• २०७७ असार २९ सोमबार

विदेशबाट फर्कने नेपालीका लागि काठमाडौँका ९ स्थानमा होल्डिङ सेन्टर (भिडियोसहित)

शुल्क तिरेर बस्न चाहनेलाई होटेलको व्यवस्था

विश्वव्यापी कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रवारदेखि सुरु हुदैछ ।  दैनिक २ हजार ५ सयका दरले २५ हजार यात्रु सरकारले विमान चार्टर गरेर ल्याउने सरकारको तयारी छ ।  

उद्धारको पहिलो दिन युएईमा रहेका  २१० जना नेपाली लिएर युएईको विमान काठमाडौँ आउँदै छ । जसको लागी नेपाल सरकारले विमान पठाउन नपर्ने भएको छ । यस्तै म्यानमारबाट समेत सोही देशको सैनिक विमानले त्यहाँ अलपत्र २६ नेपाली लिएर आउनेछ । म्यानमारबाट आउने विमानले नेपालमा रहेका आफ्नो देशका नागरिकलाई लैजाने भएकाले यसका लागी पनि नेपाल सरकारले केही गर्नुपर्ने छैन ।  तर अन्य देशमा रहेका नेपालीका लागी भने सरकारले सकेसम्म नेपाल एयरलाइन्स वा नेपालकै अरू एयरलाइन्सका विमान प्रयोग गर्ने योजना छ । 
विदेशबाट ल्याइएका मानिसलाई विमानस्थलमा सामान्य स्वास्थ्य चेक जाँचपछि स्थायी ठेगानाअनुसार प्रदेशगत रूपमा विभाजन गरी विमानस्थलबाट सिधै होल्डिङ सेन्टरमा लगिनेछ । त्यहीँबाट सेनाले व्यवस्था गरेका सवारीसाधनमार्फत सम्बन्धित जिल्ला हुँदै स्थानीय तहका क्वारेनटाइनमा पठाइनेछ । यसका लागी होल्डिङ सेन्टरबाट सम्बन्धित व्यक्तिको स्थानीय तहले रिसिभ गर्नुपर्नेछ । 

सरकारले विदेशबाट आउने नेपालीलाई व्यवस्थापन गर्न उपत्यकाभित्र ९ स्थानमा होल्डिङ सेन्टर र ४ स्थानमा कोरोना डेडिकेटेड क्वारेनटाइन तयार पारेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका ९ वटा पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको हो ।
यस्तै, १ हजार ७ सय मानिस बस्न मिल्ने गरी ४ वटा सार्वजनिक तथा निजी संरचनालाई कोरोना डेडिकेटेड क्वारेनटाइन बनाइएको छ ।

होल्डिङ सेन्टरका लागि काठमाडौँमा ४, ललितपुरमा ३ र भक्तपुरमा २ वटा पार्टी प्यालेस भाडामा लिइएको छ । विदेशबाट ल्याइएकालाई विमानस्थलस्थित अध्यागमन र त्यहीको हेल्थ डेस्कबाट सामान्य स्वास्थ्य परीक्षण गरेर होल्डिङ सेन्टरमा लगिनेछ । होल्डिङ सेन्टर र क्वारेनटाइनको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । होल्डिङ सेन्टरबाट मानिसलाई स्थायी ठेगाना भएका स्थानीय तहसम्म पुर्‍याउन पनि सेनालाई नै सवारी व्यवस्थापनको जिम्मा दिइएको छ । क्वारेनटाइन र होल्डिङ सेन्टर व्यवस्थापनका लागि बुधवार उपत्यकाका तीन वटै जिल्लाका प्रजिअहरूको संयुक्त बैठक बसेको थियो ।

भक्तपुर प्रशासनले प्रदेश १ र २, काठमाडौँ प्रशासनले बाग्मती, गण्डकी र प्रदेश ५ तथा ललितपुर प्रशासनले कर्णाली र सुदूरपश्चिम प्रदेशका मानिसलाई होल्डिङ सेन्टर पुर्‍याउन र त्यहाँबाट सम्बन्धित स्थानीय तहसम्म पठाउने व्यवस्था मिलाउनेछन् । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारले विदेशबाट आउने मानिसले शुल्क तिरेर होटेलमा बस्न चाहेमा त्यसको समेत व्यवस्था हुनेछ ।  जेठ १२ र १७ मा बसेको मन्त्रिपरिषद् बैठकले भारतसहित विदेशबाट ल्याइने मानिसको व्यवस्थापनसम्बन्धी आदेश–२०७७ पारित गर्दै सोहीअनुसार क्वारेनटाइनसहितको पूर्वाधार व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयहरूलाई जानकारी दिएको थियो । जसअनुसार क्वारेनटाइन र होल्डिङ सेन्टर सहरी विकास मन्त्रालयको संयोजनमा तयार पारिएको हो । तर अब यसको व्यवस्थापन महिला बालबालिका तथा समाज कल्याण मन्त्रीकै संयोजनमा नेपाली सेनाले गर्नेछ । 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार