• २०७७ श्रावण २० मंगलबार

ओलीका  बोलि, विवादको श्रृंखला : अरिंगालदेखि अयोध्यासम्म

आलोचित अभिव्यक्तिको नालीबेली

“माओवादी चामल अरे, एमाले भुस अरे, अनि  किन भुसतिर बस्नु त ? लागे भैगो नि खुरुखुरु चामलतिर” 
उल्लेखित अभिब्यक्ति हो, नेपालका वर्तमान प्रधानमन्त्री एवं देशकै सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष केपी शर्मा ओलीको । तर यो अभिब्यक्ति ओलीको हालसालको नभएर झण्डै दश वर्ष अघिको हो । २ हजार ६७ मा तत्कालीन माओवादीको समर्थनमा एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बनेसंगै पार्टीभित्र कम्युनिष्ट एकताको विषय निकै जोडले उठ्दै थियो । तर भर्खरै शान्तिप्रक्रियामार्फत खुला राजनीतिमा आएर संविधानसभाको पहिलो पार्टी बनेको माओवादीलाई पटक्कै नरुचाउने नेताका रुपमा चिनिन्थिे बर्तमान प्रधानमन्त्री ओली । सत्तासाझेदारीसंगै माओवादीसंग एकता नै गर्नेपक्षमा नेता बामदेव गौतमले हस्ताक्षर अभियान नै चलाएपछि ओलीले बामदेवमाथि ब्यंग्य गर्दै दिएको अभिब्यक्ति थियो त्यो । तर यो लेखमा माओवादी एमालेको इतिहास खोतल्न खोजिएको भने होईन । गत सोमवार भानु जयन्तीका अवसरमा ओलीले भगवान रामको जन्मस्थल अयोध्या भारतमा नभएर नेपालमै पर्छ भनी दिएको अभिब्यक्ति पछिल्लो ४८ सबैभन्दा धेरै विवाद र चर्चाको विषय बनेको छ । छिमेकी भारतदेखि नेपालभित्रै राजनीतिक दल होस् वा सामाजिक सञ्जाल वा संचारका जुनसुकै माध्यम ओलीका बोलीको आलोचनाले भरीएको छ । 

माथिका यी दुई घटना त प्रतिनिधिमूलक घटना मात्र हुन् । वास्तवमा नेकपाका पहिलो बरीयताका अध्यक्ष ओली सार्वजनिक राजनीतिमा आएदेखि नै कटु वचन र विपक्षीप्रति तीखो प्रहारका कारण बेलाबेला आलोचित बन्दै आएका छन् । २०६४ मा संविधानसभाको पहिलो निर्वाचनबाट ठूलो दल बनेपछि माओवादीले दम्भ देखाएको भन्दै ओलीले उसप्रति प्रयोग गरेको “माका फुई” शब्द अहिले एउटै नेकपामा रहेका तत्कालीन माओवादीका धेरै नेताले अझै बिर्सन सकेका छैनन् । आफूलाई लागेको कुरा त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने विचार नै नगरी फ्याट्ट बोलिहाल्ने ओलीको बानीका कारण बेलाबेला उनकै सहकर्मी र पार्टीभित्रका विश्वासपात्रहरुसमेत  अप्ठेरोमा पर्ने गरेका छन् । पार्टीका आन्तरीक बैठकमै पनि ओलीसंग नेताहरुले बेलाबेला जिम्मेवार पदमा बसेर त्यस्ता अभिब्यक्ति नदिन आग्रह गर्दै आएका छन् । तर केही समयमै त्यो कुरा बिर्सिहाल्छन् वा उनलाई यस्तै मजाक मनपर्छ,ओलीको बोलि फेरि फुत्किहाल्छ । यो वर्ष त ओलीका विवादास्पद बोलि एउटाको चर्चा सेलाउन नपाउँदै अर्को आउन थालेका छन् । आफ्नो सत्ता जोगाउन र आफूमाथिका आरोपबाट आम जनमानसको ध्यान विकर्षित गर्न ओलीले यस्तो फण्डा चलाउने गरेको नेकपाकै कतिपय नेतारुको आरोप छ । यही असार महिनामा मात्रै ओलीले लगालग तीनवटा विवादास्पद अभिब्यक्ति दिइसकेका छन्, जसको बचाउ गर्न उनको सरकारका सदस्यहरु र सल्लाहकारहरुलाई हम्मेहम्मे पर्ने गरेको छ ।     

अयोध्या नेपालमा
अधिकांश हीन्दुहरु रहेको नेपालीले परम्परादेखि मान्दै आएको र केही समयअघि जनकपुरमा सीता विवाह महोत्सवमा आफैंले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगै सीता र रामको जन्मस्थल जोड्ने बससेवा सूचारु गरेका ओलीको यो भनाई आफैंमा विरोधाभाषपूर्ण छ । २०७ औं भानुजयन्तीका अवसरमा मदन भण्डारी साहित्य कला प्रतिष्ठानले गरेको कार्यक्रममा ओलीले यस्तो अभिब्यक्ति दिएका थिए । 
भारतले सरकार ढाल्न खोज्यो
यसअघि गएको असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीमा ओलीले भारतले आफ्नो सरकार ढाल्न खोजेको र त्यसमा आफ्नै पार्टीका केही नेताहरु समेत संलग्न रहेको सूचना पाएको अभिब्यक्ति दिएपछि सरकार र नेकपामै ठूलै तरंग ल्याईदियो । जारी स्थायी समिति बैठककै बीचमा ओलीको चर्को आलोचना भयो र नेताहरुले ओलीको राजीनामासम्म मागे । भारतद्वारा अतिक्रमित भूमिसहितको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई हटाउन चाहेको ओलीको भनाई थियो ।    
कोरोनाको औषधीःबेसार–पानी, 
त्यसको दश दिन अघि कोरोना नियन्त्रणका लागि सरकारले गरेका कामबारे संघीय संसदको माथिल्लो सदनमा सम्बोधन गर्ने क्रममा बेसार र तातोपानी खाएर कोरोनालाई जित्न सकिने अभिब्यक्ति दिए । नेपाली खानपानको शैली र प्रयोग गर्ने मसलामा औषधीय गुण भए पनि बेसारले नै कोरोना ठीक गर्छ भन्नु गलत भएको भन्दै उनको त्यतिखेर पनि चर्को आलोचना भयो । प्रधानमन्त्री जस्तो पदमा बसेर यस्तो अभिब्यक्ति दिनेले बेसारले ठीक हुनेभए महिनौंसम्म लकडाउन गर्नुको औचित्य पुष्टि गर्न ओलीलाई ¥याख¥याखती पारियो ।  
मुटु नभएका सम्पादक
ओलीका विवादास्पद अभिब्यक्तिमध्ये अर्को चर्चित प्रसंग हो, सरकारका राम्रा कामको प्रशंसा नभएको सन्दर्भमा ओलीले गरेको गुनासो । गतवर्षको पुस २९ मा नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिसंगको भेटमा ओलीले सरकारको राम्रा कामको प्रशंसा गर्ने मनमुटु भएका सम्पादक नै नेपालमा नभएको टिप्पणी गरे । सरकारका सानातिना कमजोरीलाई पहाड बनाएर लेख्ने तर सरकारले राम्रा काम गर्दा नलेखेको भन्दै उनले सम्पादकका मुटुको खोजी गरेका हुन् । अधिकांश मिडियामा ओलीको भनाइको आलोचा मात्रै भएन केहीले त सम्पादकीय नै लेखेर आपत्तिसमेत जनाए । 
र,
अरिंगाल बन्न निर्देशन
अन्त्यमा प्रधानमन्त्री ओलीको सबैभन्दा लामो समयसम्म विवादमा रहेको  र बारम्बार विरोधीले उनीमाथि प्रहार गर्न ब्यंग्य गर्न प्रयोग गर्ने शब्द हो –अरिंगाल । २०७५ भदौ ३० गते राजधानीमा पोष्टबहादुर स्मृति दिवसका दिन ओलीले सरकारलाई विरोधीले चौतर्फी घेराबन्दी गर्न लागेको भन्दै  कार्यकर्तालाई अरिंगाल बनेर झम्टन निर्देशन दिएका थिए । त्यसयता विपक्षीहरुले नेकपा कार्यकर्ताहरुलाई ब्यंग्य गर्न  अरिंगाल शब्द खुबै प्रचलनमा ल्याउने गरेका छन् । नानीदेखि लागेको बानी भनेझैं ओलीको यो बानीमा पनि परिवर्तन आउने देखिन्न । ओलीलाई आफ्ना अभिब्यक्तिको आलोचना हुन्छ  भन्ने राम्रै जानकारी पनि हुन्छ । तर पनि उनी विवादास्पद अभिब्यक्ति दिन भने छोड्दैनन् । त्यही थाहा भएरै होला ओलीले पछिल्लो पटक राम जन्मभूमि अयोध्या नेपालमा पर्ने अभिब्यक्ति दिंदै गर्दा बीट मार्दै भने

–“ र यो भनेपछि केही हमला ममाथि विद्वानहरुको अवश्यै हुन्छ ।” 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार