• २०७७ असार २९ सोमबार

छाङ्गरु र तिंकरवासीलाई भोकमरीको चिन्ता

यी गाउँमा मात्रै उत्पादन हुने खाद्यान्नले स्थानीयको जीवन चल्दैन

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ का छाङ्गरु र तिंकरवासीको आर्थिक, सामाजिक चित्र ।

यो त्यही गाउँ हो, जसको यतिवेला मुलुकभित्र र बाहिर चर्चा छ । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को छाङ्गरु र तिंकर गाउँको भू–भाग समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि भूराजनीतिमै नयाँ हलचल आएको छ ।

तर, छाङ्गरु र तिंकरवासी कस्तो अवस्थामा छन् ? ती विकट गाउँको सामाजिक र आर्थिक अवस्था कस्तो छ ? संघ, प्रदेश मात्र होइन; स्थानीय सरकार पनि नक्शामा थपिएको भूगोलवासीका समस्याप्रति बेखबर छन् ।

नक्शामा थपिएको सबै भूभाग दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा पर्छ । सदरमुकाम दार्चुलाबाट सात दिन पैदल हिंडेर तिंकर गाउँ पुगिन्छ । स्थानीय वीरसिंह बोहरा अहिले परिवारको पेट कसरी पाल्ने भन्ने चिन्तामा छन् । बोहरा भन्छन्, “यसपालि बारीमा लगाएको आलु कुहियो । फापर, उवा र कोदो पनि राम्रो भएन, हामी कसरी बाँच्ने ?”

सौका समुदायको भेषभुषामा स्थानीय महिला । तस्वीरहरु: कमलराज जोशी, दार्चुला

यी दुई गाउँका बासिन्दाको मुख्य समस्या खाद्यान्न अभाव हो । यी गाउँमा मात्रै उत्पादन हुने खाद्यान्नले स्थानीयको जीवन चल्दैन । गाउँमा खाद्यान्न अभाव भएकोले हेलिकप्टरबाट ढुवानीको पहल गरिएको गाउँपालिका अध्यक्ष दिलीपबहादुर बुढाथोकी बताउँछन् । बुढाथोकी भन्छन्, “खाद्यान्न उत्पादन शून्य भएकाले भोकमरी लाग्ने अवस्था छ । राज्यले व्यासमा तत्काल खाद्य डिपो स्थापना गर्नुपर्छ ।”

नक्शामा थपिएको व्यास गाउँपालिका–१ को छाङ्गरुमा १२० र तिंकरमा ७२ घरधुरी गरेर १९२ परिवार बसोबास गर्छन् । व्यास गाउँपालिकाको वस्तुगत विवरण २०७४ का अनुसार, वडा नम्बर १ को जनसंख्या १२०० छ ।

अन्नको जोहो गर्न स्थानीयले एक हप्ता पैदल हिंडेर सदरमुकाम दार्चुला झर्नुपर्छ वा भारतको धार्चुला/चम्पावत पुग्नुपर्छ । सदरमुकाम नआउने र भारतको धार्चुला वा चम्पावत पनि नजाने हो भने हप्ता दिन लगाएर चीनको ताक्लाकोट पुग्नुपर्छ ।

हरेक वर्ष हिमपात शुरू हुनुअगावै (असोज–कात्तिक) उनीहरू फलफूल र जडीबुटी लिएर सीमापारि भारत वा चीनको ताक्लाकोट बजार जान्छन् । रैथाने उत्पादन बिक्री गरेर खाद्यान्न किनेर फर्किन्छन् । व्यास क्षेत्रमा हिउँदका ६ महीना बस्न नसकिने गरी हिमपात हुने भएकोले उनीहरू करीब ६ महीना सदरमुकाम दार्चुला आसपास आश्रय लिन्छन् । छाङ्गरु र तिंकरमा वर्षमा एक बाली मात्रै खेती हुन्छ ।

असोज–कात्तिकमा बेसी (दार्चुला र सीमापारिको भारतीय बजार धार्चुला र पिथौरागढ) झर्ने अनि चैत नलाग्दै खाद्यान्न बोकेर गाउँ उक्लने सौका समुदाय (जनजाति) ले यसपटक दोहोरो सास्ती झेले । कोरोना नियन्त्रण गर्न गरिएको देशव्यापी लकडाउनले उनीहरू सीमापारिका भारतीय बजार पिथौरागढ र धार्चुला अनि चीनको ताक्लाकोट जान पाएनन् ।

अपि बेसक्याम्प जाँदै गरेका स्थानीय ।

त्यस्तै नयाँ नक्शा जारी भएपछि भारतसँग सीमा विवाद बल्झिंदा दार्चुला आउ–जाउ गर्न पनि उनीहरूलाई समस्या भयो । दार्चुला सदरमुकामबाट छाङ्गरु र तिंकर जान भारतीय बाटो प्रयोग गर्नुपर्छ । तिंकरका लोकबहादुर बुढाथोकी भन्छन्, “आफ्नै गाउँ जान यत्रो सास्ती छ ।”

यी गाउँमा खान, बस्न मात्र होइन; शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा साँच्चिकै समस्या छ । “सडक लगायतको भौतिक पूर्वाधार टाढाको कुरा भयो, मान्छेलाई त्यहाँ बाँच्नै कठिन छ । राज्यको उपस्थिति शून्य छ” गाउँपालिका अध्यक्ष बुढाथोकी भन्छन्, “नक्शामा भूमि समेटेर मात्रै राष्ट्रियता जोगिंदैन । सिमानामा बस्नेहरूको छाक कसरी टर्छ, सरकारले हेर्नुपर्छ ।”

हुन पनि नेपालले नयाँ नक्शा छापेपछि स्थानीयहरू भारतीय बजार जान डराएका छन् । कोरोना संकटका कारण चीनको ताक्लाकोटसँगको स्थानीयको व्यापार ठप्प छ । वडा नम्बर १ का दानसिंह तिंकरी भन्छन्, “हामीलाई समस्या माथि समस्या थपियो । हाम्रा उत्पादन सीमापारिका भारतीय र चिनियाँ बजार नजाने हो भने हामीले यो गाउँ छोड्नुको विकल्प छैन ।”

ज्वरो नाप्न चार घण्टा

तिकंरमा स्वास्थ्य सेवा छैन । छाङ्गरुमा रहेको स्वास्थ्य चौकी पुग्न त्यहाँबाट चार घन्टा पैदल हिंड्नुपर्छ । स्थिति कतिसम्म पीडादायी छ भने, त्यहाँका बासिन्दाले ज्वरो नाप्न चार घण्टा पैदल हिंडेर तिंकर वा सीमापारिको भारतीय बजार पुग्नुपर्छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि जनताको पहिलो माग नै स्वास्थ्य चौकी खोलियोस् भन्ने थियो । वडा सचिव विनोद बुढाथोकी भन्छन्, “वडा परिषद्ले स्वास्थ्य चौकी खोल्ने निर्णय ग¥यो । अब खुल्ने तयारी हुँदैछ ।”

दार्चुला सदरमुकाममा संचालित व्यास–१ को वडा र स्वास्थ्य कार्यालय ।

दार्चुला सदरमुकाममा संचालित व्यास–१ को वडा र स्वास्थ्य कार्यालय ।

छाङ्गरु र तिंकरमा अहिलेसम्म कोरोना परीक्षण पनि भएको छैन । “भर्खरै स्वास्थ्यकर्मी त्यता जान लाग्नुभएको छ”, सदरमुकाममा भेटिएका वडा सचिव विनोद बुढाथोकी भन्छन्, “गाउँमा नयाँ मान्छे कोही छैन, सबै यतै सदरमुकामबाट गएका मान्छे हुन् । त्यही भएर परीक्षण गरिएन ।” व्यास गाउँपालिकाको वस्तुगत विवरण २०७४ मा ४५ प्रतिशत स्थानीयले स्वास्थ्य सेवा लिने गरेको उल्लेख छ । गाउँपालिका उपाध्यक्ष हेमा भट्टका भनाइमा, स्वास्थ्य संस्थामा सुत्केरीको पहुँच ३३ प्रतिशत छ । स्थानीय बिक्रम बोहरा भन्छन्, “सुत्केरी हुन महिलाहरू तीन महीना अघिदेखि नै सदरमुकाम दार्चुला बस्ने गर्छन् ।” स्थानीय रामसिंह तिंकरी भन्छन्, “स्वास्थ्यकर्मी तीन महीना मात्रै गाउँमा र बाँकी समय सदरमुकाममा हुन्छन् ।”

हुँदाहुँदा व्यास गाउँपालिका–१ का दुईवटै विद्यालय समेत सदरमुकाममा छन् । दार्चुला सदरमुकाममा संचालित कैलाशपति आधारभूत विद्यालय व्यास–१ छाङ्गरुका नाममा दर्ता छ । विद्यालयमा १७५ जना छात्रछात्रा छन् । त्यहाँ छाङ्गरुका विद्यार्थी ५० जना जति होलान् । कैलाशपति माविका व्यवस्थापन समितिका अध्यक्ष ललित बोहरा भन्छन्, “सदरमुकाममा खोलिए पनि विद्यालय छाङ्गरुकै हो ।”

त्यसैगरी तिंकर गाउँका नाममा दर्ता भएको मोतिमहिला संघ प्राथमिक विद्यालय पनि सदरमुकाम दार्चुलामै छ । स्कूल मात्र होइन, व्यास गाउँपालिका वडा नम्बर १ को कार्यालय पनि सदरमुकाममै खोलिएको छ ।

२०७६ कात्तिक पहिलो साता वडा कार्यालयका पूरै सामान लिएर सदरमुकाम आएका सचिव विनोद बुढाथोकी भन्छन्, “वडाभरिकै सबैजसो मानिस सदरमुकाम झर्ने गर्दछन् । असोज कात्तिकमा बसिनसक्नु हिमपात हुन्छ । स्थानीय बासिन्दासँग सबै सरकारी संयन्त्र सदरमुकाम आउने भएकोले वडा पनि सर्छ । प्रहरी, स्वास्थ्य चौकी र वडा कार्यालय सबै सदरमुकामबाटै चल्छन् ।”

व्यास–१ को छाङ्गरु र तिंकर जाने तयारी गर्दै स्थानीय ।

कतिसम्म भने सीमा सुरक्षाका लागि व्यास गाउँपालिका वडा नम्बर १ मा स्थापना गरिएको प्रहरी चौकी पनि हिमपातका कारण सदरमुकाम सर्न बाध्य हुन्छ । प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा ११ माघ २०२९ मा त्यहाँ चौकी स्थापना भएको थियो । द्वन्द्वकालमा सीमा प्रशासन कार्यालय, सीमा प्रहरी कार्यालय, प्रहरी चौकी, छोटी भन्सार विस्थापित भएका थिए । तर, द्वन्द्वकालपछि प्रहरी कार्यालय पुनस्र्थापना भए पनि अरू सरकारी कार्यालय त्यहाँ फर्केका छैनन् ।

३१ वैशाख २०७७ मा सरकारले हेलिकप्टरबाट व्यास गाउँपालिकाको गागाबगरमा प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरीको क्याम्प खडा गरेको छ ।

स्थानीय र प्रदेश सरकारका विकास कार्यक्रमबाट पनि व्यास गाउँपालिका खासै लाभान्वित हुनसकेको छैन । व्यास गाउँपालिकाले वडा नम्बर १ का लागि आव २०७३/७४ मा ७३ लाख, आव २०७४/७५ मा ५२ लाख र २०७५/७६ मा ३५ लाख रुपैयाँ खर्च गरेको छ । धेरैजसो रकम सदरमुकाम केन्द्रित तालिम गोष्ठीमै सकिने गरेको छ । स्थानीय दानसिंह तिंकरी भन्छन्, “कामै नगरी पैसा सकिन्छ । सदरमुकाममा बसेको ७ दिन टाढाको वडा कार्यालयले कसरी बजेट कार्यान्वयन गर्नु ?”

आव २०७५/७६ मा सुदूरपश्चिम प्रदेश सरकारले व्यास–१ छाङ्गरुमा गागा तटबन्ध बनाउन ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा ज्याक्ती घोडेटो बाटो निर्माण र टेलिफोन टावर कुरुवा घर निर्माणमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । “बजेट आउँछ तर कसरी खर्च हुन्छ, मलाई जानकारी हुँदैन” वडा सचिव विनोद बुढाथोकी भन्छन्, “लेक क्षेत्रतिर काम हुँदै होला । दोहोरो बसाइका कारण बजेट कार्यान्वयनमा पनि चुनौती छ ।”

भारत हुँदै व्यास–१ छाङ्गरु गाउँ निस्कने महाकाली नदीमाथिको सीता पुल ।

व्यास–१ को सीमापारि भारतीय बजार छ । भारततिर धार्चुलादेखि कालापानीसम्म मोटर बाटो छ । त्यहाँ भारतीय सेनाले खोलेका स्वास्थ्य केन्द्रहरू छन् । विद्यालय र अस्पताल छ । तर, नेपालतिर महाकाली वारि भने अहिले पनि स्थानीयलाई बाँच्नका लागि हिउँदमा लालावाला बोकेर भारतीय बाटो हुँदै दार्चुला झर्नुपर्ने र चैत लागेपछि त्यही बाटो उकालो लाग्नुपर्ने बाध्यता छ ।

नेपाल–भारत–चीन त्रिदेशीय सीमाबिन्दु यो क्षेत्रमा बाह्रैमास सञ्चार सुविधा छैन । स्काई टावर छाङ्गरुमा मात्रै छ, त्यो पनि ६ महीनादेखि अवरुद्ध छ । यो टावरले तिङ्करसम्म ‘कभर’ गर्दैन । मोबाइल–टेलिफोन सेवाबाट पनि जनता वञ्चित छन् ।

व्यास गाउँपालिका अध्यक्ष बुढाथोकी वर्षको चार महीना (असार–साउन अनि चैत र वैशाख) मात्र विकास निर्माणका काम गर्न सकिने भएकाले उपलब्धि कम देखिएको बताउँछन् । वडाध्यक्ष अशोक बोहरा विकास हुन नसक्नुमा मुख्य कारण गाउँमा ६ महीना (वैशाख–असोज) मात्रै बसोबास गर्न सकिने अवस्थालाई मान्छन् । ६ महीना गाउँ रित्तो हुने हुँदा यस वर्षदेखि गाउँपालिकाले बस्ती हेरालु राख्ने निर्णय गरेको छ ।

भारतकै बाटो

सदरमुकाम खलंगाबाट व्यास गाउँपालिकाको वडा नम्बर १ का छाङ्गरु, तिंकर, गुन्जी, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र जान अहिले पनि भारतको बाटो प्रयोग गर्नुपर्छ । यसका लागि खलंगाबाट केही माथि गएपछि सीमा नदी महाकाली तर्नुपर्छ ।

भारतीय सुरक्षाकर्मीसँग पास लिएर भारतीय भूमि हुँदै हिंडडुल गर्नुपर्ने बाध्यता छ । “नेपालभित्रैबाट छाङ्गरु र तिंकर जान–आउन सम्भव छैन” व्यास गाउँपालिका अध्यक्ष दिलीप बुढाथोकी भन्छन्, “नेपालतर्फ पैदल हिंड्न मिल्ने गोरेटो बाटो पनि छैन, हरेक पटक भारतीय प्रहरीको अनुमति लिएर हिंड्नुपर्छ । साह्रै पीडा हुन्छ ।”

अहिले खलंगादेखि ४० किलोमिटर दूरीमा रहेको व्यास गाउँपालिकाको केन्द्र सुनसेरासम्म खाद्यान्न ढुवानीका लागि ट्रयाक्टर चल्छन् । अहिले पनि भारतको बाटो हुँदै खलंगाबाट तिंकरभञ्ज्याङ पुग्न करीब ५ दिन लाग्छ । भारततर्फ पिथौरागढ जिल्लाको धार्चुलाबाट सीधै कालापानीसम्म गाडी चल्ने गरी सडक निर्माण भएको छ ।

मन्त्रिपरिषद्ले १४ वैशाखमा खलंगादेखि घाँटीबगरसम्मको ६५ किलोमिटर सडक विभागलाई र घाँटीबगर–तिंकरभञ्ज्याङ ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको छ ।

२०६४ सालमा सर्भे गरिएको १३० किलोमिटर लामो दार्चुला–तिंकर सडक आयोजनाको निर्माण कार्य शुरू भएको ११ वर्ष भइसक्यो । अहिलेसम्म एकतिहाइ काम पनि सकिएको छैन । अघिल्लो वर्ष मात्रै आयोजनाको समयावधि तीन वर्ष थप गरिएको छ ।

“व्यास क्षेत्रको विकास गर्न सडक पुग्नुपर्छ तर अहिलेसम्म पनि सडक पूरा हुनसकेको छैन” यस क्षेत्रका जनप्रतिनिधि सुदूरपश्चिम प्रदेश सभा सदस्य ग्याल्बु बोहरा भन्छन्, “संघीयता आएपछि गाउँमा केही बजेट त गयो तर विकास चाहिं भएन ।”

१८१६ को सुगौली सन्धि अनुसार कालीनदी र त्यस पूर्वको भूभाग नेपालको अभिन्न अंग भए पनि यसअघि प्रचलनमा रहेको नेपालको नक्शामा ती भूभाग समेटिएका थिएनन् । सरकारले ७ जेठ २०७७ मा  नयाँ राजनीतिक नक्शा जारी गरेपछि ती भूभाग नेपालमा समेटिएका छन् । नयाँ नक्शा अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग किलोमिटर कायम भएको छ । तत्कालीन व्यास, राप्ला, सुनसेरा, धौलाकोट र हुती गाविस मिलेर व्यास गाउँपालिका गठन भएको हो । त्यहाँको जनसंख्या १० हजार ३४७ छ । गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ मा मात्रै सडक पुगेको छ । वडा नं. १, २ र ३ मा सडक पुगेको छैन ।

व्यास गाउँपालिकामा कृषियोग्य जमीन १३ प्रतिशत मात्रै रहेको छ । “त्यसैले हाम्रो पहिलो प्राथमिकता नै खानेकुराको जोहो गर्नु हो” गाउँपालिका अध्यक्ष बुढाथोकीले भने, “सरकारले सडक बनाइदिए सानातिना विकास त हामी आफैं गर्न सक्छौं ।”

नेपालले आफ्नो राजनीतिक नक्शामा समेटेको व्यास गाउँपालिका वडा नम्बर १ मा गुञ्जी, नाभी र कुटी पनि पर्छन् । ती गाउँका करीब तीन हजार बासिन्दासँग अहिले भारतीय आधारकार्ड छ । व्यास गाउँपालिकाको वस्तुगत विवरण २०७४ मा भने ती गाउँको जनसंख्या र तथ्याङ्क समेटिएको छैन । त्यहाँ दुई वटा विद्यालय र दुई स्वास्थ्य संस्था पनि सञ्चालनमा रहेको व्यास गाउँपालिका वडा नम्बर १ का वडा सचिव विनोद बुढाथोकी बताउँछन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतले इन्डो–तिब्बतेन बोर्डर फोर्स (आईटीबीपी) परिचालन गरी सो क्षेत्रमा सैन्य र अर्धसैन्य गरी पाँच हजार सुरक्षाकर्मी खटाएको छ । ताभाघाट, घट्टेबगर, लामारी, बुन्दी, झ्यालेक, गब्र्याङ्ग, गुञ्जी, नाभी, कुटी र कालापानीमा भारतीय सीमा सुरक्षा बलका पोष्टहरू छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार