• २०७७ असार १८ बिहीबार

लकडाउनको बाध्यतासँगै १८ अर्ब अन्तःशुल्क घट्यो

कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य लिएको भन्दा १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्कमा गिरावट आएको छ । 

यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र ३६ अर्ब चार करोड ९२ लाख १३ हजार राजस्व अशुल गर्ने लक्ष्य लिएकोमा १७ अर्ब ९२ करोड आठ लाख आठ हजार मात्र राजस्व सङ्कलन भएको छ । कार्यालयले दिएको जानकारीअनुसार अन्तःशुल्कको लक्ष्यको ४९ दशमलव ७१ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । जेठ मसान्तसम्ममा कूल राजस्व सङ्कलन ४० अर्ब ५८ करोड ५५ लाख ६२ हजार हुने लक्ष्य राखिएकोमा २१ अर्ब ६१ करोड छ लाख २३ हजारमात्र सङ्कलन भएको छ । जुन लक्ष्यको ५३ दशमलव २५ प्रतिशतमात्र हुन आउँछ । कूल लक्ष्यभन्दा रु १८ अर्ब ९७ करोड ४९ लाख ३९ हजार कम राजस्व उठेको हो ।

जेठ महिनामा मात्र अन्तःशुल्कबाट पाँच अर्ब २५ करोड १३ लाख ६९ हजार राजस्व उठाउने लक्ष्य राखिएकोमा एक अर्ब १० करोड ५३ लाख ४९ हजार राजस्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ । अन्तःशुल्कमा धेरै राजस्व सङ्कलन हुने गर्दछ । यसअन्तर्गत बियर, मदिरा, सुर्तीजन्य, पेन्ट्स, सिमेन्ट, हल्का पेय पदार्थ, फलामको निर्माण सामग्री, ग्रिल, चाउचाउ, दालमोठ, भुजियाजस्ता सामग्री पर्दछन् । यस कार्यालयले चितवन र नवलपरासीको त्रिवेणी–सुस्ता पूर्वको भाग हेर्दै आएको छ । यस क्षेत्रमा सात वटा मदिरा र छ वटा बियर उद्योग रहेका छन् ।

कार्यालयका प्रमुख सुवप्रसाद रिजालका अनुसार अन्तःशुल्कमा विभिन्न सामग्री पर्ने भए पनि अधिकांश हिस्सा बियर र मदिराले ओगट्ने गर्दछ । गत वर्षको जेठ मसान्तसम्ममा अन्तःशुल्क २४ अर्ब ७२ करोड ७२ लाख ३१ हजार सङ्कलन भएको थियो । जुन लक्ष्यको १०४ प्रतिशत रहेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ मा पनि जेठसम्ममा अन्तःशुल्क १७ अर्ब दुई करोड ८३ लाख ९९ हजार सङ्कलन भएको थियो । जुन लक्ष्यको ११५ दशमलव ९६ प्रतिशत राजस्व सङ्कलन भएको उनको भनाइ छ । यस वर्षको असार मसान्तसम्ममा अन्तःशुल्कमा ३७ अर्ब ९४ करोड ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ । रिजालले यस वर्ष पनि लकडाउन नभएको भए लक्ष्य वरपरनै राजस्व उठ्ने भए पनि प्रभावित बनेको बताए ।

मदिराजन्य वस्तु बिक्री वितरण, निष्काशन र ढुवानी रोकिएकै कारण राजस्वमा मुख्य प्रभाव भएको उनको भनाइ छ । शिलबन्दी मदिरा र बियर बजारमा उपलब्ध नहुँदा अवैध मदिराको खपत बढेको व्यवसायीले जनाउँदै आएका छन् । रिजालले भने “व्यवसायीले भने जस्तो हो भने बियर र मदिरा बजारमा जान नपाउँदा राजस्व र मानव स्वास्थ्यमा असर परेको छ ।” उनले थपे, “कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको विकल्प नभएकै कारण लकडाउन गर्नुपरेको हो ।” राजस्वभन्दा मानव स्वास्थ्य ठूलो भएको भन्दै उनले लकडाउन खुकुलो हुँदै जाँदा राजस्व सङ्कलन बढ्दै जाने बताए । लकडाउनकै कारण कोरोना सङ्क्रमण समुदायमा फैलनबाट धेरै रोकिएको छ ।

यस कार्यालयअन्तर्गत व्यवसायी प्यानमा ६५ हजार ८५३, व्यक्तिगत प्यानमा ८३ हजार ८७ र सरकारी कार्यालयको प्यान डब्लु प्यानमा ५४ करदाता रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार