प्रदेश २ को बजेट झिनो बहुमतले पारित
बजेटको पक्षमा जम्मा ४८ सांसद

प्रदेश २ को प्रदेशसभाले आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको रु ३३ अर्व ५६ करोड ९ लाख ८९ हजारको बजेट पारित गरेको छ । विगतमा सर्वसम्मतिले पारित हुँदै आएको प्रदेश २ को बजेट यस पटक भने सर्वसम्मत हुन सकेन ।
प्रदेश सभाका कुल १ सय ७ सदस्यमध्ये बैठकमा ८० जना मात्र उपस्थित थिए । उपस्थितमध्ये ४८ सांसदले मात्रै बजेटको पक्षमा मतदान गरेका छन् । ३२ सांसदले बजेटको विपक्षमा मतदान गरे । बजेटमा अनुत्पादक खर्च बढी राखिएको भन्दै प्रतिपक्षी दलले बजेटलाई समर्थन गर्न नसकिने बताएका हुन् ।
बजेटमाथिको छलफलमा सहभागी हुँदै प्रतिपक्षीले कोरोना महामारीको समयमा पनि सरकारले अनुत्पादक शीर्षकमा बढी बजेट राखेको र मन्त्रीहरूले आफ्नो क्षेत्रमा बढी बजेट लगेको भन्दै विपक्षीले विरोध जनाएका थिए । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले गत असार १ गते प्रदेशसभा बैठकमा एक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस