• २०७७ श्रावण २६ सोमबार

जुम्लामा क्वारेन्टिनबाट घर फर्केका महिलालाई समाज र परिवारको सास्ती

पहुँचवालालाई हाइसञ्चो

भारत लगायतका विभिन्न ठाउँबाट फर्केर १४ दिन क्वारेन्टिनमा बसेर पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि घर फर्केका जुम्लाका महिलामाथि समाज र परिवारले थप सास्ती दिएको छ ।

जुम्लाको तिला गाउँपालिका वडा नम्बर ४ की नन्दा सुनार भारतबाट फर्केपछि सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसिन् । १४ दिन त्यहाँ बसेर पीसीआर परीक्षण गराइन् । नतिजा नेगेटिभ आएपछि २१ असार २०७७ मा घर फर्कन पाइन् ।

तर, घर फर्केकै दिनदेखि उनीमाथि सास्ती शुरू भयो । घर पुगे पनि उनलाई गाउँघर फर्के झैं भएकै छैन । गाउँमा विकास निर्माणका काम भइरहेका छन्, उनी त्यहाँ जान पाउँदिनन् । टोल–छिमेकमा सामूहिक धारा भएकाले उनलाई धारामा जान वर्जित गरिएको छ । छरछिमेकीसँग भेटेर भलाकुसारी गर्ने अनुमति छैन । नन्दा भन्छिन्, “घर पनि के भन्नु, जेल बसे जस्तो छ ।”

जुम्लामा क्वारेन्टिनमा नबसेका महिलाहरू नियमित काममा छन् । तस्वीहरुः कृष्णमाया उपाध्याय

नन्दाको जस्तै अवस्थामा छन् जुम्लाका अरू महिला पनि । तिला गाउँपालिकाकी सामाजिक परिचालक विमला सुनार भन्छिन्, “गाउँपालिकाको  क्वारेन्टिनबाट घर फर्केका सबैजसो महिलाले नन्दाकै जस्तो सास्ती भोगिरहेका छन् ।”

जुम्लाकै तातोपानी गाउँपालिका वडा नम्बर १, बाइराकाकी पवित्रा सार्की पनि भारतबाट फर्केर आएपछि क्वारेन्टिनमा बसिन् र पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि घर फर्किन् । तर, घर फर्केर उनी आफ्नै खेतबारीमा काम गर्न जान पनि पाएकी छैनन् । छरछिमेकीले ‘भारतबाट आएका मानिसबाट कोरोना सर्छ’ भनेर उनलाई घरबाट यताउता गर्न दिएका छैनन् ।

“क्वारेन्टिनमा पनि अनेक कष्ट सहेर बस्यौं, घर आउँदा पनि उस्तै भेदभाव सहनुपरेको छ” पवित्राले भनिन्, “पुरुषको तुलनामा वनजंगल र मेलापातको काममा महिलाहरू नै बढी जानुपर्ने भएकाले अहिले हामीलाई ठूलो सास्ती छ ।”

क्वारेन्टिनमा बसेर पीसीआर परीक्षण नेगेटिभ आएपछि जो कोही व्यक्ति सामान्य व्यक्ति सरह स्वस्थ हुन्छ र ऊ नियमित काममा फर्कन सक्छ भन्ने कुरालाई जुम्लाका गाउँघरमा स्वीकार नगर्दा धेरैलाई समस्या भएको छ । त्यसमा पनि संस्कार र परम्पराका आडमा महिलामाथि विभेद हुने समाजमा कोरोनाको आडमा पनि महिलामाथि विभेद भइरहेको छ । जस्तोः जुम्लाको सिंजा गाउँपालिकाकी पुष्पा रावल सुर्खेतबाट घर फर्केपछि घरभित्र कैदी झैं बसेकी छिन् । १४ दिन क्वारेन्टिनमा बसेर पीसीआर परीक्षण नेगेटिभ आएपछि घर फर्केकी उनी समाजको डरले घरबाट बाहिर निस्कन नसकेकी हुन् ।

“बाहिर निस्के अनेक आरोप सहनुपर्छ” पुष्पाले भनिन्, “मसँगै आएका अरू दिदीबहिनी पनि म जस्तै कुँजिएका छन् ।” पुष्पाको प्रश्न थियो, “पुरुषलाई केही रोकतोक छैन, हामी महिलालाई किन यस्तो विभेद गरिएको होला ?”

महिलालाई कसरी विभेद गरिन्छ भन्ने बुझ्न चन्दननाथ नगरपालिका वडा नम्बर ३ को अर्को उदाहरण छ । स्थानीय एक जना पुरुषमा कोरोना पोजेटिभ देखियो । उनलाई उपचारका लागि पठाइयो । उनकी श्रीमती सहित परिवारका अरू सदस्यलाई पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । तर अहिले पनि छिमेकी र गाउँ–समाजले उनकी श्रीमतीलाई घर बाहिर निस्किन, खेतबारी र मेलापात जान दिएको छैन ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार, २८ असार २०७७ दिउँसोसम्म बाहिरबाट फर्केर क्वारेन्टिनमा बसेका २ हजार ६९३ जना परीक्षण पछि नेगेटिभ रिपोर्ट आएर घर फर्किसकेका छन् । जुम्लाको एक नगरपालिका र पाँच गाउँपालिकाका स्वास्थ्य संयोजकहरूका भनाइमा तीमध्ये महिलाको संख्या ५६० छ ।

जुम्लामा २९ असार २०७७ सम्म पनि २२ पुरुष र ४ महिला क्वारेन्टिनमा छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार, उनीहरूको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन भइसकेको छ । तर नतिजा आउन बाँकी छ । जुम्लामा हालसम्म ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जुम्लाका क्वारेन्टिन खाली हुँदै गएका छन् । तर क्वारेन्टिनबाट घर फर्केर समाजमा सास्ती व्यहोर्ने महिला संख्या बढ्दो छ । गुठिचौर गाउँपालिका–३, झारज्वालामा पाल टाँगेर बनाइएको क्वारेन्टिनमा १४ दिन बसेर घर फर्केकी समीक्षा बुढा अर्को उदाहरण हुन् । उनी गाउँघरमा अहिले आफूमाथि भइरहेको व्यवहारले आजित छिन् । “क्वारेन्टाइनको सास्ती भोगेर घर आइयो । घर आएपछि फेरि समाजले दिएको विभेद र सास्ती भोग्नु पर्‍यो ।” २० असार २०७७ मा उनले भनिन्, “यो वेला प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बाटो खन्ने लगायतका कामहरू भइरहेका छन् । मलाई तिमी नआउ कोरोना सर्न सक्छ भन्न थालियो ।” काम गरेर केही कमाउने मौका खोसिएकोमा बुढा दुःखी छिन् ।

“क्वारेन्टिनमा स्वास्थ्यकर्मीले जे जे भने हामीले मान्यौं, अहिले घर आउँदा पनि यस्तो व्यवहार हुँदा मन कटक्क हुन्छ” समीक्षाले भनिन्, “के गर्नु जस्तो भए पनि भोग्नैपर्‍यो ।”

अशिक्षा र महिला माथि हुने विभेदले समीक्षा लगायतले सास्ती भोग्नु परेको छ । तिनले आफूमाथि जस्तोसुकै अन्याय भए पनि चूपचाप सहन बाध्य हुुनु परेको छ । जुम्लाका महिलालाई आफूमाथि हुने सास्तीको प्रतिवाद गर्नुपर्छ भन्ने जानकारी समेत पनि छैन । जस्तोः तातोपानी गाउँपालिका १, राँकागाउँमा रहेको गणेश आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेर घर फर्केकी मन्नु कठायतलाई धारामा पानी लिन जान दिइएको छैन । गाउँ समाजले के भन्ला भनेर उनलाई घर परिवारले नै बाहिर निस्कन नदिएका हुन् । तर, मलाई किन बाहिर जान नदिएको भनेर सोध्ने आँट मन्नुसँग छैन । मन्नु भन्छिन्, “म एक्लैले कसरी कुरा गर्नु ?”

१२ प्रतिशत महिला घरमुली

कर्णाली प्रदेश सरकारले प्रकाशित गरेको ‘तथ्याङ्कमा कर्णाली’ पुस्तिका अनुसार जुम्लामा, औसतमा १२ प्रतिशत भन्दा बढी घरमुली महिला छन् । यसले देखाउँछ कि महिला माथि भएको विभेद र सास्तीको असर एक जना महिलामाथि मात्रै होइन, सिङ्गो परिवार माथि पनि परेको छ । कृषि विकास कार्यालय जुम्लाका अधिकृत खेमराज शाहीका भनाइमा, जुम्लामा ८५ प्रतिशत महिला कृषि पेशामा छन् । यति ठूलो संख्यामा रहेका महिलामध्ये क्वारेन्टिनबाट फर्केका महिला घर बाहिर निस्कन नपाउनु भनेको कृषि कर्ममा ठूलो अवरोध पुर्‍यउनु हो । खेतीको समय शुरू भएका कारण महिलालाई घर बाहिर निस्कन नदिएका कारण कृषि कर्ममा समेत नकारात्मक असर परेको छ ।

क्वारेन्टिनमा बसेर घर फर्केकाहरू माथि कुनै भेदभाव वा दुव्र्यवहार हुनु गैरकानूनी काम भएको बताउँछन् नेपाल बार एशोसिएसनका केन्द्रीय सदस्य अधिवक्ता पदमबहादुर शाही । शाही भन्छन्, “सुरक्षा मापदण्ड पालना गरेका महिलालाई कुनै पनि किसिमले विभेद गर्नु संविधान विरुद्धको काम हो । संविधानको धारा ३८ ले महिला विरुद्ध धार्मिक, सामाजिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा विभेद गर्न नपाइने व्यवस्था गरेको छ ।” अधिवक्ता शाहीका भनाइमा, यसरी अन्यायमा परेका महिलाले उजुरी गरे क्षतिपूर्ति पाउने हक संविधानले सुरक्षित गरेको छ ।

चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल पनि क्वारेन्टिनमा बसेर घर फर्किएपछि मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने र सामाजिक दूरी कायम गर्ने गरेर नियमित काममा फर्केका महिला माथि विभेद भए महिलाले प्रतिवाद गर्नुपर्ने बताउँछिन् । त्यसपछि पनि विभेद नरोकिए सम्बन्धित निकायमा उजुरी गर्नुपर्ने उनको भनाइ छ । प्रमुख सेजुवाल भन्छिन्, “हामीकहाँ चाहिं अहिलेसम्म यस्तो गुनासो आएको छैन ।”

पहुँचवालालाई हाइसञ्चो

क्वारेन्टिनमा निर्धारित अवधिसम्म बसेर, पीसीआर परीक्षणको नतिजा नेगेटिभ आइसकेपछि घर फर्केका महिलामाथि यस्तो व्यवहार किन भइरहेको छ ? यसरी हिंडडुल गर्दा, गाउँघरमा कोरोना संक्रमण फैलिन्छ भन्ने मनोविज्ञानले काम गरेको छ ।

भारतबाट फर्केर १४ दिन क्वारेन्टिनमा बसेर घर फर्केकी शर्मिला नेपाली र सरु नेपाली आफ्नो घर–आँगनमा ।

तर, यो व्यवहार पनि समाजमा कमजोर र बोल्न नसक्ने माथि मात्रै भइरहेको कतिपय भुक्तभोगीको भनाइ छ । गाउँका टाठाबाठा र पहुँचवालाले भने बाहिरबाट फर्केर पनि क्वारेन्टिनमा बस्नु परेकै छैन । यस्ता थुप्रैलाई ‘होम क्वारेन्टिनमा बस्नु’ भनेर घर पठाइएको छ । घरको बनावटका कारण उनीहरू छुट्टै बस्न समस्या भएपछि परिवारसँगै बसिरहेका छन् । दूरी कायम गर्ने कुरा औपचारिकतामा सीमित छ ।

यसैको एउटा उदाहरण हुन् १२ असार २०७७ मा विदेशबाट फर्केका तातोपानी गाउँपालिका–६ का २२ वर्षीय रवीन्द्र कठायत । हाल उनी चन्दननाथ नगरपालिका–६ मा आफ्नो घरमा बसिरहेका छन् । उनले हाकाहाकी भने, “घरमा छुट्टै बस्ने व्यवस्था छैन, परिवारसँगै बसेको छु ।” 

रवीन्द्र ८ असार २०७७ मा पाकिस्तानबाट काठमाडौंहुँदै घर आएका थिए । उनलाई गाउँ पुगेपछि क्वारेन्टिनमा बस्नुपर्छ होला भन्ने लागेको थियो । तर, स्थानीय जनप्रतिनिधिहरूले नै आफ्नै घरमा ‘होम क्वारेन्टाइन’ मा बस्नुहोला भनेपछि उनलाई हाइसञ्चो भयो ।

रवीन्द्रका भनाइमा उनीसँगै जुम्ला, डोल्पा र कालिकोटका अरू मानिसहरू पनि फर्केका थिए, उनीहरूको पनि असारको अन्तिम सातासम्म पीसीआर परीक्षण गरिएको छैन । रवीन्द्र भन्छन्, “सजिलै छ घरमा बसिरहेको छु । घरका अरूलाई जोखिम होला भन्ने डर छ, तर पनि डर मारेर बस्नुपरेको छ ।”

रवीन्द्रसँग एउटै गाडी चढेर जुम्ला आइपुगेका चन्दननाथ नगरपालिका–१, आचार्यबाडाका प्रेम आचार्य पनि क्वारेन्टिनमा नबसी आफ्नै घरमा बसिरहेका छन् । “हामीले क्वारेन्टिनमा जान्छौं भन्यौं, जनप्रतिनिधिहरूले आफ्नै घरमा बसे हुन्छ भन्नुभो” आचार्यले भने, “पीसीआर परीक्षण भएको छैन, कतै हाम्रो कारणले परिवार जोखिममा पर्ने हो कि भन्ने डर लागिरहेको छ ।”

लकडाउन खुकुलो भएपछि बाहिरबाट जुम्ला भित्रिएका धेरैजसो व्यक्ति क्वारेन्टिनमा नबसी घरमै बस्न थालेकाले कोरोना संक्रमण समुदायस्तरमा फैलिन सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. मंगल रावल बताउँछन् । “स्थानीय सरकारले यसलाई गम्भीर रूपमा लिनुपर्ने हो” उनले भने, “जिल्लामा रहेका क्वारेन्टिनहरू खाली छन्, बाहिरबाट आएकालाई होम क्वारेन्टिनमा पठाउनु राम्रो भएन ।”

बाहिरबाट जुम्ला भित्रिएकाहरूलाई स्थानीय सरकारहरूले किन होम क्वारेन्टिनमा पठाइरहेको छ ? चन्दननाथ नगरपालिका–६ का वडाध्यक्ष अजबहादुर रावल भन्छन्, “पैसा जति पहिल्यै क्वारेन्टिन व्यवस्थापनमा खर्च भइसक्यो । अब थप आर्थिक भार थेग्न नसक्ने अवस्था आएपछि सबैलाई आ–आफ्नै घरमा बस्न पठाइएको हो ।” चन्दननाथ नगरपालिका–१ का वडाध्यक्ष जयबहादुर रावलले पनि सबैलाई क्वारेन्टिनमा राख्न सम्भव नभएपछि आ–आफ्नै घर पठाउन थालेको बताए ।

खोज पत्रकारिता केन्द्र

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार