्छ । गौतम भन्छन्, “पीडित र पीडकलाई कार्यालयमा बोलाएर मिल्ने कि सजाय भोग्ने भनेर सोध्छौं । पीडित आफैंले एक चोटिलाई छोड्दिनुप¥यो भन्छन् । अनि पीडकले पनि सुध्रिन्छु भनेर प्रतिबद्धता व्यक्त गरेपछि महिला सेल मार्फत मिलापत्र लेखेर पठाउँछौं ।”

‘यो मिलापत्र होइन’

सोलुखुम्बुमा घरेलु हिंसा भोगेका महिलाहरू किन मिलापत्र गर्न बाध्य हुन्छन् ? प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदी यस विषयमा बोल्न तयार भइनन् । उनले यति मात्रै भनिन्, “कानून अनुसार कारबाही हुन्छ । म थप बोल्दिनँ ।”

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका विचारमा चाहिं महिलाको अवस्था र सामाजिक संरचना नै यस्तो छ उनले बाध्य भएर मिलापत्र गर्नुको विकल्प हुँदैन । आचार्य भन्छन्, “बच्चाको जिम्मेवारी महिलामाथि नै हुन्छ । बच्चाको मायाले पतिले दिएको पीडा भुलेरै भए पनि मिल्न बाध्य हुन्छन् । आफू बाँच्न र बच्चालाई बचाउन उनी सम्झौतामा पुग्छिन् । त्यसकारण यो मिलापत्र होइन, बाध्यकारी सम्झौता हो ।”

हलेसी तुवाचुङ्ग नगरपालिका, खोटाङ्गकी उपमेयर विमला राईका विचारमा यो बाध्यता हो । उनी भन्छिन्, “पीडित महिलासँग बाँच्ने आर्थिक स्रोत छैन । आत्मनिर्भर नभएपछि पीडककै पछि लागेर भए पनि सहमति गर्नु परेको हो ।”

राई भन्छिन्, “हाम्रो सामजिक संरचना यस्तो छ कि घरेलु हिंसामा परेकी महिला न्यायालय, प्रहरी, समाज वा अन्य कुनै निकायमा जहाँ जान्छिन् त्यहाँ सबैले मिलापत्र गर्न सुझाव दिन्छन् । तर अन्याय कसरी प¥यो, कसरी न्याय दिलाउने भन्नेमा कसैको चासो हँुदैन ।” राईका विचारमा प्रहरी संगठन अहिले पनि पुरानै सोचमा छ । यस्तो घटनालाई सकेसम्म मिलाउन नै खोज्छ ।

ओलखढुंगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुमन राजभण्डारी पीडाको समयमा न्याय माग्न प्रहरीसम्म पुगे पनि माइती, समाज, छोराछोरी, नाता सबै सम्झेर पीडित मिलापत्र गर्न बाध्य हुने गरेको बताउँछन् । राजभण्डारी भन्छन्, “समाज पुरुष प्रधान छ । त्यसैले महिलालाई न्याय दिने भन्दा पनि धेरैजसो कुरा मिलाउने पक्षमा उभिन्छ ।” 

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाकी सहायक प्रमुख जिल्ला अधिकारी मनिता कार्कीका विचारमा पटक पटक श्रीमान्बाट पीडित भए पनि आर्थिक र शैक्षिक स्तर कमजोर भएका कारण महिलासँग मिल्नुको विकल्प हुँदैन । एकैछिनको पीडाले प्रहरीमा श्रीमान् विरुद्ध उजुरी गरे पनि उनी श्रीमान्लाई जेल पठाउन वा कडा कारबाही होस् भन्ने चाहन्नन् । कार्की भन्छिन्, “श्रीमान्सँग सम्बन्ध तोडेर फेरि अर्कोसँग जोडिएको सम्बन्ध राम्रो हुन्छ भन्ने पनि हुँदैन । त्यही भएर उनीहरू पीडकलाई कारबाही नै होस् भन्ने निर्णयमा पुग्दैनन् ।”

लकडाउनको समयमा पनि…

कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा थियो । सवारी साधन सञ्चालन पूर्ण रूपमा ठप्प थियो । १७ वैशाख २०७७ का दिन सिद्धिचरण नगरपालिका ओखलढुङ्गाकी २१ वर्षीय बेली विक जिल्ला अस्पताल रुम्जाटारमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा रगताम्य भएर आइपुगिन् । १६ गते बेलुका उनका पति २७ वर्षीय चाँप विकको कुटपिट र खुकुरी प्रहारबाट घाइते भएकी बेली भागेर करीब तीन घण्टा टाढा रहेको ओसीएमसीमा आइपुगेकी हुन् । जीउभरि नीलडाम थिए ।

१६ वैशाख साँझ के भएको थियो ? उनले बेलीविस्तार लगाइन्, “दैनिक ज्यालादारीको काम गर्ने पति लकडाउनका कारण घरमै थिए । साँझ रक्सीले मातेर आए । शुरूमा खाना मीठो नभएको भनिरहेका उनी एकैछिन पछि मनपरी भन्न थाले । आफू घरमा भएकोले तँ परपुरुषसँग जान नपाएकी भन्दै  खुकुरीले हाने ।” बेली भन्छिन्, “छिमेकीले खुकुरी खोसेर मलाई जोगाए । नत्र मार्थे ।”

लोग्नेको खुकुरी प्रहार रोक्न खोज्दा बेलीको दुवै हातमा चोट लागेको छ । रुम्जाटार अस्पतालमा दुई दिन उपचार गरेपछि उनी ठीक भइन् । ओसीएमसीको पहलमा रुम्जाटार विमानस्थलमा रहेको प्रहरी कार्यालयको समन्वयमा उनका पति चाँपलाई बोलाई मिलापत्र गराएर घर पठाइएको ओसीएमसीका घटना व्यवस्थापक कुमारी तामाङ्गले बताइन् ।

‘घटना दोहो¥याए कानूनी कारबाही भोग्न तयार छु’ भनेर श्रीमान्ले माफी मागेको र लकडाउनको समयमा अन्य सेवा सहज नभएकोले दुवैको सहमतिमा मेलमिलाप गरी घर फर्काइएको तामाङ्गको भनाइ छ । सामान्य लेखपढ गर्न पनि नसक्ने उनीहरूको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । चार वर्षअघि विवाह गरेका यी दम्पतीका तीन वर्षीय छोरी र एक वर्षीय छोरा छन् ।        

• ओखलढुङ्गामा मात्रै लकडाउनको अवधिमा २८ घरेलु तथा लैङ्गिक हिंसाका घटना भएका छन् । जिल्ला अस्पताल रुम्जाटारमा रहेको ओसीएमसीका घटना व्यवस्थापक कुमारी तामाङ्गका अनुसार, लकडाउनको अवधिमा २८ वटा घरेलु तथा लैङ्गिक हिंसाका पीडितहरू सम्पर्कमा आएका छन् । लकडाउनका कारण अहिले पीडितहरू प्रहरीसम्म पुग्न पनि समस्या छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार लकडाउनको अवधिमा घरेलु हिंसाका एउटा पनि जाहेरी परेको छैन । यी तीन जिल्लाका प्रहरी कार्यालयका प्रमुख तथा प्रवक्ताहरूले घरेलु हिंसाको उजुरी नआएको जनाएका हुन् ।

तर, प्रहरीमा उजुरी नआउँदैमा समुदायमा घटना भएकै छैन भन्न सक्ने अवस्था नरहेको महिला रक्षक सञ्जाल खोटाङकी अध्यक्ष पूर्णकला तामाङ्गले बताइन् । “समुदायमा अझ बढी महिलाहरू पीडित भएका छन्” उनले भनिन्, “लकडाउनका कारण पीडितहरू प्रहरीसम्म पुग्न सकेका छैनन् ।” घरेलु हिंसा प्रभावितका लागि जिल्ला सेवा केन्द्र सोलुखुम्बुकी इन्चार्ज निर्मला बस्नेतको भनाइमा पनि “घटना बाहिर नआएको मात्रै हो, लकडाउनको समयमा महिलाहरू पीडित हुने क्रम रोकिएको होइन ।” खोज पत्रकारिता केन्द्र

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार