• २०७७ जेठ २१ बुधबार

राहतका विषयमा दुई पार्टीबीच झडप, उपमेयरका छोराले गोली चलाए

तीन जना गम्भिर घाइते

सिरहाको नरहा गाउँपालिकामा गोली चलेको छ । नरहा गाउँपालिका वडा नम्बर –१ देविपुरमा राहत विषयमा भएको झडपमा गोली चलेको हो ।

नरहा गाउँपालिकाकी उपमेयर गुलाब देवि चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका हुन् । उनको दाहिने कञ्चटमा गोली लागेको बताइएको छ । उनको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मण्डललाई लगत्तै जिल्ला अस्पताल सिरहा लगिएकोमा त्यहाँबाट विराटनगर रिफर गरिएको छ । उनीसँगै झडपमा गम्भीर घाइते भएका थप दुई जना गरि तीन जनालाई विराटनगर रिफर गरिएको हो । झडपमा परी अन्य २० जना घाइते भएको बताइएको छ । नेपाली कांग्रेस तर्फका १२ जना तथा नेकपा तर्फका ७ जना घाइते भएका हुन् । उनीहरु सबैको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । नेपाली कांग्रेस तथा अन्य पार्टी निकट स्थानीयहरु राहत वितरणको विषयमा वडाध्यक्ष अशोक साहसँग कुरा गर्न वडा कार्यालय पुगेका थिए । राहत वितरणमा काखापाखा भएको भन्दै भनाभनपछि विवाद उग्र बनेर दुई पक्षबीच झडप भएको हो । सोही क्रममा उपमेयरका छोरा अरविन्दले गोली चलाएका हुन् ।

उपमेयर चौधरी र वडाध्यक्ष साह तत्कालिन एमालेबाट निर्वाचित भएका छन् । यता, प्रहरीले भने दुई पक्षीय झडपमा केहि व्यक्ति घाइते भएपनि गोली चलेको वा नचलेको बारे पुष्टि हुन नसकेको बताएको छ ।

‘गोलीको हल्ला छ, तर पुष्टि भएको छैन,’ जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सूचना अधिकारी विनोद घिमिरेले भने । घटना विषयमा अनुसन्धान भइरहेको डिएसपी घिमिरेले जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार