• २०७७ श्रावण २० मंगलबार

नेकपा स्थायी कमिटी कि स्थगन कमिटी ?

एक महिनामा आठ पटक स्थगित , आज के होला ?

असार १० मा सुरु स्थायी कमिटी बैठकका सहभागी

गएको असार १० मा शुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक एक महिना नपुग्दै आठ पटक स्थगनमा परिसक्यो । पार्टी संगठनभित्रै छलफल गरेर विवाद समाधान गर्नेभन्दा पनि शीर्ष नेताबीच सहमति जुटाएपछि मात्र बैठकलाई फड्के किनाराका साक्षी बनाउने परिपाटीले पछिल्लो समय बैठकको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । बैठकमा आफूबिरुद्ध कुरा उठ्ने देख्नेवित्तिकै बस्नै नचाहने प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली र आफूले सहमति जनाएका विषय पनि बहुमतले विरोध गर्ने अवस्था आए कुरा फेर्ने अर्का अध्यक्ष प्रचण्डका कारण बैठकले निरन्तरता पाउन सकेको छैन । यसबीचमा कहिले कुरा मिलिसक्यो जस्तो अभिब्यक्ति दिने अनि फेरि एकले अर्कोलाई दोषारोपण गर्ने मूल नेतृत्व नै बैठक सुचारु हुन नसक्नुका दोषी हुन् ।  पछिल्लो पटक साउन २ गते चार गते हुँदै मंगलबारका लागि बैठकको मिति तय गरीएको छ । तर बैठक कति वजे भन्ने सम्ममा पनि दुई फरक फरक सूचनाले अब नेकपाका नेता कार्यकर्तामा हुने बैठक हैन क्यारे भन्ने पर्न थालिसकेको देखिन्छ ।

चार गतेको बैठक स्थगित गर्ने क्रममा पार्टी कार्यालयका सचिवहरुद्वारा जारी सूचनामा बैठक साउन ६ गते ११ वजेसम्मका लागि स्थगित भनिएको थियो भने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ३ वजेसम्म लेखिदिए सामाजिक संजालमा । भलै चौतर्फी आलोचना र ब्यंग्य भएपछि उनले आफ्नो स्ट्याटस सच्याएर ११ वजे नै लेखेका थिए । तर यति गते वा वजे बस्नु  र नबस्नुले त्यति महत्व राख्दैन । बैठक नै बसिहाले पनि बैठकले तय गरेका एजेण्डाभित्र छलफल हुन्छ कि हुँदैन र त्यसमा पार्टीले एउटा निष्कर्षमा पुग्छ कि पुग्दैन , त्यो महत्वपूर्ण हो । तर देश र जनता नै कोरोनाको कहर र बाढीको बर्वादीमा डुबीरहेका बेला पनि पार्टीभित्रको आन्तरिक कलहको बन्धक बनाएर बारम्बार बैठक स्थगित गर्दा नेकपाको स्थायी कमिटी सामाजिक सञ्जालहरुमा ब्यंग्य गरीएजस्तै स्थगन कमिटीमा रुपान्तरण त भएको हैन ?सोच्ने बेला आएको छ ।

अध्यक्ष केपी ओली र प्रचण्ड दुबै गम्भीर बन्ने हो भने स्थायी कमिटीको जारी बैठक स्थगन गर्ने भन्दा पनि बैठकलाई एउटा निचोडमा पुर्याउन  आवश्यक छ । बरु बैठकले समाधान गर्न नसकेका विषयहरुलाई केन्द्रिय कमिटी वा महाधिवेशनसम्म लगरे नै अहिलेको आन्तरिक किचलो साम्य पार्नु दुबै अध्यक्षको हितमा देखिन्छ । तर मेरै गोरुको बाह्रै टक्का भने जसरी दुबै पक्ष आ आफ्नो अडानबाट टसको मस नगर्ने हो भने बैठक राख्नु र नराख्नुको केही अन्तर रहँदैन । यदि साँच्चै नेकपाको नेतृत्व सरकार संचालन र पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या समाधान गर्न गम्भीर छ भने चाहिं असम्भव केही छैन । दुबै पक्ष लचक भएर जनताले अहिले भोगिरहेका समस्यालाई प्राथमिकतामा राख्ने हो भने सत्ता र पदको लीप्सालाई पर पन्छाउन सक्नैपर्छ । अन्यथा यस्ता धेरै “स्थगन कमिटी”का रमिते श्रृंखलाहरु नेकपा कार्यकर्ताका लागि सार्वजनिक मञ्चनमा आई नै रहन्छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार