• २०७६ जेठ ८ बुधबार

के हो थाइराइड रोग ? यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं ।

पछिल्लो समय थाइराइड रोगका बिरामी संसारभरि नै बढिरहेका छन् । खासमा थाइराइड हर्मोन शरीरलाई एकदम आवश्यक पर्छ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अंगलाई यो हर्मोन चाहिन्छ । यसले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ ।

थाइराइड ग्रन्थि हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन गर्छ । थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ ।

थाइराइड रोग चार किसिमका हुन्छन्, थाइराइड ग्रन्थिमै मासु वा डल्लो पलाउने, थाइराइड नोडुल वा क्यान्सर, हाइपर थाइराडिज्म र हाइपो थाइराडिज्म ।

हाइपोथाइरोडिज्म कसरी हुन्छ ?
थाइराइड ग्रन्थीमा रोग लागेमा ग्यास्ट्राइटिसजस्तै थाइरोडाइटिस  हुन्छ । जस्तो कि ग्रन्थीमा भाइरस वा किटाणुको संक्रमण भयो भने रोग उत्पन्न हुन्छ र हर्मोन उत्पादन गर्न सक्दैन । यस्तो अवस्थालाई थाइरोडाइटिस भनिन्छ ।

अर्को शब्दमा हाइपोथाइरोडिज्म पनि भनिन्छ । कतिपय अवस्थामा ग्रन्थीले आफै हर्मोन उत्पादन गर्न सक्दैन । यसलाई अटोइम्युनको कारणले हुने हाइपोथाइरोडिज्म हो । हामी कहाँ यही अटोयुमिनको कारणले हुने हाइपोथाइरोडिज्म धेरैलाई छ । धेरैले थाइराइड भयो भनेको पनि यही हो ।  

अर्को कुरा, मोटोपना भयो भने शरीरको मागअनुसार हर्मोन पूरा हुन सक्दैन । त्यस्तो अवस्थामा पनि हाइपोथाइरडिज्म हुन्छ । त्यसैगरी गर्भावस्थामा पनि यो थाइराइड हुन्छ । गर्भको बच्चाले पनि यो हर्मोन खपत गर्ने हुनाले बढी थाइरोक्सिन हर्मोनको आवश्यकता पर्छ । यस कारण गर्भवती महिलामा थाइराइडको समस्या देखिन्छ ।  यो थाइराइड अस्थायी प्रकृतिका हुन् । जुन बच्चा जन्मेपछि र मोटोपना घटेपछि आफै हराउँछ ।

अटोयुमिन  तथा  थाइराइड ग्रन्थीको संक्रमणले भएका  थाइराइड भने स्थायी रूपमा रहन्छन् र यी थाइराइडमा जीवनभर हर्मोनको औषधी लिइरहनु पर्छ । यो थाइराइड भएको मान्छेका हरेक गतिविधि ढिला हुन थाल्छन् ।कुनै पनि काममा केन्द्रित हुन नसक्ने, कब्जियत हुने, कमजोरी अनुभव हुने, महिनावारीमा रक्तश्राव  बढी हुने, छाला सुक्खा हुने, चिलाउने, कपाल झर्ने, शरीर फुलेर आउनेजस्ता लक्षण देखिन्छन् ।

हाइपर थाइराइरोडिज्म कसरी हुन्छ ?

हाइपर थाइराइड हाइपो जस्तो धेरैलाई लाग्ने रोगमा पर्दैन । यो रोग पनि बढीजसो प्रजनन उमेरका महिलामा देखिन्छ ।

त्यो अवस्थामा शरीरले थाइराइड कमीको अनुभव गर्छ । यद्यपि उत्पादन कम भएको हुँदैन । यस्तो अवस्थामा थाइराइड हर्मोन बढी निकाल्न खोज्छ । त्यसले गर्दा उत्पादन बढ्छ । यस्तो स्थायी र अस्थायी दुवै हुन्छन् । हर्मोन बढी उत्पादन गर्ने क्रममा थाइराइड ग्रन्थी सुन्निएर ठूलो हुन्छ ।  यो स्थायी प्रकारको थाइराइड हो । यसलाई ग्रेस डिजेज पनि भनिन्छ । नेपालमा हुने ८० प्रतिशत हाइपरथाइरोडिज्म गे्रस डिजेजको कारणले हुन्छ ।

हाइपरथाइरोडिज्म भएमा पखाला लाग्ने, दुब्लाउने, जति खाए पनि भोक लागेको लाग्यै गर्ने, शरीरका नसामा असर गरेर हात काम्ने, आँखा ठूलो भएर बाहिर आउने, मुटुको धड्कन बढेर मुटु फेल हुने र कहिलेकाहीं महिनावारी हुँदा रक्तश्राव नै बन्द हुने, घाँटीको ग्रन्थी सुन्निनेजस्ता समस्या आउँछन् ।

हाइपर र हाइपो दुवै थाइराइडमा समयमै उपचार भएन भने कस्तो असर पर्छ ?
यी दुईमध्ये छिटो असर पु-याउने थाइराइड भनेको  हाइपर थाइराइड हो ।  असर तुरुन्त देखिन्छ । थाइराइडको बढी खतरनाक असर पु¥याउँछ । कुनै पनि अवस्थामा मुटु फेल बनाइदिन्छ । खतरनाक जटिलता भनेको आँखा रातो हुने आँखा बाहिरै निस्कने समस्या आउँछ । अर्को मुटुमा समस्या यति धड्कन बढाइदिन्छ कि मुटु नै फेल बनाइदिन्छ ।

थाइराइड आफैमा पनि इमुनिटी डाउन हुन्छ । उपचार भएन भने निमोनिया हुने, हड्डी कमजोर भएर भाँचिनेजस्ता असर पुग्छ । हृदयघातमा पनि बहु समस्या आउँछन् । यसले हड्डी नै कमजोर बनाउँछ । थाइराइड आफैले इम्युन पावर कमजोर बनाएर निमोनिया हुनेजस्ता समस्या ।

हाइपोमा भने खतरनाक प्रकारका जटिलता आउँदैन । तौल बढ्ने, हात झमझम हुने, पे्रसर बढ्ने, कोलस्ट्रोलको लेवल बढ्ने, न्युरोलोजिकल असर पुग्ने, मुटुको बाहिर पानी जम्ने, श्वास–प्रश्वासमा पनि समस्या आउने हुन्छ । बेहोसी अवस्थामा पनि जान सक्छ । यी समस्याहरू विस्तारै आउँछन् ।

थाइराइड महिलालाई बढी किन हुन्छ ?
महिलामा थाइराइड बढी हुन्छ । महिलामा बढी देखिने हाइपोथाइराइड हो । तुलना गर्दा थाइराइड भएका पाँच जनामध्ये मध्ये चार जना महिला हुन्छन् ।महिनावारी हर्मोनको गडबडी महिलामा मात्र हुन्छ । यो हर्मोनमा गडबडी आउनु भनेको थाइराइड भएको हुन सक्छ । थाइराइड पेरोअक्सिड एन्टिबडीको तह पनि महिलामा बढी हुन्छ भनिन्छ । अटोइम्युन रोग पनि महिलामा नै बढी देखिन्छ । यस्ता कारणले महिलामा थाइराइड बढी देखिन्छ । थाइराइडको महिलासँग सीधा सम्बन्ध छ।

एउटा ठूलो प्राकृतिक प्रक्रिया महिनावारी, महिलामा मात्र छ । त्यसमा केही समस्या आउन बित्तिकै थाइराइड हर्मोनको गडबडी छ भन्ने बुझ्नु पर्छ । महिनावारी गडबडी हुनेबित्तिकै थाइराइड हर्मोन परीक्षण गर्ने चलन पनि त्यसैले भएको हो।

मधुमेह भएका बिरामीलाई थाइराइड हुनुका कारण ?

मधुमेह भएकालाई थाइराइड हुनुमा त्यसको मधुमेहसँग कुनै सम्बन्ध छैन । एउटा मधुमेहका बिरामीमा हुने अटोयुमिनका कारणले पनि थाइराइड हुन्छ । कतिपयमा दोस्रो प्रकारको मधुमेह भएका बिरामीमा मोटोपना हुन्छ । उनीहरूमा युवा उमेरमै मधुमेह भएको हुन्छ । त्यही उमेरमा थाइराइड भएको हुन्छ । मधुमेहले थाइराइड लिएको हैन । पहिल्यै सुक्ष्म तहमा भएको थाइराइड पछि गएर देखिन्छ।

थाइराइड भएकाले कुन कुन खाना हुँदैन ?
केही खाना खाँदा टिएचस् बढ्ने भएकाले थाइराइड सुन्निएपछि थाइराइड हर्मोन तलमाथि जे पनि हुन सक्छ । यस कारण बन्दा, समुद्री खानाहरू खानु हुँदैन भनेर भनिएको हो । तर यी खाना पनि पकाएर खाएपछि ती खानामा हुने तत्वमा हास आउँछ । यसको अर्थ, आयोडिनको प्रभाव भएका खानेकुराहरू खानु हुँदैन भन्ने मान्यता पनि हो । मुख्य कुरा, कसरी थाइराइड नियन्त्रणमा राख्ने भन्ने कुरा नै प्रमुख हो।

थाइराइडबाट कसरी बच्ने ?
कुनै पनि प्रकारको थाइराइडको लक्षण देखिएमा समयमै परीक्षण गर्ने, मोटोपना कम गर्ने,  योग तथा व्यायाम गर्ने गर्दा अप्रत्यक्ष रूपमा लाभ पुर्याउँछन् । थाइराइड, हामीले चाहेर हुनबाटै रोक्न भने सकिँदैन । बरु समयमै पहिचान गरेर उचित उपचार गर्न सकेमा समस्या बढ्न पाउँदैन ।

मुटु र मानसिक रोगसम्बन्धी औषधी खाइरहेकाहरूमा मानसिक रोग हुन सक्छ । यस्ता बिरामीले बेला–बेला थाइराइड परीक्षण गर्नु पर्छ । गर्भवती महिलाले पनि गर्भावस्थामा भएको थाइराइड छ भने पनि चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा थाइराइडको औषधि खानुपर्छ ।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार