• २०७७ जेठ २१ बुधबार

सिमानामा भारतले एकतर्फी बाँध बनाएपछि रौतहटमा डुबानको जोखिम (भिडियो)

वर्षात कसरी कटाउने भन्ने चिन्तामा स्थानीय

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ मा पर्ने नेपाल भारत सिमानामा भारतले बाँध अग्लो बनाउँदै छ । नेपाल र भारत पक्षसँगको सम्झौतालाई लत्याउँदै भारतीय पक्षले लकडाउनको मौकामा बाँधको उचाइ ५ फिट बढाउन थालेपछि स्थानीयवासी त्रसित बनेका छन । उक्त बाँधको कारण वर्षाको पानीले निकास नपाउँदा वर्षेनी रौतहटका धेरै क्षेत्र डुबानमा परेका छन ।

अघिल्लो वर्षमात्रै नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ डुबानमा परेको थियो । यो वर्ष थप डुबानमा पर्ने चिन्ताले स्थानीयलाई सताउन थालेको छ । कोरोना भाइरस संक्रमणका कारण दुबै देश लकडाउनको अवस्थामा छ । नेपाल भारत सीमा सिल गरिएको छ । तर भारत भने दशगजा क्षेत्रमा बनाएको बाँधको उचाइ बढाउन लागिपरेको छ । भारतले जंगे पिलर ३ सय ४७ को पूर्व, मझौला पिलर नम्बर ३४६ ५ हुँदै बन्जरहासम्मको भूभाग समेटेर बाँध अग्लो बनाएको छ ।

विगतका वर्षहरुमा बाँधकै कारण डुबानमा पर्ने गरेकोमा यस वर्ष भारतले बाँधको उचाइ झन थपेपछि यसपालिको वर्षा कसरी कटाउने भन्ने चिन्ताले सताउन थालेको स्थानीय युवा आलोक कुमार सोनीले बताए । नेपाल सरकारले भारत सरकारसँग कुरा गरेर तुरुन्त बाँध भत्काउन र सो सम्भव नभए बाँधका विभिन्न स्थानमा पानीको निकास बनाउन लगाउनुपर्ने  उनको माग छ । अर्का स्थानीय मनोजकुमार सिंहले बाँधकै कारण ईशनाथवासीले वर्षेनी ३ महिना डुबानमा बस्नुपर्ने वाध्यता रहेको सुनाए । यसरी बाँधको उचाई निरन्तर बढ्दै गएपछि थप जोखिम बढेको सिंहको भनाई छ । 

ईशनाथनगरपालिकाका नगरप्रमुख सन्तोष कुमार मेहत्ता बाँधको कारण नगरपालिका वर्षेनी डुबानमा परेको बारे जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पटक पटक कुरा राखेपनि यसको समधानको लागि कुनै प्रयास नभएको गुनासो गर्छन । प्रमुख जिल्ला अधिकारीलाई पनि यस सम्बन्धमा कुरा गर्दा उहाँले आफुले यसबारेमा माथि कुरा राखिसकेको बताउने गरेको भन्दै यसको दीर्घकालीन समाधानको लागि नेपाल सरकारले भारत सरकारसँग स्पष्ट ढंगबाट कुरा गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे यसअघि सो बाँधमा थप कुनैपनि कार्य नगर्न भनेर नेपाल र भारतको प्रशासनबीचमा भएको सम्झौता भारतीय पक्षले नमानेर बाँधको उचाइ बढाइरहेको बताउँछन । भारतले दशगजाको बाध लाई उचाई थप्ने कार्य रोकेको अधिकारीले बताए । घिमिरेले बाँध निर्माण भइरहेको छिमेकी जिल्ला भारतको मोतिहारीका डी।एम तथा वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतसित कुराकानी गरेको बताए ।

दशगजा क्षेत्रमा कुनै किसिमका संरचना बनाउन नपाईने नीति बिपरित बनाइएको अवैध बाँधका कारण बर्षेनी नेपाली भूभाग डुबानमा पर्दै आएको छ । यस्ता कार्यले स्थानीयमा थप त्रास पैदा भएको छ । भारतीय पक्षको यस्तो हेपाहा प्रवृत्ति बिरुद्ध सरकारले तत्काल कदम चाल्नुपर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार